बलियो नेपाल अन्डर-१५ क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा

काठमाडौं । बलियो नेपाल अन्डर १५ क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ।

बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा जारी प्रतियोगितामा बलियो प्रदेश १, बलियो लुम्बिनी प्रदेश, बलियो मधेस प्रदेश र बलियो बागमती प्रदेशले अन्तिम ४ मा आफ्नो स्थान पक्का गरेका छन्।

समूह चरण अन्तर्गतको अन्तिम खेलमा बलियो लुम्बिनीलाई ५ विकेटले हराउँदै बलियो प्रदेश १ समूह ‘ए’ को विजेताको हैसियतमा सेमिफाइनल प्रवेश गरेको हो।

शुक्रवार मुलपानी क्रिकेट मैदानमा सम्पन्न दिनको पहिलो खेलमा बलियो प्रदेश १ ले बलियो लुम्बिनी प्रदेशविरुद्ध रोमाञ्चक जित दर्ता गर्‍यो।

ओसिलो मैदानका कारण १६ ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको बलियो लुम्बिनी प्रदेशले ७ विकेटको क्षतिमा १ सय ९ रन जोडेको थियो।

लुम्बिनीका सन्तोष साउदले सर्वाधिक ३८ तथा रौनक श्रीवास्तवले १४ रनको योगदान गरे। बलियो प्रदेश १ का रुशल रिमालले ४ ओभरमा ११ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए ।

१ सय १० रनको विजयी लक्ष्य पछ्याएको बलियो प्रदेश १ ले एक बल बाँकी रहँदा ५ विकेट गुमाउँदै लुम्बिनीले दिएको लक्ष्य पुरा गर्‍यो।

बलियो प्रदेश १ लाई अन्तिम दुई बलमा ३ रन आवश्यक रहँदा बाई स्वरूप ४ रन प्राप्त गरेपछि बलियो प्रदेश १ को जित सम्भव बनेको थियो।

बलियो प्रदेश १ को जितमा आलोक मण्डलले ३७ रन तथा रबिन मण्डलले २४ रनको योगदान गरे।

बलियो लुम्बिनी प्रदेशका आयुष ओलीले ३ विकेट हात पारे पनि टोलीलाई जित दिलाउन भने सकेनन्।

यस्तै,दिनको दोस्रो खेलमा बलियो मधेस प्रदेशले बलियो–११ लाई ४६ रनले पराजित गर्दै समूह ‘बी’ को विजेताको रूपमा अन्तिम ४ मा स्थान बनाएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बलियो मधेसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३१ रन जोडेको थियो।

मधेसका राहुल कुमार महतोले सर्वाधिक ६२ रनको योगदान गरे। यस्तै विशाल यादवले २० रन बनाएका थिए।

बलियो ११ को बलिङमा जेनिश पुन मगर र प्रतीक पण्डितले समान २/२ विकेट हात पारे।

मदेसले दिएको १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको बलियो–११ ले १८.५ ओभरमा सबै विकेट गुमाउन अघि ८५ रन मात्र जोड्न सक्यो।

बलियो–११ का ओपनर ईजाज उल हक ले अविजित ४० तथा कप्तान स्मिथ बुढाले १५ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलियो ११ लाई सस्तैमा समेट्न बलियो मधेसका साइमन रोए र रोहन शाहले समान २/२ विकेट हात पारे।

शनिवार हुने पहिलो सेमिफाइनलको खेलमा बलियो प्रदेश १ र बलियो बागमती प्रदेश तथा दोस्रो सेमिफाइनल खेलमा बलियो मधेस प्रदेश र बलियो गण्डकी प्रदेश भिड्ने छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *