जेठ १९ को त्यो कालो रातले राजा वीरेन्द्रको वंश नाश गरायो भने नेपालमा राजसंस्थाको इतिहासकै अन्त्य गरायो । त्यस रातको घटनाबारे आजसम्म पनि विभिन्न किसिमका अडकलबाजी हुँदै आएका छन् । त्यो घटना कसले गरायो ? कसरी भयो ? र, किन गराइयो ? यस्ता धेरै प्रश्नहरू अनुत्तरित छन् । राजदरबार हत्याकाण्डको सुरुदेखि पछिसम्मका विभिन्न सत्य-तथ्य कुराहरूको आधार र मेरो जानकारीमा आएका सम्पूर्ण सूचनाका आधारमा उक्त घटनामा तत्कालीन युवराजाधिराज दीपेन्द्रकै प्रत्यक्ष र प्रमुख हात देखिन्छ । मलाई थाहा छ, आम रूपमा यो कुरा कदापि स्वीकार्य हुन सक्दैन । संसारलाई नै स्तब्ध पार्ने यो हत्याकाण्ड दुनियाँको नजरमा लोकप्रियताको शिखरमा चढिरहेका तत्कालीन युवराजाधिराजबाट भएको हो भनेर सामान्यतः कसैले पनि पत्त्याउनै सक्दैन ।
यसै सन्दर्भमा, राजदरबार हत्याकाण्डका पछाडि भावनामा बग्ने आम जनमानसले ठानेभन्दा बेग्लै गम्भीर रहस्य लुकेको छ भनेर चर्चा गर्नेहरूको सङ्ख्या पनि कम छैन । राजदरबार अर्थात् राज्यको महत्त्वपूर्ण निकायमा तीन दशक निरन्तर काम गरेको आफ्नो लामो अनुभवका आधारमा मलाई समेत उक्त घटनामा अवश्य पनि ‘व्यक्तिगत र राजनीतिक षड्यन्त्र’ छ भन्ने लाग्दछ । किनभने त्यस समयमा नेपालको राजसंस्था केही देशी तथा विदेशी शक्तिकेन्द्रका लागि अवाञ्छनीय बनिरहेको थियो । यसै क्रममा नेपालको राजसंस्थालाई सदाका लागि अन्त्य गर्नेबारे षड्यन्त्र भइरहेको भन्ने सूचना र विश्लेषण पनि हामीले नपाएको होइन । यस्तो बेला राजपरिवारभित्र चाहिँ युवराजाधिराजको विवाहको प्रसङ्गलाई लिएर पारिवारिक किचलो र विवाद उत्कर्षमा पुगिरहेको थियो ।
युवराजाधिराज दीपेन्द्र र राजपरिवारमा पनि अरू सामान्य मान्छे या सामान्य परिवार सरहकै मानवीय कमी-कमजोरी अवश्य पनि थिए नै । राजदरबार हत्याकाण्डमा तिनै कमी-कमजोरीमाथि देशी तथा विदेशी शक्तिले खेलेको र तिनको षड्यन्त्र मिसिएको हुन सक्छ भन्ने मेरो निष्कर्ष छ । त्यसलाई बुझनका लागि राजपरिवारभित्र बढेको कलह, युवराजाधिराजको चरित्र र विवाहको प्रसङ्गबारे विस्तृत रूपमा चर्चा गर्नुपर्दा
म दीपेन्द्र सरकारलाई मौसुफ सानै छंदादेखि चिन्दथें । सरकारलाई नजिकबाट चिनेको २०३१ साल वैशाखदेखि हो, जब मैले राजप्रासाद सेवामा आवधिक शाही पार्श्ववर्तीका रूपमा काम सुरु गरेको थिएँ ।
१० वर्षसम्म दीपेन्द्र सरकारको मानसिकता र व्यक्तित्व विकास जसरी भइरहेको थियो, त्यसबारे आफू सवारी ड्युटीमा भएका बेला मैले वीरेन्द्र सरकारलाई जाहेर पनि गरेको थिएँ । ठ्याक्कै त्यही कुरा पछि दीपेन्द्र सरकारले मसँग गुनासोका रूपमा व्यक्त गरिबक्सेको थियो । त्यसै कारण पछि गएर आमाबुबासँग सरकारको सम्बन्ध टाढिदै गएको थियो । मैले सरकारहरूका बीचमा विचार र दृष्टिकोण फरक-फरक हुँदै गएको देखिरहेको थिएँ ।
युवराजाधिराज सरकारको जन्म २०२८ असार १३ गते भएको हो । त्यस हिसाबले त्यति बेला सरकार तीन वर्ष पनि पुगिबक्सेको थिएन । दीपेन्द्र सरकार जन्मँदै राजा हुन जन्मेको । तर राजदरबारमा युवराजाधिराज सरकारलाई राजाका रूपमा हुर्काउने कुनै परिपाटी या संस्कार मैले देखिनँ । मैले सुनेको थिएँ, युरोपका राजतन्त्र भएका देशमा राजा बनाउन बच्चैदेखि त्यही अनुसारको शिक्षा-दीक्षा र तालिम दिइन्छ । त्यसका लागि अनुभवी र दक्ष विशेषज्ञको टिम बनाएर उनीहरूको ‘गाइडेन्स’ मा भावी राजालाई हुर्काउने गरिएको हुन्छ । तर म जति बेला नेपालको राजदरबारभित्र प्रवेश गरें, त्यहाँ त्यस्तो केही देखिनँ । बरु मलाई त्यहाँको पारा देखेर अचम्म लागेको थियो ।

पञ्चायती शासनकाल भएकाले राजा वीरेन्द्र र रानी ऐश्वर्य दुवै देशको राजनीतिक, आर्थिक, प्रशासनिक तथा अन्य विभिन्न काममा व्यस्त भइबक्सन्थ्यो । पञ्चायत काल, त्यसमा पनि राजाको सक्रिय नेतृत्व । त्यो भएर राजा वीरेन्द्र पूरै व्यस्त । रानी ऐश्वर्यले राजाको काममा सहयोग पुयाउनुपर्ने । सामाजिक काममा मौसुफको उस्तै व्यस्तता | त्यसो भएर दीपेन्द्र सरकार शाही रनरहरूको रेखदेखमा हुर्किबक्स्यो, जो सेनाका सिपाही हुन् । अनि नानीहरूले हेरे युवराजाधिराजलाई | न शाही रनर धेरै पढेलेखेका हुन्थे, न नानीहरू नै । विशेष संस्कार पनि उनीहरूमा हुँदैनथ्यो । उनीहरूको रेखदेख र हेरचाहमा युवराजाधिराजको बाल्यकाल बित्यो । त्यसबाट दीपेन्द्र सरकारले के सिकिबक्स्यो होला ? एउटा सामान्य परिवारमा जन्मेको बच्चा आमा-बाबुको माया, ममता र रेखदेखमा हुर्किन्छ । तर सरकारले सानैदेखि आमा-बाबुको माया कस्तो हुन्छ भन्ने महसुस गर्न पाइबक्सेन |
आमा-बाबुको सामीप्यबाट वञ्चित युवराजाधिराज त्यति बेला शाही रनर र नानीहरूबाट फुत्केर बाहिर निस्केपछि एडीसी अफिस आइबक्सन्थ्यो । त्यत्ति थियो सरकारको जाने, घुम्ने र खेल्ने ठाउँ । बाल्यावस्थामा कुनै पनि किसिमको शिक्षा, दीक्षा र तालिम थिएन युवराजाधिराजलाई । त्यो देख्दा अबको २१ औं शताब्दीमा नेपालले कस्तो राजा पाउने होला भन्ने कुरा मेरो मनमा आउने गर्दथ्यो ।
म भर्खर दरबार गएको थिएँ, यो कुरा कसैलाई भन्ने कुरा पनि आएन । फेरि राजदरबारको कुरा । मैले पुरा ‘सिस्टम’ बारे त्यति धेरै अनुभव पनि पाएको थिइनँ । त्यो उमेरमा युवराजाधिराजलाई के कुरा सिकाउने ? अनि शाही रनरको ड्युटी के हो ? नानीहरूले के गर्ने र एडीसीले के-के गर्ने ? कामको कुनै बाँडफाँट थिएन । त्यति बेला दीपेन्द्र सरकारको कस्तो बानी विकास भइरहेको थियो भने कुनै ठूलो मान्छेलाई एक मुक्का हान्ने अनि त्यो मान्छे भुइँमा लडेर छटपट गरेकोमा मज्जा लिने । फेरि सरकारले त्यसैलाई गालामा झापड हान्नुपर्ने, फेरि त्यो मान्छे भुइँमा लडेर स्नुपर्ने । अनि सरकार मज्जा लिएर हाँस्ने | सरकारमा बच्चा साथीलाई समेत झापड र मुक्का हानेर ढलाउनैपर्ने मानसिकता थियो । यस प्रकार सरकारमा ‘इगो’ र हठीपन बढ्दै गएको थियो ।
यसरी युवराजाधिराजमा सकारात्मक स्वभावको विस्तार नहुने देखिरहेको थिएँ मैले । त्यही उमेरका बालबच्चाका बीचमा सम्पर्क र प्रतिस्पर्धामा राखेको भए पनि रानै हुन्थ्यो । अनुभवी र विशेषज्ञको टिम बनाएर हुर्काएको भए त झनै राम्रो हुन्थ्यो । तर कहिल्यै त्यो सोचाइ दरबारमा भएन । भावी राजा त के, सामान्य मानिसको जस्तो स्वाभाविक व्यक्तित्व विकासको अवसर पनि युवराजाधिराजलाई प्राप्त भएन |
कुनै पनि व्यक्तिले बाल्यकालमा आफ्ना आमाबाबुबाट कति माया पाएको छ, कति समय उनीहरूसँग बिताउन पाएको छ र ऊ कसरी हुर्काइएको छ भन्ने कुराले पछि गएर उसको व्यक्तित्व तथा चरित्र निर्माण हुन्छ । राजा वीरेन्द्र र रानी ऐश्वर्यबाट दीपेन्द्र सरकारले त्यो किसिमले माया, समय र रेखदेख पाइबक्सेन | सरकारहरू राजकाजमै व्यस्त भएकाले आफ्नो छोरालाई बिलकुलै समय नदिएको हामी एडीसीहरूले नजिकबाट देखिरहेका थियौँ । दीपेन्द्र सरकार जन्मेको डेढ महिनाजति मात्र ऐश्वर्य सरकारसँग सुतिबक्स्यो होला । त्यसपछि पूरै नानीहरूले हुर्काए । अझ सरकारको पास्नीपछि त सरकारलाई हुर्काउने र रेखदेख गर्ने सम्पूर्ण काम नानीहरू र शाही रनरहरूकै जिम्मामा गयो | आमा-बुबाबाट माया नपाएको कुरा दीपेन्द्र सरकारले हुर्किसकेपछि मसँग धेरै पटक व्यक्त गरिबक्सेको थियो पनि ।
म भर्खर दरबार गएको थिएँ, यो कुरा कसैलाई भन्ने कुरा पनि आएन । फेरि राजदरबारको कुरा । मैले पुरा ‘सिस्टम’ बारे त्यति धेरै अनुभव पनि पाएको थिइनँ । त्यो उमेरमा युवराजाधिराजलाई के कुरा सिकाउने ? अनि शाही रनरको ड्युटी के हो ? नानीहरूले के गर्ने र एडीसीले के-के गर्ने ? कामको कुनै बाँडफाँट थिएन । त्यति बेला दीपेन्द्र सरकारको कस्तो बानी विकास भइरहेको थियो भने कुनै ठूलो मान्छेलाई एक मुक्का हान्ने अनि त्यो मान्छे भुइँमा लडेर छटपट गरेकोमा मज्जा लिने ।
१० वर्षसम्म दीपेन्द्र सरकारको मानसिकता र व्यक्तित्व विकास जसरी भइरहेको थियो, त्यसबारे आफू सवारी ड्युटीमा भएका बेला मैले वीरेन्द्र सरकारलाई जाहेर पनि गरेको थिएँ । ठ्याक्कै त्यही कुरा पछि दीपेन्द्र सरकारले मसँग गुनासोका रूपमा व्यक्त गरिबक्सेको थियो । त्यसै कारण पछि गएर आमाबुबासँग सरकारको सम्बन्ध टाढिदै गएको थियो । मैले सरकारहरूका बीचमा विचार र दृष्टिकोण फरक-फरक हुँदै गएको देखिरहेको थिएँ । खास गरी बडामहारानी ऐश्वर्यसँग सरकारको सम्बन्ध धेरै टाढा हुँदै गएको थियो । आमा-छोराको सम्बन्ध त नजिकको हुनुपर्ने हो, तर सरकारहरूबीच त्यसरी आत्मीय सम्बन्ध विस्तार भएन । त्यसमाथि सरकारहरू दुवै जना कडा दिमागको (स्ट्रङ हेडेड) । मैले भनेकै हुनुपर्छ भन्ने स्वभाव विकास भएको थियो युवराजाधिराज सरकारमा । त्यस्तै स्वभाव थियो बडामहारानी ऐश्वर्यको पनि । दुवै जना एकअर्कासँग नझुक्ने र पटक्कै लचिलो नहुने | आमा-छोराबीच बच्चादेखि नै आत्मीयता, निकटता र माया-ममता नभएको परिणाम थियो यो । आमा-छोराबीचको सम्बन्ध भित्री रूपमा ‘प्राविधिक मात्र रहन पुगेको थियो |
मैले दीपेन्द्र सरकारको पूरै जीवन देखेको छु । मौसुफको व्यक्तित्व कसरी विकास हुँदै आयो, एकदमै नजिकबाट अनुभव र अध्ययन गरेको छु । सरकारको अस्वाभाविक उपध्रो, हठ, बदमासी, परपीडक स्वभाव, इगो, उपेक्षित भएको अनुभूति, माया-प्रेमको तृष्णा, भावुकता, महत्त्वाकाङ्क्षा, नैराश्य, आवेग आदिलाई छर्लङ्ग देखेभोगेको छु । जति बेला सरकार किन्डर गार्टेनमा होइबक्सन्थ्यो, हामीले सवारी चलाउनुपर्दथ्यो स्कुलमा | दीपेन्द्र सरकार स्कुल जान नचाहने । ऐश्वर्य सरकारलाई जसरी भए पनि पठाउनैपर्ने । अनि दीपेन्द्र सरकार जान्न भनेर जिद्दी गर्ने, ऐश्वर्य सरकार जानैपर्छ भनेर चर्को स्वरमा हप्काइबक्सने । त्यस क्रममा मौसुफबाट दीपेन्द्र सरकारलाई गालामा झापड लगाएको पनि मैले कैयौँ पटक देखेको छु । स्कुल सवारी होइबक्से पनि कहिलेकाहीं त बीच बाटोमै ‘मोटरबाट ओर्लन्छु’ भनेर जिद्दी गर्ने | कस्तो छुकछुके भने एडीसीलाई हैरानै पारिबक्सन्थ्यो |
सबै एडीसीहरू सरकारबाट टाढा भाग्न खोज्दथे । दीपेन्द्र सरकार एडीसी अफिसमा नआए पनि हुन्थ्यो जस्तो हुन्थ्यो । आफूले भनेको नगर्ने एडीसीलाई सरकारले सइबक्सँदैनथ्यो । तीमध्ये म प्रमुख थिएँ । त्यसैले कहिलेकाहीं सरकारको लात र थप्पड समेत मैले खाएको छु | म सरकारलाई गर्न हुने-नहुने कुराहरू सम्झाउँथें । तर सरकारलाई पटक्कै मन पर्दैनथ्यो । त्यसैले सरकारले मेरो नाम ‘डेन्जरस एडीसी’ राखिबक्सेको थियो । नानीहरूसँग राम्रो व्यवहार नगर्ने । नानीहरूले मौका पायो कि शाही रनरहरूलाई बुझाइदिइहाल्ने | शाही रनरले पनि नसकेपछि एडीसीहरूलाई बुझाउने । एडीसी अफिसमा आएर टेबलको सिसा फुटाइदिने | कलम भाँचिदिने । असामान्य उपध्रो सिवाय अरू केही नगर्ने स्वभाव थियो सरकारको ।
दीपेन्द्र सरकार लोअर केजीदेखि कक्षा ३ सम्म काठमाडौँको त्रिपुरेश्वरस्थित कान्ति ईश्वरी शिशु विद्यालयमा अध्ययन गरिबक्स्यो | कक्षा ४ देखि सरकारलाई बूढानीलकण्ठ स्कुल भर्ना गरियो । सरकारलाई बोर्डर्स गर्नुका पछाडि सरकारको त्यही उपद्र्याह र हठी स्वभाव कारण थियो भन्ने मलाई लाग्छ । किनभने दरबारमा सरकारले तलदेखि माथिसम्म सबैलाई हैरानै पारिबक्सेको थियो । बूढानीलकण्ठ स्कुल सवारी भएपछि सरकारको उपध्रो घट्छ भनेको त झनै बढ्यो । युवराजाधिराजका हिसाबले पनि सरकारले स्कुलमा अरू विद्यार्थीको तुलनामा अलिक ज्यादा नै स्वतन्त्रता र अवसर पाइबक्स्यो | सरकारका बदमासी बढे । त्यही बेलादेखि नै रक्सी खान सुरु गरेको सूचना हामीले पाएका थियौँ । ‘ग्याङ फाइट’ मा ‘टिम लिडर’ नै भएर गएको भन्ने खबर आइरहन्थ्यो ।
एकपटक सरकारका सहपाठीहरूको सिद्धार्थ वनस्थली स्कुलका विद्यार्थीसँग झगडा परेछ । अनि सरकार बूढानीलकण्ठ स्कुलका विद्यार्थीको ‘टिम लिडर’ भएर खेतैखेत हिंडेर सिद्धार्थ वनस्थली स्कुलका विद्यार्थीलाई कुट्न गइबक्सेछ । यसरी बूढानीलकण्ठ स्कुल गएपछि ‘म अरूभन्दा ज्यादा नै तगडा छु’ भनेर देखाउने र अरूलाई पिटेर ढाल्ने अवसर पाइबक्स्यो, जुन मनोविज्ञान सरकारमा सानो छदादेखि नै प्रबल थियो । ‘बडिबिल्डर’, ‘बक्सर’ या ‘कराते एक्सपर्ट’ का रूपमा पनि सरकारले आफूलाई विकसित गरिबक्स्यो | सरकारको स्रचि अनुसारकै सैनिक अधिकृत र प्रहरी अधिकृतलाई छानेर दरबारले प्रशिक्षक र एडीसीका रूपमा बूढानीलकण्ठ स्कुल पठाएको थियो । कहिलेकाहीं छुट्टीका बेला राजदरबार सवारी हुँदा आफ्ना पाखुरा हामीलाई देखाउँदै ‘ए, तिम्रो कति सानो पाखुरा, हेर त मेरो.. भनिबक्सन्थ्यो |
जति बेला सरकार किन्डर गार्टेनमा होइबक्सन्थ्यो, हामीले सवारी चलाउनुपर्दथ्यो स्कुलमा | दीपेन्द्र सरकार स्कुल जान नचाहने । ऐश्वर्य सरकारलाई जसरी भए पनि पठाउनैपर्ने । अनि दीपेन्द्र सरकार जान्न भनेर जिद्दी गर्ने, ऐश्वर्य सरकार जानैपर्छ भनेर चर्को स्वरमा हप्काइबक्सने । त्यस क्रममा मौसुफबाट दीपेन्द्र सरकारलाई गालामा झापड लगाएको पनि मैले कैयौँ पटक देखेको छु ।
बूढानीलकण्ठ स्कुलबाट बिदामा सवारी भएका बेला दीपेन्द्र सरकार एक दिन राति राजदरबारको उत्तरपूर्वको पर्खालबाट हामफालेर बाहिर सवारी भएछ | सरकार हराएपछि राजदरबारमा निकै हल्लीखल्ली मच्चियो | सरकारलाई खोज्न एडीसी र सैनिक प्रहरीलाई निकै समस्या पर्यो । अनेक दौडधूपपछि बल्ल उनीहरूले युवराजाधिराजलाई राजदरबार फर्काएका थिए । त्यस बेला सरकारका केही साथीहरूलाई सैनिक प्रहरीले राजदरबारमा बोलाएर सोधपुछ पनि गरेको थियो । जे होस्, बूढानीलकण्ठ स्कुल गएपछि दीपेन्द्र सरकारको आमाबुबासँग झनै दूरी बढ्यो |
सरकारहरूले खर्चमा नियन्त्रण गरिबक्सेको थियो । तर युवराजाधिराजले अन्य कैयौँ स्रोत र उपायबाट खर्च जुटाउने गरिबक्सेको मैले थाहा पाएको थिएँ । युवराजाधिराजले आफ्ना आमाबुबाले दिएको खर्चले नपुगेर अन्यत्रबाट खर्च जुटाउन थाल्नु भनेको वास्तवमै चित्रण गर्न नसकिने अवस्था हो । त्यस्तो अवस्थाबाट एउटा मान्छेको सही व्यक्तित्व विकास कसरी हुन सक्थ्यो ?
परपीडक स्वभाव दीपेन्द्र सरकारमा सानैदेखि देखिन्थ्यो | दरबारमा उडिरहेको परेवा गुलेली हानेर मार्न खोजिबक्सन्थ्यो । गुलेली लागेर परेवा भुइँमा खस्दथ्यो पनि । अनि परेवा मरेको छैन भने त्यसलाई झनै दुःख दिएर मार्ने गरिबक्सन्थ्यो | उडिरहेको कागलाई पनि गोली हानेर झार्ने । र, त्यसै गर्ने । कहिलेकाहीं जिउँदो मुसा समात्ने र पुच्छरमा आगो लगाइदिएर छोडिदिने । त्यसलाई तड्पाई-तडपाई मार्ने । कहिलेकाहीं भने अति भावुक र गम्भीर स्वभाव पनि देखाइबक्सन्थ्यो । यात्रा गर्न रुचाइबक्सन्थ्यो । सानै उमेरदेखि कविता लेखिबक्सन्थ्यो । बूढानीलकण्ठमा हुँदा सरकारले धेरै राम्राराम्रा कविता लेखिबक्सेको छ । सरकारको साहित्यमा विकास होस् भनेर दरबारबाट नेपाली भाषा र साहित्यका केही राम्रा शिक्षकहरूको समेत व्यवस्था गरिएको थियो ।
बूढानीलकण्ठ स्कुलमा कक्षा ७ मा अध्ययन गरिरहेकै बेला दीपेन्द्र सरकारले मसँग एक पटक आफ्नो पीडा ‘सेयर’ गरिबक्स्यो, ‘मलाई मुमाले अनावश्यक नियन्त्रण गर्न खोजिबक्सन्छ । तिमीले मुमालाई सम्झाइदेऊ ।’ यसमा मैले केही गर्न र भन्न सक्ने कुरा थिएन । खास कुरा त्यति बेला के परेछ भने सरकारले सुप्रिया शाहलाई मन पराइबक्सेछ । सरकारले सुप्रियालाई ‘लभलेटर’ लेख्ने गरेको कुरा कुनै स्रोतबाट बडामहारानी सरकारले थाहा पाइबक्सेछ | सायद त्यसबारे बडामहारानी सरकारले युवराजाधिराजलाई भनिबक्स्यो, जुन कुरा दीपेन्द्र सरकारलाई मन परेन र मलाई आफ्नो पीडा ‘सेयर’ गरिबक्सेको थियो ।
दीपेन्द्रको देवयानीसँग ‘अफेयर’ त्यहींबाट सुरु भएको थियो । यसबीच सुप्रियासँगको सम्बन्धलाई पनि सरकारबाट निरन्तरता दिइबक्सेको थियो । यसरी दुई जनासँग एकै पटक ‘अफेयर’ चलेको थियो, दीपेन्द्र सरकारको | यो नयाँ कुरा थिएन । सानै उमेरदेखि सरकारको अनेक केटीसँग चक्कर थियो । सुप्रिया र देवयानीसँगको कुरा मात्र बाहिर सबैलाई थाहा भएको हो ।
सुप्रिया सरकारसँगै पढ्ने त होइन, तर कक्षा ७ मा पढ्दादेखि नै दीपेन्द्र सरकारले सुप्रियालाई मन पराइबक्सेको थियो । सरकारले सुप्रिया बाहेक पनि विभिन्न केटीलाई भेट्ने र ‘लभलेटर’ लेख्ने गरेको कुरा समेत हामी एडीसीले थाहा पाइरहेका हुन्थ्यौँ । त्यो उमेरमा ‘गर्लफ्रेन्ड’ बनाउने र ‘लभलेटर’ लेख्ने गरेको बडामहारानीलाई मन पर्ने कुरै भएन । कुनै पनि अभिभावकलाई मन पर्दैन । त्यति सानो उमेरमै यस्तो व्यवहार गर्नु राम्रो पनि होइन । त्यसमाथि बडामहारानी सरकारबाट व्यक्तिगत रूपमा भन्दा पनि पारिवारिक नाताका हिसाबले दीपेन्द्र र सुप्रियाको वैवाहिक सम्बन्ध रुचाइबक्सेको थिएन ।
दीपेन्द्र र सुप्रिया दुई दिदी-बहिनीका नाति र नातिनी | सुप्रिया मुमा बडामहारानी रत्नकी आफ्नै दिदीकी नातिनी । त्यसै कारण सरकारबाट दीपेन्द्रको सुप्रियासँगको सम्बन्ध तोड्न चाहिबक्सेको थियो । आफ्नी मुमालाई मन नपरेको भए पनि युवराजाधिराजलाई चाहिँ त्यही केटीसँग सम्बन्ध राख्नुपर्ने । यो विषयमा सरकारहरूमा ‘इगो’ बढिरहेको थियो । बडामहारानी सरकार कुनै पनि हालतमा सुप्रियासँग विवाह हुनै नदिने अडानबाट विचलित होइबक्सेन । त्यति नजिकको नातामा विवाह गर्यो भने सम्बन्ध राम्रो हुँदैन, बच्चा पनि राम्रो जन्मँदैन भन्ने सरकारको जिकिर थियो । ‘सुप्रिया नट कम्पिनेन्ट टु दी क्वीन’ (सुप्रिया रानी हुन लायक छैन) पनि भनिबक्सन्थ्यो । यसरी हुकुम भएको मैले पनि सुनेको छु |
दुवैजनासँग सम्बन्ध भएर पनि अन्त्यमा देवयानीलाई विवाह गर्ने भन्ने टुङ्गोमा दीपेन्द्र सरकार पुगिबक्सेको देखिन्छ । तर यो कुरा त बडामहारानीलाई झनै मन परेन | सुप्रिया त मन परिरहेकी थिइनन् भने देवयानीलाई मन पराउने कुरै थिएन । मौसुफ मात्र होइन, मुमा बडामहारानी लगायत राजदरबारमा कसैलाई पनि यो कुरा मन परेन | देवयानीको मावल भारतमा थियो । भारतमा सम्बन्ध भएकी केटीसँग युवराजाधिराजको विवाह गराउनु हुन्न भन्ने विषयमा राजदरबारमा सबैको एकमत थियो ।
बडामहारानीले सोझै यसो भन्दा युवराजाधिराजलाई पटक्कै मन पर्दैनथ्यो र ‘ह्वाट डज सी थिङ्क अफ हरसेल्फ ? ह्वाट वाज सी बिफोर ? (मुमाले आफूलाई के ठानेको ? विवाह गर्नुअगाडि मुमाको के हालत थियो ?) समेत भन्ने गरिबक्सन्थ्यो, त्यो कलिलो उमेरमै ।
उता, सप्रिया आफनै दिदीकी नातिनी भएकाले ‘यवराजाधिराजसँग सप्रियाको विवाह ठीक हुन्छ, राम्रो हुन्छ’ भन्ने मुमा बडामहारानी रत्नको जोड थियो । यसबारे महाराजाधिराजका माध्यमबाट रत्नले दबाव दिने काम भइरहेको छ भन्ने पनि सुनिएको थियो । यस प्रकार राजा वीरेन्द्र मुमा बडामहारानी र बडामहारानीको दोहोरो दबावमा होइबक्सन्थ्यो | युवराजाधिराजले एसएलसी सकेलगत्तै सरकारको विवाहको चर्चा चलिरहेको थियो । बडामहारानीको कडा स्वभावका कारण राजपरिवारमा सितिमिति कसैले पनि सरकारको कुरा काट्नै नसक्ने | सबैले बडामहारानीकै लाइन लिने | सासू-बुहारीको कुरा नमिलेपछि वीरेन्द्र सरकारले कुनै पनि निर्णय लिन सकिबक्सेन । यो विषयलाई त्यतिकै छाडिबक्स्यो | युवराजाधिराजले सुप्रियालाई मन पराएको हिसाबले मुमा बडामहारानी रत्न र दीपेन्द्रको सम्बन्ध भने सुमधुर थियो |
युवराजाधिराजको विवाहका लागि धेरै पटक केन्द्र निवासबाट विभिन्न केटीको तस्बिर दरबार पठाइयो | सबै तस्बिर सङ्कलन गर्ने काम केन्द्र निवासबाटै भएको थियो ।
केन्द्र निवास बडामहारानी ऐश्वर्यको माइतीघर | युवराजाधिराजले तीमध्ये कुनै पनि केटी हेर्ने इच्छा नै गरिबक्सेन । बडामहारानी सरकारको गरिमा राणाप्रति झकाव थियो । सायद राणा परिवारकी केटी नै विवाह गराउने सरकारको इच्छा थियो । त्यस बेला अधिराजकुमारी श्रुति भारत, राजस्थानको अजमेर सहरको मेयो कलेजमा पढिबक्सन्थ्यो । वीरेन्द्र सरकार र ऐश्वर्य सरकार छोरीलाई भेट्न गइबक्सन्थ्यो । त्यही बेला जयपुरका महाराज ब्रिगेडियर भवानी सिंहलाई भेट्न सरकारहरू सवारी भएको थियो | जयपुर महाराजकी एक्ली छोरी थिइन् । सायद उनले आफ्नी छोरीको विवाह युवराजाधिराज दीपेन्द्रसँग गराउन प्रस्ताव राखेका थिए । यो बाहेक भारतीय मूलकी अन्य कुनै पनि केटीको दीपेन्द्र सरकारसँग विवाहका लागि प्रस्ताव आएको मलाई जानकारी छैन ।
विवाहको प्रसङ्ग चल्दाचल्दै सन् २०४५ सालमा दीपेन्द्र सरकार उच्च शिक्षा अध्ययनका लागि बेलायतको इटन कलेज सवारी भयो । त्यहींबाट ए लेभलको अध्ययन पूरा गरिबक्स्यो । देवयानी त्यति बेला बेलायतमै पढिरहेकी थिइन् । दीपेन्द्रको देवयानीसँग ‘अफेयर’ त्यहींबाट सुरु भएको थियो । यसबीच सुप्रियासँगको सम्बन्धलाई पनि सरकारबाट निरन्तरता दिइबक्सेको थियो । यसरी दुई जनासँग एकै पटक ‘अफेयर’ चलेको थियो, दीपेन्द्र सरकारको | यो नयाँ कुरा थिएन । सानै उमेरदेखि सरकारको अनेक केटीसँग चक्कर थियो । सुप्रिया र देवयानीसँगको कुरा मात्र बाहिर सबैलाई थाहा भएको हो ।
बेलायतमा दीपेन्द्र सरकारका स्थानीय अभिभावक लर्ड क्यामवाइज हुनुहुन्थ्यो । उहाँसँग पशुपतिशमशेर जबराको पनि चिनजान थियो । लर्ड क्यामवाइज पशुपतिकी छोरी देवयानीका पनि स्थानीय अभिभावक हुनुहुन्थ्यो । क्यामवाइजका तीन छोरी थिए । तिनीहरूसँग युवराजाधिराजको सुमधुर सम्बन्ध थियो । यही क्रममा दीपेन्द्र सरकारको देवयानीसँग चिनजान भयो र ‘अफेयर’ सुरु भयो । त्यहाँ कुनै एडीसी खटाइएको थिएन । दीपेन्द्र सरकारलाई बिदामा कहिलेकाहीं काठमाडौँ लिएर आउनुपर्यो भने बेलायतस्थित शाही नेपाली राजदूतावासका सैनिक सहचारीले ल्याउने-लैजाने गर्दथे ।
देवयानीसँगको सम्बन्ध दीपेन्द्र सरकारले नेपाल फर्केपछि पनि कायम गरिबक्स्यो | साथै सुप्रियासँग पनि | देवयानीसँग ‘अफेयर’ भएको थाहा भएपछि सुप्रियाको दीपेन्द्र सरकारसँग निकै खटपट भयो भन्ने पनि सुनिएको थियो । देवयानीका तर्फबाट चाहिं कुनै गुनासो सुनिएन । देवयानी आधुनिक तथा खानदानी परिवारमा जन्मेकी, हुर्केकी र पढेकी पनि । त्यसो भएर होला, उनका तर्फबाट कुनै पनि किसिमको गुनासो आएन । व्यवहारमा देवयानी धेरै हिसाबले माथिल्लो स्तरको भएको सुनिएको थियो | सायद त्यही कुरा हेरिबक्स्यो होला दीपेन्द्र सरकारले ।
दुवैजनासँग सम्बन्ध भएर पनि अन्त्यमा देवयानीलाई विवाह गर्ने भन्ने टुङ्गोमा दीपेन्द्र सरकार पुगिबक्सेको देखिन्छ । तर यो कुरा त बडामहारानीलाई झनै मन परेन | सुप्रिया त मन परिरहेकी थिइनन् भने देवयानीलाई मन पराउने कुरै थिएन । मौसुफ मात्र होइन, मुमा बडामहारानी लगायत राजदरबारमा कसैलाई पनि यो कुरा मन परेन | देवयानीको मावल भारतमा थियो । भारतमा सम्बन्ध भएकी केटीसँग युवराजाधिराजको विवाह गराउनु हुन्न भन्ने विषयमा राजदरबारमा सबैको एकमत थियो । दरबारले भारतसँग कुनै पनि पारिवारिक नाता सम्बन्ध जोडन हुन्न भन्ने मान्यता राजा महेन्द्रबाट विकास भएको हो ।
दरबारको भित्री कुरा विदेशीकहाँ नपुगोस् भन्ने मौसुफको उद्देश्य थियो । त्यसै आधारमा महेन्द्र सरकारले आफनो विवाह नेपालीसँगै गरिबक्सेको थियो भने आफ्ना तीन छोरा र तीन छोरीहरूको विवाह पनि एकै घरमा र नेपालीसँगै गराइबक्सेको थियो । देवयानीको मामिलामा दीपेन्द्र सरकार एकातिर र अन्य सरकारहरू अर्कातिर भएपछि यसले पारिवारिक कलहको रूप लिन पुग्यो ।
(पूर्वराजा वीरेन्द्रका सैनिक सचिव विवेककुमार शाहले लेखेको पुस्तक ‘मैले देखेको दरबार’ बाट साभार ।)

Leave a Reply