पराजयको दोष केन्द्रलाई दिँदै मकवानपुर एमालेका निवर्तमान अध्यक्षले छाडे पार्टी

हेटौंडा । पार्टी हारको नैतिक जिम्मेवारी लिँदै एमाले मकवानपुरका निवर्तमान अध्यक्ष बद्रीप्रसाद लम्सालले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् ।

सामजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै लम्सालले आफ्नो गाउँपालिकामा समेत पार्टीको तर्फबाट अध्यक्ष तथा उपाध्यक्षमा विजयी गराउन नसकेको भन्दै नैतिकरुपमा पार्टीको कुनै पनि जिम्मेवारीमा बस्नु उपयुक्त नभएको भन्दै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।

लम्सालले सामजिक सञ्जालमा पाँच बुँदे कारण उल्लेख गरेर नैतिकताको आधारमा पार्टीको कुनैपनि जिम्मेवारीमा नरहने उल्लेख गरेका हुन् ।

यस्तो छ, लम्सालको पाँच बुँदे धारणा

१. विगत २०४८ सालदेखि अहिलेसम्म पनि पार्टी नेतृत्व संसदीय क्षेत्र र राजकीय क्षेत्रमा निश्चित व्यक्तिहरूको मात्र नेतृत्व रहनु स्वायत्त र मौलिक ढंगले काम गर्नसक्ने नयाँलाई आउनै नदिने, अवसरहरू हस्तान्तरण गर्नैपरे आफ्नो नियन्त्रणमा चल्नेलाई मात्र ल्याउने, त्यसैले यसको पहिलो जिम्मेवारी लिनु पर्दछ।

२. हुर्मत लिएका सिपाहीले युद्ध जित्दैन भनेझैं पार्टीको दशौ जिल्ला अधिवेशनमा पार्टी विधान पद्दतिविपरीत प्रतिनिधिहरुको अधिकारलाई पूर्णरूपमा कुण्ठित गर्दै नेताको खल्तीबाट नेतृत्व घोषणा गर्ने र जब्बरजस्ती घोषणा गर्न दबाब दिने काम भयो । जुन कुराले धेरै कार्यकर्ताको मन र चित्त धेरै दुखेको छ, मनोबल गिराइयो, कार्यकर्ताको हुर्मत लिने काम गरियो। यसरी हुर्मत लिएका, मनोबल गिराइएको र गुटबन्दीमा विभाजित गराइएको कार्यकर्ताले निर्वाचनको युद्ध कसरी लड्न सक्छ ? यसको जिम्मेवारी नेतृत्वले लिनुपर्दछ।

३. पार्टीको तर्फबाट उम्मेदवारी तय गर्न बनाइएको मापदण्ड र कार्यविधिभन्दा केही निश्चित नेताले गुटको आधारमा र अधिवेशनमा प्रभाव पार्न अग्रिम आश्वासन दिएकालाई प्राथमिकता दिइ टिकट वितरण गरेको कारण कार्यकर्ताले उम्मेदवारीको अपनत्व गर्ने अवस्था नभएको देखियो ।

४. प्रदेश सरकारको मुख्यमन्त्री, मन्त्री र जिल्ला प्रमुखहरुले मकवानपुर जिल्लामा धेरै बजेट वितरण गरेको भनिएको हुँदा वितरण गरेको बजेट पार्टीको समन्वयनमा भन्दा व्यक्तिगत आधारमा भएकोले समुदायले महसुस नगरेकोले अपनत्व गरेन। त्यसै गरी पार्टीको जानकारीमा नभइ व्यक्तिगत आधारमा विवादास्पद कमजोर कार्य क्षमता भएकालाई राजनैतिक नियुक्ति र राजकीय सेवामा राखेकोले कार्य सम्पादन कमी हुनुका साथै विवादित भएको हुँदा कार्यकर्ता र जनतामा नकारात्मक असर पर्न गयो ।

५. तलका कमिटीगत सुझावलाई मनन् गरी कार्य गर्नुभन्दा पर्यटक नेताले सेल्फी फोटो खिचेर फेसबुकमा हालेको रिपोर्टलाई आधार मान्दै माथिबाट निर्देशन मात्र जारी गर्ने, असन्तुष्ट कार्यकर्तालाई चित्त बुझाएर परिचालन नगरी बेवास्ता गरी खल्तीको गुमाउँदै भुइँको टिप्ने कार्यशैली अपनाइयो।

माथिका यी घटनाहरू लाई आधार मानेर त्यससँग जोडिएका वर्तमान जिल्ला नेतृत्व र माथिल्लो नेतृत्वले जिम्मेवारी लिइ पार्टीको नेतृत्व हस्तान्तरण गर्नु पर्दछ । साथै पूर्व जिल्ला नेतृत्व र पूर्व केन्द्रीय सदस्यले पनि जिम्मेवारी लिनुपर्छ । हिजो गरेको कमीकमजोरी, गुटबन्दी स्वीकार गर्दै अब जिल्लाको पार्टी काममा अनावश्यक गुटगत हस्तक्षेप बन्द गर्नुपर्दछ।

पार्टीलाई पुनःव्यवस्थित गर्नका लागि मेरो सुझावसम्म हो, स्वीकार गर्ने–नगर्ने नैतिक जिम्मेवारी लिने नलिने नेतृत्वको जिम्मा लगाउँदै म पनि जिल्ला नेतृत्वमा लामो समयदेखि रहेको र निवर्तमान अध्यक्ष भएको साथै मेरो आफ्नो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पनि विजय गराउनु नसकेकोले मैले यसको नैतिक जिम्मेवारी लिँदै पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने जानकारी गराउँदछु ।

Comments

3 responses to “पराजयको दोष केन्द्रलाई दिँदै मकवानपुर एमालेका निवर्तमान अध्यक्षले छाडे पार्टी”

  1. ksp pyl Avatar
    ksp pyl

    याे पार्टीकाे आन्तरिक विषय हाे । यस्ताे विषयलाई सार्वजनिक गरेर के हिराे हुन खाेजेकाे नि ? पार्टी हार्नुमा त तिमीजस्ता अनुशासनहिनले गर्दा हाे ।यस्ता अनुशासनहिनलाई कारवाही गर्नुपर्थ्याे आफैं हट्याे राम्रै भयाे ।

  2. सन्तोष देवकोटा Avatar
    सन्तोष देवकोटा

    उतिबेलै माओवादीमा जान लागे भनेर हल्ला मच्चिएको थियो। काम नहेरी अनुहार हेरेर पद दिएकोले एमाले हारेको पक्का हो। यस्ता अबशरबादीहरु पार्टिमा ठॅाउं ओगटेर बस्नु भन्दा पार्टिबाट अलग भएको नैं राम्रो । पार्टिलाई क्षणीक नोक्सान त होला तर भबिष्यमा पार्टि अझ मजबुत हुनेछ।नेकपा एमाले केन्द्रिय अध्यक्ष श्रद्देय केपी ओली ज्युले यि र यस्ता कुरामा गम्भीर समिक्षा गर्नु जरुरी छ कि आफ्नैं वडामा पार्टि जिताउन नसक्नेलाई पार्टिको जिल्ला सुम्पिनु हुदैन भनेर।

  3. क Avatar

    पर्टीको प्रमुख नै यस्ता गैरजिम्मेवार भएपछी त अरु सदस्य हरु त झन कस्ता होलान?राजिनाम दिने पर्टीमा हो कि फेसबुक मा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *