उम्मेदवारलाई निर्वाचन आयोगको निर्देशन: कारोबार बैंक खाताबाट मात्रै गर्नू

lo

काठमाडौं । निर्वाचन आयोगले आसन्‍न स्थानीय तह निर्वाचनका उम्मेदवारको खर्च बैंक खातामार्फत सञ्चालन गर्न निर्देशन दिएको छ । निर्वाचनमा उम्मेदवारको खर्चको सिलिङ तोकेको आयोगले चुनावी खर्चको अनुगमन गरिरहेको हो ।

आयोगले उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खाता खोली गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने भनेका छन् ।

यसरी तोकिएका पदाधिकारीको नाम नामेसीसहितको विवरण उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने, राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक खाता मार्फत दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खर्चगर्नु पर्ने, २५ हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्था मार्फत गर्नुपर्ने, व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिई उम्मेदवारको वा राजनीतिक दलको बैंक खातामा जम्मा गर्नुपर्ने भनिएको छ ।

त्यस्तै, खर्चको विवरण तथा बिल भरपाई राख्नुपर्ने, आम्दानी तथा खर्चको विवरण प्रचलित कानुन बमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनुपर्ने, आयोगले खर्चको बिल भरपाई तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेश गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराइएको छ ।

निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्‍न भएपछि सार्वजनिक गरी आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *