भोलि रातिदेखि उडान बन्द गर्ने आन्तरिक वायुसेवा कम्पनीकाे चेतावनी

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीले भोलि रातिदेखि उडान बन्द गर्ने चेतावनी दिएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ घन्टा विमानस्थल सञ्चालन गर्न भन्दै नयाँ तालिका र स्लट सार्वजनिक गरेपछि वायुसेवा सञ्चालक संघ नेपालले त्यसलाई कार्यान्वयन नगर्ने र जबरजस्ती गरिए भोलिदेखि सबै उडान बन्द गर्ने चेतावनी दिएको हो ।

संघले आज एक विज्ञप्ती जारी गर्दै वायुसेवा कम्पनीहरु बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाईन्स, सौर्य एअरलाईन्स र गुण एयरलाइन्सका उडानहरु तालिका र स्लट संसोधन नभएसम्मका लागि सम्पूर्ण उडानहरु स्थगन गरिने चेतावनी दिएको छ ।

विविध प्राविधिक कारणले तत्कालको लागि राति आठ बजेपछि नियमिततर्फका उडान गर्न सक्ने अवस्था नरहेको जानकारी गराउँदा गराउँदै पनि प्राधिकरणले बुधवार नयाँ स्लटको व्यवस्था गरेर पत्र पठाएको भन्दै संघले आपत्ति समेत जनाएको छ ।

प्राधिकरणले दिएको स्लट र तालिका तत्कालै कार्यान्वयन गर्न नसकिने र यसको लागि केही समय माग गरिए पनि प्राधिकरणले एकतर्फी निर्णय गरेको संघका प्रवक्ता योगराज कंडेल शर्माले बताए ।

प्राधिकरणले रात्रिकालीन उडान हुने विमानस्थलमा भोलिदेखि दैनिक १८ घन्टा उडान गर्ने निर्णय गरिसकेको छ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *