जहाजभित्र जोरजुलुम गरेकोबारे ऋषि धमलालाई प्रेस काउन्सिलले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा चढेको विमानभित्र गलत हर्कत गरेको विषयमा पत्रकार ऋषि धमलालाई नेपाल प्रेस काउन्सिलले स्पष्टीकरण सोधेको छ । कर्मचारीले रोक्दारोक्दै निषेध गरिएको स्थानमा बलजफ्ती प्रवेश गर्नुको कारण २४ घन्टाभित्र पेस गर्न काउन्सिलले धमलालाई पत्र पठाएको हो ।

शुक्रबार प्रधानमन्त्री देउवा भारत भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानभित्र धमलाले जोरजुलुम गरेका थिए । उनी प्रधानमन्त्रीसँग कुराकानी गर्ने भन्दै जहाजका कर्मचारीलाई पेलेर इकोनोमी क्लासबाट बिजनेस क्लासमा प्रवेश गरेका थिए । यस विषयमा नेपाल प्रेसले आज समाचार प्रकाशित गरेलगत्तै काउन्सिलले एक्सन लिएको हो ।

काउन्सिलले पठाएको पत्रमा भनिएको छ, ‘सुरक्षा संवेदनशीलतालाई नजरअन्दाज गरी वायुसेवाका सम्बद्ध कर्मचारीले प्रसारण गर्न नमिल्ने भन्दाभन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलजफ्तीरूपमा निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको दृष्यसहितको प्रत्यक्ष प्रसारण के कति कारणले गर्नुपरेको हो ? त्यहाँबाट पटक-पटक यस्तो गैरपेशागत क्रियाकलाप किन हुन पुगेको हो ?’

काउन्सिलको स्वअनुगमनमा पनि जबरजस्तीरूपमा निषेध गरिएको क्षेत्रमा छिरेर भिजुअल रेकर्ड गरी सम्प्रेषण गरेको देखिएको पत्रमा उल्लेख छ ।

यस विषयमा नेपाल प्रेससँग कुरा गर्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारको कार्ड भिर्दैमा जहाँ पनि प्रवेश गर्न सक्ने छुट नहुने बताए ।

‘यस्तो कार्यले पत्रकारिताको मर्यादा र प्रतिष्ठामा आँच आउँछ । यसरी पत्रकारिताको दुरुपयोग गर्न पाइँदैन,’ उनले भने । धमलाबाट स्पष्टीकरणको जवाफ आएपछि थप निर्णय लिइने उनको भनाइ छ ।

यो पनि पढ्नुस् : प्रधानमन्त्री चढेको जहाजभित्र ऋषि धमलाको जोरजुलुम, कारबाहीबारे के भन्छ निगम ?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *