काठमाडौं । नेपाल प्रहरीमा थपिएका तीनवटा दर्जामा ज्येष्ठतालाई मात्र आधार मानेर बढुवामार्फत पदपूर्ति गर्ने तयारी भएको छ ।
ठूलो संख्यामा पदपूर्ति गर्नु पर्ने भन्दै वर्तमान व्यवस्थाअनुसार लामो समय लाग्ने भएकाले प्रहरी नियमावली संशोधनको तयारी भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए ।
‘दर्जा थप्ने निर्णय भएको लामो समय बित्दा पनि हामी अगाडि बढ्न सकेनौँ । अनेकन प्राविधिक जटिलता देखिएकाले तत्काल पद पूर्तिका लागि ज्येष्ठतालाई मात्र आधार मान्न प्रस्ताव गरिएको छ’, एसएसपी केसीले भने । उनले नियमावली संशोधनका लागि मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भइरहेको बताए ।
एउटै दर्जामा लामो समय बस्नुपर्ने समस्या रहेको भन्दै सरकारले सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ नायब निरीक्षक (सई) थपेको छ ।
यसअघि सईबाट सीधै इन्सपेक्टर बन्ने गरेकोमा अब वरिष्ठ सई हुँदै इन्सपेक्टरमा बढुवा हुनेछन् ।
यसअघि इन्सपेक्टरमा बढुवा हुन सईमा कम्तीमा ८ वर्ष काम गरेको हुनुपर्ने मापदण्ड रहेकामा अब सई र वरिष्ठ सईमा गरेर कम्तीमा ८ वर्ष काम गरेको हुनुपर्ने छ । सरकारले तीनवटा दर्जा थपेपनि दरबन्दी भने पुरानै कायम छ ।
प्रहरी प्रवक्ता केसीले जवानको ३३ प्रतिशत हिस्सा सहायक हवल्दार र हवल्दारको २५ प्रतिशत हिस्सा वरिष्ठ हवल्दार बन्ने बताए । यसैगरी सईको पनि २५ प्रतिशत हिस्सा वरिष्ठ सई बन्नेछन् ।
‘हाल कायम भएका दरबन्दीबाट थप भएका दर्जाको पदपूर्ति हुनेछ’, उनले भने । मन्त्रिपरिषदबाट स्वीकृत भएर आएलगत्तै बढुवा प्रकृया अगाडि बढ्ने जनाइएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार जवानबाट १५ हजार ६ जना सहायक हवल्दार र हवल्दारबाट ३ हजार ७ सय ४७ जना वरिष्ठ हवल्दार बन्नेछन् । यस्तै सईबाट एक हजार ७४ जना वरिष्ठ सई बन्नेछन् ।
‘अहिले हामीले प्रस्ताव गरेअनुसार जसले पहिला जागिर खाएको थियो वा बढुवा भएको थियो उसैले थप भएका दर्जामा अवसर पाउनेछ’, केसीले भने ।
यो व्यवस्था सधैँभरिका लागि हो या तत्कालको बाधा फुकाउन मात्र हो भन्ने अहिलेको व्यवस्थाअनुसार कार्य सम्पादन मूल्यांकन (४० अंक), ज्येष्ठता (२० अंक), भौगोलिक क्षेत्रमा काम गरेको अनुभव (८ अंक), शैक्षिक योग्यता (१० अंक), तालिम (७.५ अंक), चुनौती वा विशेष जिम्मेवारी (५ अंक), विभूषण (२ अंक) र बढुवा समिति (७.५ अंक) का आधारमा कुल एक सय अंकमा सबैभन्दा बढी अंक ल्याउनेमध्येबाट बढुवा गर्ने व्यवस्था रहेको छ । केही समयअघि विभूषणबापतको २ अंक कटाएर त्यसलाई ज्येष्ठताबापतमा मिसाइएको छ ।

Leave a Reply