जनकपुरधाम । मधेस प्रदेशको नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झालाई महामुर्खको उपाधि प्रदान गरिएको छ ।
होलीको अवसरमा जनकपुरस्थित जानकी मन्दिरमा मिथिला नाट्य कला परिषद् (मिनाप) द्धारा आयोजित महामुर्ख सम्मेलनबाट डा. झालाई महामुर्खको उपाधि दिइएको हो ।
महामुर्ख घोषणा गर्दै डा. झालाई आयोजकले अनौंठो खालको पाक र फलफूल र तकारी मिश्रित माला लगाएको थियो । उनलाई मिथिला चित्रकला र प्रशस्ति पत्र समेत प्रदान गरिएको छ । जनकपुर क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई व्यंग्यात्मक रुपमा महामुर्ख घोषणा गरी सम्मानित गर्ने गरेको मिनापले जनाएको छ ।
यस्तै नेकपा एकिकृत समाजवादीकी प्रदेश सांसद मञ्जु यादवलाई अदल बदली, नेपाली कांग्रेसका नगर उपसभापति राकेश विक्रम साहलाई टिटही, मिथिला चित्रकार मनिषा साहलाई गन्हकी, मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डललाई हराशंख र नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झालाई दिलतोरिया उपाधि प्रदान गरिएको छ ।
यस्तै अधिवक्ता सुदिप कोइरालालाई गोबर गणेश, गिद्धाबेलापट्टी विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई डपोर शंख, वरिष्ठ कलाकार रामरेखा पण्डितलाई बज्रकिट, जनकपुरधाममा मिथिला चित्रकलालाई शुरुवात गरेकी मिथिलेश्वरी कर्णलाई लालबुझकड, व्यवसायी अभिशेष चौधरीलाई बोतलानन्द र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायलाई बैशाखनन्दनको उपाधि दिइएको छ ।
०७६ मा मधेससका मुख्यमन्त्री लालबाबु राउत र ०७७ मा महजोडी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यलाई महामुर्खको उपाधि प्रदान गरिएको थियो ।
०६१ सालदेखि महामुर्ख सम्मेलन गर्दै आएको मिनापले बरिष्ट साहित्यकार डा. राजेन्द्र विमल, बरिष्ट पत्रकार बृजकुमार यादव, काँग्रेस नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव लगायतलाई समेत महामुर्ख घोषणा गरिसकेको छ ।

Leave a Reply