काठमाडौं । एक नाबालिगमाथि बलात्कार गरेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय पूर्वी नवलपरासीले बिहीबार जिल्ला अदालतमा अभिनेता पल शाहविरुद्ध अभियोगपत्र दर्ता गरायो । यससँगै शाहमाथि हुन सक्ने सम्भावित सजायबारे आँकलन सुरू भएको छ ।
नेपालको कानूनले जबर्जस्ती करणीको घटनामा कठोर सजायको व्यवस्था गरेको छ । त्यसैले यदि अभियोग प्रमाणित भएको खण्डमा पलले घटना हुँदा ‘पीडित’ भनिएकी बालिकाको उमेर १६ वर्षभन्दा कम देखिएको अभियोग पत्रमा उल्लेख छ । १६ वर्ष पुगिसकेको भए १० देखि १२ वर्षको कैद सजाय हुन सक्थ्यो । तर, घटना हुँदाका बखत १६ वर्षभन्दा कम भएको प्रमाणित भएमा कैद सजाय झन् बढ्ने देखिन्छ ।
एक म्युजिक भिडिओको सुटिङ गर्न जाँदा शाहले नाबालिगलाई २०७७ चैत ७ गते राति गैँडाकोट रिसोर्टमा बलात्कार गरेको आरोप अभियोगपत्रमा लगाइएको छ । नाबालिगको बयान, पलको बयान र एक अडिओ सामग्रीलाई प्रमाणका रूपमा पेस गरिएको छ । बयानका लागि बोलाइएका अन्य कसैले पनि घटना भएको भनिएको दिन पल मादक पदार्थ सेवन गरी आफ्नो कोठामा सुत्न गएकोबाहेक अन्य विवरण खुलाउन सकेका छैनन् ।
रिसोर्ट सञ्चालिका सुलोचना कुँवर जिसी, वेटर भोजराज वस्ती, क्यामेराम्यान अर्जुनप्रसाद तिवारी, गायकद्वय दुर्गेश थापा र सम्राट चौलागाई, संगितकर्मी भीमबहादुर विष्ट र योगेश विकले पल र नाबालिग एउटै रिसोर्टमा बसेको देखेको बताए पनि एउटै कोठामा बसेको बयान दिएका छैनन् ।
नाबालिगले दिएको बयानअनुसार मिति २०७७/१२/६ गते खेम सेञ्चुरीले सिर्जना गरेको सुर्ती माड्दै माड्दै’ बोलको गीत सुटिङका लागि उनी र प्रतिवादी पूर्णविक्रम शाह सुटिङ युनिटसँगै आएका थिए । उक्त दिन सुटिङ नभएकाले उनीहरू थारु भिलेज भन्ने स्थान बसे । अर्को दिन चैत ७ गते उक्त स्थानमा केही भाग सुटिङ गरी पुनः सम्पूर्ण कलाकारसहितको टिम गैडाकोट रिसोर्टमा आएर बेलुकाको खाना खाएका थिए ।
बयानमा भनिएको छ, ‘सुत्ने बेलामा सुटिङ युनिटले मलाई गैँडाकोट रिसोर्टको १०२ नम्बर कोठा बुकिङ गरिदिएकाले म उक्त कोठामा आराम गरिरहेको थिएँ । प्रतिवादीलगायत सुटिङ युनिटका अन्य व्यक्तिहरू बाहिर खाजा खाँदै रमाइरहेका थिए । राति अन्दाजी ११ बजेको समयमा प्रतिवादि मेरो फेसबुक म्यासेन्जरमा म्यासेज गरी म आउँछु ढोका खुल्ला राख्नु भनेको हुँदा मैले उक्त म्यासेजको कुनै प्रतिवाद नगरी बसिरहेको अवस्थामा म सुतेको कोठा बाहिर ढोका ढक-ढक गरेको आवाज सुनी मैले ढोका खोल्दा प्रतिवादी रहेछन् ।’
प्रतिवादीले मलाई पहिलादेखि नै मायाको नाटक गरी यौन शोषण गर्दै आइरहेकामा आफूहरूबीच भएको सम्बन्धका बारेमा कसैलाई नभन्न भनेको नाबालिगकको दाबी छ । पीडित भनिएकी नाबालिग र पल दुवैको मोबाइल फरेन्सिक परिक्षणका लागि पठाइएकाले त्यसभित्र रहेका प्रमाणहरू आउन बाँकी रहेको अभियोग पत्रमा उल्लेख छ ।
यस्तो छ शाहको बयान
अभियोगपत्रमा उल्लेख भएअनुसार प्रतिवादी पूर्णविक्रम शाहले दिएको बयान यस्तो छः
म विगत १० वर्षदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरी मोडल तथा नायकको भूमिकामा काम गर्दै आइरहेको छु । यसैक्रममा २०७७ साल चैत महिनाको पहिलो हप्ता काजिश श्रेष्ठ, शान थापा, शिव विकले निर्देशन गरेको सुर्ती माड्दै माड्दै, चरीले, तामा पित्तल, छड्के सलाम भन्ने गीतको म्युजिक भिडिओ सुटिङको लागि सम्झौता भएको थियो ।
२०७७ चैत ४ गते काठमाडौंबाट नवलपरासीको कावासोती आइ लोकेशन (भिडिओ सुटिङ गर्ने ठाउँ) हेरी बसेको हो । अर्को दिन चैत ५ गते ‘चरी’ भन्ने गीतको म्युजिक भिडिओको सुटिङ गरिसकेपश्चात हाल पीडित भनिएकी गायिका सुर्ती माड्दा माड्दै गीतको म्युजिक भिडिओ सुटिङको लागि आएकी थिइन् । उनी थारु कल्चर भन्ने ठाँउमा अरु केटी मोडलसँग बास बसेकी थिइन् ।
अर्को दिन ६ गते सुटिङ गर्दै जाँदा नभ्याइएकाले सुटिङ युनिट सबैजना चितवन जिल्लाको सौराहा भन्ने ठाउँमा गई बसेको हो । ७ गते बिहान सौराहामा ‘तामा पित्तल’ भन्ने गीतको म्युजिक भिडिओ सुटिङ गरी बेलुका खाना खाइ राति १२:१५ बजे सुटिङको टिममध्ये क्यामराम्यान, निर्देशक, म र गायिका गैँडाकोट रिसोर्टमा आयौं । त्यहाँ म समेतले रक्सी सेवन गरेको हो । उक्त समयमा पीडित कोठामा सुतेकी थिइन् । पछि सुटिङ युनिट आइपुगेपछि हामी आ-आफ्नो कोठामा सुत्न गएका हौं ।
अर्को दिन ८ गते ‘छड्के सलाम’ गीतको सुटिङका लागी सुटिङस्थल जाने क्रममा होटलका साहूले पीडित भनिएकी गायिका राति आफ्नो छोरीसँग सुतेको बताएका थिए । त्यसपछि हामी नारायणी पुलमा गइ सुटिङ गरेका हौं । सोही दिन अन्दाजी रातको साढे १० बजेको समयमा सुटिङ युनिटसहित गैँडाकोट रिसोर्टमा आइ बसेको हो ।
म उक्त रिसोर्टको कोठा नम्बर १०१ मा बसेको थिएँ भने पीडित कोठा नम्बर १०२ मा बसेकी थिइन् । म र पीडित सुत्ने कोठा सँगसँगै भएको कारणले म रातको साँढे ११ बजेतिर पीडितको कोठामा जाँदा हिजो उनलाई एक्लै सुत्दा डर लागेको र होटल सञ्चालकको छोरीसँग सुतेको कुरा मैले थाहा पाएकोले तिमीलाई हिजोको जस्तो डर त लागेको छैन ? ल राम्रोसँग सुत् भनी म आफ्नो कोठामा गइ सुतेको हो ।
अर्को दिन ९ गते विहान उक्त रिसोर्टमा सुर्ति माड्दा माड्दै गीतको केही अंश सुटिङ्ग गरी नारायणी पुल नदी किनारामा ‘छड्के सलाम’ गीतको भिडिओ अञ्जली अधिकारी, सुधीर श्रेष्ठ र म समेतका कलाकारले सुटिङ सकेर काठमाडौं फर्किएको हो ।
काठमाडौं फर्किएपछि म र पीडितले भिडिओ प्रोमोशनको लागि अन्तर्वार्ता दिने गरेका थियौं । हामीहरूबीच राम्रै म्यासेजहरू आदान-प्रदान भइरहेको थियो । २०७८ सालको वैशाख महिनामा तनहुँमा म्युजिक भिडिओहरूको सुटिङ सकेपछि त्यसको करिब एक, दुई महिनापछि गायिकाले मलाई फोन गरी तपाईंको र मेरो बारेमा बाहिर स्टुडियोहरूमा कुरा काटिरहेका छन् भनेकी थिइन् । त्यसपछि हामी बीचमा विवाद सिर्जना हुँदै जाँदा गज्जब टिभीका सञ्चालक सरोज वली, दुर्गेश भन्ने दुर्गाबहादुर थापा, योगेश काजीसँग यो विवादको विषयमा सल्लाह लिएको हो ।
सोही विवादको विषयमा २०७८ साल असार महिनामा मध्यबानेश्वरस्थित होटलमा निजहरू तथा म र पीडितसमेत बसी छलफल गर्दा आजै गायिकासँग विवाह गर्ने भनि जोड गरेको हुँदा तीन बर्षसम्म हामिसँगै मिली काम गर्ने र गायिका २० बर्ष पुगेपछि विवाह गर्ने भनी हामीबीच मौखिक सहमती भएको हो । पुनः गायिकाले मलाईं तपाईको ग्रलफ्रेन्ड वा श्रीमतीको रूपमा चिनाउनु पर्यो भनी बारम्बार म्यासेज गर्न थालेपछि मैले तिमी आफ्नो तरिकाले गर भनि वादविवाद भएको थियो ।
त्यसको केही समयपछि निज पीडितको तर्फबाट जिल्ला प्रहरी कार्यालय तनहुँमा मउपर उजुरी परेको हुँदा म मिति २०७८ फागुन १५ गते प्रहरी कार्यालयमा उपस्थित भएकोमा इलाका प्रहरी कार्यालय गैँडाकोटमा समेत मविरुद्द उजुरी परेकोले मलाई मिति फागुन २३ गते उक्त कार्यालयमा ल्याइएको हो ।
पलविरुद्धका बलिया प्रमाण
सरकारी वकिल कार्यालयका अनुसार पलले मादक पदार्थ सेवन गरी चैत ८ गते राती पिडित भनिएकी नाबालिग सुतिरहेको कोठामा गएको स्वीकारे पनि शारीरिक सम्वन्धको आरोप आरोप अस्वीकार गरेका छन् । तर, उनले नाबालिगसँग सम्वन्ध राखेको बलिया आधार-प्रमाणहरू रहेकाले पलको दाबी कमजोर देखिएको छ ।
अभियोगपत्रमा पेस गरिएको सबैभन्दा बलियो प्रमाण भनेको अडिओ नै हो । अडिओमा पलले गायिकासँग शारीरिक सम्बन्ध रहेको स्पष्ट आशय व्यक्त गरेका छन् । त्यो जबर्जस्ती थियो वा थिएन भन्नेले अर्थ राख्दैन । गायिका नाबालिग भएकाले उनीसँग शारीरिक सम्वन्ध राखेको पुष्टि हुनु नै पलमाथि सजायका लागि काफी हुन्छ ।
अडिओमा पलले भनेका छन् ‘…यति ठूलो डिसिजन लिनुपर्छ नै भन्ने छैन किनभने उ प्रेगनेन्ट भएको भए…समस्या भएको भए वा बच्चा भएको भए कुरा गर्न मिल्थ्यो…बिहे गर्ने, स्वीकार्ने की नस्वीकार्ने… अब गर्लफ्रेन्ड, ब्वाइफ्रेन्डमा… अन्डरस्ट्यान्डिङमा भयो होला…हामी सँगै हुँदा केही भयो होला… तर यति कुरामा एकदम राम्रो सेफ तरिकाले… यति अन्डरस्ट्यान्डिङ हिसाबमा हुँदा पनि लास्टमा स्वीकार्नै पर्छ ? विवाह गर्नै पर्छ ?’
बयानमा पलले उक्त अडिओमा सुनिएको स्वीकार गरे पनि केही अंश सम्पादन गरिएको आशंका व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘म र पीडितबीच प्रेम सम्बन्ध थिएन । बाहिर आएको अडिओ क्लिप मिति २०७८ असार महिनामा हामीबीच भएको छलफलको अडिओ क्लिप हो । उक्त अडिओमा भएको आवाज मेरो हो । तर, त्यसमा भनिएको कुनै आवाज मेरो नभएजस्तो लाग्छ । उक्त अडिओ क्लिपमा भएको शब्द मैले प्रतिवाद गर्दा उच्चारण भएको हो । मलाई पीडितले स्वीकार गर्नुपर्छ भनेको हुँदा मैले केही ठोस प्रमाण भएमा देखाउनुस् भन्दै अरु प्रेमी-प्रेमिकाको उदाहरणसहित स्पष्ट पारेको हो ।’
यदि शारीरिक सम्बन्ध भएको थिएन र प्रेम सम्बन्धनसमेत थिएन भने उनले गायिकासँग तीन वर्षपछि विवाह गर्ने मौखिक सहमतिका लागि किन वाध्य भए त भन्ने प्रश्न उठ्ने ठाउँ शाह स्वयम्ले छोडेका छन् ।
प्रहरी तथा सरकारी वकिलसँग भएको बयानलाई अदालतले दुरुस्तै स्वीकार भने गर्दैन । अन्य प्रमाणले सघाउ पुर्याउने भएमा मात्रै त्यस्तो बयानलाई अदालतले हेर्छ । नत्र भने अदालतसमक्ष हुने बयानलाई मात्र प्रमाणका रूपमा हेरिन्छ । थुनछेकको बहसअघि अब अदालतले शाहसँग बकपत्र लिने छ । फैसलाअघि पीडित र अन्य साक्षीहरूसँग पनि अदालतले बकपत्र लिन्छ ।
अभियोग पत्रमा घटना भएको दिनबारे अन्योल देखिएको छ । नाबालिगले चैत ७ गते घटना भएको बताएपनि पलले भने चैत ८ गते राति मदिरा सेवन गरेर आफू उनको कोठामा पुगेको उल्लेख गरेका छन् । तर, उनले आफ्नो बयानमा उल्लेख गरेका होटल मालिककी छोरी भनिएकी बालिकाले चैत ७ गते राती १२ बजे गायिका आफूसँग आएर सुतेको तर कतिबेला उठेर गईन् भन्ने चाल नपाएको बताएको अभियोग पत्रमा उल्लेख छ । गैँडाकोट रिसोर्टको इन्ट्री बुकको प्रतिलिपिमा चैत ७ र ८ गते ६ वटा कोठा बुक भएको पाइएको प्रहरी प्रतिवेदनमा जनाइएको छ ।
मुलुकी अपराध संहिताअनुसार १४ वर्षभन्दा माथि र १६ वर्षभन्दा मुनिको नाबालिगसँग शारीरिक सम्वन्ध राख्ने पुरुषलाई १२ देखि १४ वर्षको जेल सजाय हुन सक्छ । घटना हुँदा नाबालिगकको उमेर १६ वर्षभन्दा कम भएको र शारीरिक सम्बन्ध रहेको पुष्टि भयो भने पलमाथि १४ वर्षसम्मको जेल सजाय हुन सक्ने सम्भावना टड्कारो छ ।

Leave a Reply