महिला हिंसा विरुद्ध लड्न काठमाडौंमा दक्षिण एसियाली सम्मेलन

काठमाडौं । महिला हिंसा विरुद्धको आवाजलाई विश्वव्यापी रूपमा उठाउँदै हिंसा अन्त्यका लागि ऐक्यवद्धता जनाउन दुई दिने दक्षिण एसियाली सम्मेलन हुने भएको छ ।

काठमाडौंमा मंगलबारदेखि सुरु हुने सम्मेलनमा महिला हिंसाका विविध पक्षलाई उजागर गर्दै हिंसापीडितको न्यायमा पहुँच कसरी पुर्‍याउन सकिन्छ भन्नेमा छलफल केन्द्रीत हुनेछ ।

सम्मेलनमा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बालिका, किशोरी, अपांगता भएका महिला, यौनिक अल्पसंख्यक, सिमान्तकृतलगायतका समूदायका महिला बढी हिंसा प्रभावित हुने गरेको बताइन् ।

अध्यक्ष पराजुलीले विगतको तुलनामा अहिले विश्वव्यापी रुपमा हिंसा बढ्नुका साथै तीनको स्वरुप पनि परिवर्तन भइरहेका बताउँदै अहिले डिजिटल प्रविधिको हिंसा, लिभिङ टुगेदर, मनोरन्जन क्षेत्रमा काम गर्नेको पीडालगायतका हिंसाको सम्बोधन हुन नसकेको बताईन ।

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लीली थापाले महिला हिंसा भनेको मानव अधिकारको हनन् भएकाले यस्ता हिंसालाई अन्तराष्ट्रिय रुपमै कसरी सम्बोधन र न्युनिकरण गर्न सकिन्छ भन्ने विषय सम्मेलनमा उठाइने बताइन् ।

सम्मेलनले महिला हिंसा अन्त्यका लागि सिडले गर्न नसकेको व्यवस्थालाई एक महिला महासन्धिमार्फत सम्बोधन गर्नका लागि सम्बन्धित देशका सरकारलाई घचघचाउने काम पनि सम्मलेनमार्फत गरिने महिला गैरसरकारी संस्था महासंघ (डब्लुएनएफ) की अध्यक्ष शशी अधिकारले बताइन् । सम्मेलनमा दक्षिण एसिया, अमेरिकालगायतबाट महिला अधिकारकर्मी, लेखक, मानवअधिकारकर्मी सहभागि हुनेछन् ।

गिल्ड अफ सर्भिस ट्रस्टी, भारतीय महिला अधिकारकर्मी मिरा खन्नाले पृत्तिसत्तात्मक परम्परा हाम्रो समाजमा जहितही भएकाले पनि महिला हिंसा बढेको बताउँदै महिला हिंसा भनेको महिलाप्रतिको हिंसा मात्र नभई मानव अधिकारको उल्लंघन भएकाले मानव अधिकारको उल्लंघन गरेर कुनै पनि परिवार, समाज र देश अगाडि बढ्न नसक्ने उल्लेख गरिन् ।

पत्रकार सम्मेलनमा एभ्री वमन संस्थाकी सीईओ लिजा स्यानोन, लैंगिक विशेषज्ञ एवं औरत फाउन्डेसनकी बोर्ड अफ गर्भनर सदस्य डा. अलिया खान, श्रीलंकाकी शान्ति अधिकारकर्मी एवं द्धन्द्ध प्रभावित महिला संघकी संस्थापक एवं अध्यक्ष विशाका धर्मदास, पूर्व सिड कमिटि सदस्य र बंगलादेशकी हेल्प एज ट्रस्टी फेरडोजअरा बेगमलगायतले महिला हिंसाका विरुद्ध ऐक्यवद्ध भएर आवाज उठाउन सम्मेलन सहयोगी हुने बताए ।

राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग, महिला गैरसरकारी संस्था महासंघ (डब्लुएनएफ) र एभ्री वुमन नामक संस्थाको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *