तनहुँ प्रहरीअगाडि हुलहुज्जत गरी अनुसन्धान प्रभावित पार्न खोजेकोमा दुई आयोगको आपत्ति

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगले पल शाह प्रकरण र पछिल्लो घटनाक्रममा आफ्नो ध्यानाकर्षण भएको भन्दै धारणा सार्वजनिक गरेका छन् । दुवैले अनुसन्धान प्रक्रिया प्रभावित पार्ने गरी भइरहेका गतिविधिप्रति ध्यानाकर्षण जनाएका छन् ।

मानव अधिकार आयोगले फौजदारी न्यायको सिद्धान्तअनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र तथा भयरहित वातावरणमा अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ ।

अनुसन्धान प्रक्रिया चलिरहँदा आरोपका पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्नाले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्ने भन्दै मानव अधिकार आयोगले प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आरोपका पक्ष र विपक्षमा भैरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाउँदै स्वतन्त्र अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गरेको छ ।

त्यस्तै राष्ट्रिय महिला आयोगले घटनाको सत्यतथ्य छानबिन गरेर पीडितलाई न्याय दिलाउनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । जिम्मेवार निकायबाट अनुसन्धान भइरहेको अवस्थामा पीडितमाथि मानसिक हिंसा र दबाब सिर्जना गर्ने कार्य भइरहेको भन्दै यस्ता कार्य कानूनविपरीत हुने प्रष्ट्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाहिर प्रतिवादीको तर्फबाट हुल हुज्जत गरी स्वच्छ तथा निष्पक्ष अनुसन्धानलाई नै प्रभावित गर्ने, राष्ट्रको फौजदारी कानूनले अपराधीकरण गरेको विषयमा प्रस्तुत मुद्दाको पीडित नाबालिकाको चरित्रसँग दाँजेर अनावश्यक बहस चलाउने, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा पीडितलाई झनै पीडा दिने कार्य भइरहेकोमा महिला आयोगले आपत्ति जनाएको छ ।

दुई आयोगद्वारा जारी छुट्टाछुट्टै विज्ञप्ति

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *