उदयपुरमा बर्डफ्लु भेटियोः १६ सय कुखुरा मरे, पाँच हजार नष्ट गरिँदै

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकामा बर्डफ्लु भेटिएको छ । उदयपुरमा पहिलोपटक बर्डफ्लु भित्रिएको हो । ताप्ली गाउँपालिका– ३ इनामेका किसानले पालेको लोकल कुखुरा, परेवा, टर्की र जंगली पशुपन्छीमा संक्रमण पाइएको हो । १ हजार ६ सय भन्दा बढी कुखुरा मरेका छन् ।

केही दिनअघि स्थानीय होमबहादुर मगर, चक्रबहादुर मगर, बमबहादुर तामाङलगायतले पालेका कुखुरा धमाधम मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लु देखिएको भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरका प्रमुख डा. अजय साहले जानकारी दिए ।

त्यस क्षेत्रमा १ हजार ६२५ पन्छी मरेको साहले बताए । कुखुरा मरेका जानकारी पाए लगत्तै बर्डफ्लुको आशंकामा स्थानीयको लिर्यस कुखुरा २० वटा, जंगली पन्छी ५ वटा र परेवा ३ वटा नमूना परीक्षणका लागि विराटनगर पठाइएको थियो ।

विराटनगरको प्रारम्भिक परीक्षणपछि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको परीक्षणमा बर्डफ्लु पुष्टि भएको साहले बताए । भारतीय बजारबाट कटारी बजार हुँदै मार्केटिङका लागि लगिएका लिर्यस र बोइलर कुखुराबाट बर्डफ्लु भित्रिएको स्थानीयबासीको आशंका रहेको छ ।

भारतीय बजारबाट कटारी बजार हुँदै मार्केटिङका १५ दिन अघि थारो लिर्यस र बोइलर कुखुरा बिक्रीका लागि लगिएको स्थानीयबासीले जानकारी दिएको साहले बताए ।

पाँच हजार पन्छी नष्ट गरिने साहले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *