उत्कृष्ट बलिङसँगै ओमानमाथि नेपालको शानदार जित

काठमाडौं । ओमानमा जारी टि–२० विश्वकप क्वालिफायरमा नेपालले सुखद सुरुवात गरेको छ । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आफ्नो पहिलो म्याचमा आयोजक राष्ट्रमाथि शानदार जित हात पार्यो ।

नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा ओमान ७८ रनमै अलआउट भयो । नेपालले ओमानमाथि ३९ रनको जित दर्ता गर्दा सबै  बलरहरुले उत्कृष्ट प्रदर्शन गरे ।

उनीहरुले म्याचभरि ‌ओमानका ब्याट्सम्यानलाई बाँधेर राखेका थिए । नेपालका लागि कमलसिंह ऐरीले ३ विकेट, कप्तान सन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए भने अविनाश बोहोरा र जितेन्द्र मुखियाले १–१ विकेट लिए ।

टस हारेर कठिन पिचमा पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो । १२ रनको स्थितिमा दुवै ओपनर पेभिलियन फर्केका थिए । कुशल भुर्तेलले ५ रन र आसिफ शेखले ४ रन मात्रै बनाए ।

नेपालका लागि आरिफ शेखले पिचमा संघर्ष गर्दै सर्वाधिक ३८ रन बनाए । उनले ३७ बलमा २ चौका प्रहार गरेका थिए । अन्तिममा कप्तान सन्दिप लामिछानेको ‘सर्ट केमियो’ खेल्दै ७ बलमा १६ रन बनाएपछि नेपालको स्कोर अलिकति उकासिएको थियो । सन्दिपले १ चौका र एक छक्का हिर्काए ।

नेपालका सर्वाधिक भरोसायोग्य ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी आज चल्न सकेनन् । उनी १८ बल खेल्दै ११ रनमा आउट भए । यस्तै, ज्ञानेन्द्र मल्लले १५ बलमा १५ रन र लोकेश बमले १७ बलमा एक छक्कासहित १६ रन बनाए । ओमानका लागि खावर अलिले सर्वाधिक ३ विकेट लिएका थिए ।

Comments

One response to “उत्कृष्ट बलिङसँगै ओमानमाथि नेपालको शानदार जित”

  1. Bishnu kunwar Avatar
    Bishnu kunwar

    Mo voko voyo targete dherei hunthiyo hamalai t20 maa test match hoina dhamaakedar khelna porxa Mo voko voye 145 vonada dherei target hunthiyo.???? Plz chace dinu hunsha vonne somvauna xa..???

Leave a Reply

Your email address will not be published. Required fields are marked *