राष्ट्रपति र पूर्वप्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको सन्देशसहित पूर्वमन्त्री श्रेष्ठले भेटे शताब्दी पुरुष

ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यलाभको कामना गरेका छन् ।

पूर्वमन्त्री एवं एमाले नेता काठमाडौं क्षेत्र नम्बर-९ का सांसद कृष्णगोपाल श्रेष्ठले जोशी उपचाररत् किष्ट अस्पताल पुगेर सन्देश सुनाएका छन् ।
जोशीसँग भेटको क्रममा श्रेष्ठले भने, ‘राष्ट्रपतिज्यू र पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्षले संस्कृतिविद् जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र मेरो तर्फबाट समेत उहाँको अवस्थाबारे यथार्थ जानकारी लिन अस्पताल आएको हुँ ।’

फोक्सोमा पानी जमेको कारण केही समस्या देखिएको र अस्पतालको वरिष्ठ चिकित्सकको टीमले फोक्सोबाट पानी निकालिसकेको कारण अब स्वाथ्यमा समस्या नदेखिएको चिकित्सकलाई उद्धृत गर्दै श्रेष्ठले बताए ।

‘उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । उहाँ अबको केही दिनमा निवासमै फर्कने बताउनुभएको छ’, पूर्वमन्त्री श्रेष्ठले भने ।

मंगलबार छातीमा समस्या देखिएपछि जोशीलाई उपचारका लागि पाटन बखुम्बहालस्थित निवासबाट अस्पताल लगिएको थियो । अस्पतालले उनको नि:शुल्क उपचार गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *