कल सेन्टर’मा गुनासो आएपछि ‘मार्सल टोली’को म्यानपावरमाथी ‘स्टिङ अपरेसन’

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आइतवारदेखि संचालन भएको ‘कल सेन्टर’ मा एक म्यानपावर कम्पनीले ठगी गरिरहेको सूचना आएपछि ‘मार्सल टोली’ले ‘स्टिङ अपरेसन’ गरेको छ । काठमाडौंको सिनामंगलस्थित मिनवा म्यानपावरले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग सरकारले तोकेभन्दा धेरै रकम लिइ ठगी गरिरहेको सूचना ‘कल सेन्टर’मा आएपछि मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ले संचालक हेमराज राईसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

वैदेशिक रोजगारीमा कतार जाने तयारीमा रहेका अलि मुस्तफासँग एक लाख २० हजार रुपैयाँ लिंदै गरेको अवस्थामा म्यानपावर संचालक राई, म्यानपावर कम्पनीका कर्मचारी साहरा थापा तथा एजेन्ट महोम्मद इसाक मियाँलाई रकमसहित नियन्त्रणमा लिइ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा लगिएको ‘मार्सल टोली’का संयोजक बिष्णु लामिछानेले जानकारी दिए । सरकारले तोकेभन्दा धेरै रकम लिने म्यानपावरका बारेमा सूचना पाए तत्काल ‘स्टिङ अपरेसन’ गरिने लामिछानेले बताए ।

आइतबार ‘कल सेन्टर’ सुरुवात गर्ने क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग पहिलो फोनमा गुनासोकर्ताले म्यानपावरले सरकारले तोकेभन्दा बढी पैसा असुली गर्ने गरेको बताएका थिए । मन्त्री श्रेष्ठले धेरै पैसा लिने म्यानपावरका बारेमा कल सेन्टरमा जानकारी गराउन आग्रह गरेका थिए । ‘कल सेन्टर’ उद्घाटन गर्ने क्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको खोजीमा रहेका, जाने क्रममा रहेका र विदेशमा अलपत्र पार्ने म्यानपावर कम्पनीमा अनुगमन तीव्र पारिने बताएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *