पदावधि नथपिएपछि प्रधानसेनापतिसँग असन्तुष्ट बनेका उपरथी कार्की भोलिबाट विदामा

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले पदावधि थपका लागि सिफारिस नगरेको भन्दै असन्तुष्टी जनाएका उपरथी अनन्त कार्की सोमबारदेखि विदामा बस्ने भएका छन् ।

पदावधि नथपिएपछि कार्कीले माघ २५ गतेबाट अनिवार्य अवकाश पाउँदैछन् । कार्कीले उपरथीको तीन वर्षे पदावधिका कारण अनिवार्य अवकाश पाउन लागेका हुन्। सैनिक प्रवक्ता नारायण सिलवालले कार्की अवकाश पाउनुभन्दा १५ दिनअघि देखि विदा बस्न लागेको बताए ।

‘उहाँ भोलीदेखि १५ दिन बिदामा बस्दै हुनुहुन्छ’, सहायक रथी सिलवालले भने । प्रधान सेनापति शर्माको सिफारिसमा सरकारले दुई जना उपरथीको भने दुई वर्ष पदावधि थप गरेको थियो।
प्रधान सेनापती शर्माले आफ्नो नाम सिफारिस नगरेको भन्दै कार्कीले प्रधानमन्त्री कार्यालयमा लिखित उजुरीसमेत दिएका थिए। सैनिक मुख्यालयले कार्कीको उक्त व्यवहारलाई लिएर कारबाही गर्न सक्ने चर्चा चलिरहेपनि प्रवक्ता सिलवालले भने आफुलाई त्यसबारे केही जानकारी नभएको बताए।
मन्त्रिपरिषद्को पुस ३० गतेको बैठकले पदावधि सकिन लागेका उपरथीद्धय सिताराम‍ खड्का र ताराध्वज पाण्डेको समय भने दुई वर्ष थप गर्ने निर्णय गरेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *