सन् २०२२-२०२३ मा विश्वको आर्थिक वृद्धिदर सुस्त हुने : कोभिड र ऋण संकट मुख्य चुनौति

काठमाडौं । विश्व बैंकले सन् २०२२/२०२३ मा विश्वको आर्थिक वृद्धिदर सुस्त हुने प्रक्षेपण गरेको छ ।

बैंकले मंगलबार सार्वजनिक गरेको नयाँ प्रक्षेपणमा बढ्दो ऋण, आयमा असमानता र कोभिड-१९ महामारीले चीन, अमेरिका र युरोपको आर्थिक वृद्धि सुस्त हुने र यसले विश्वलाई प्रभाव पार्ने जनाइएको छ ।

विश्वको आर्थिक वृद्धिदर सन् २०२१ मा ५.५ प्रतिशत रहेकोमा सन् २०२२ मा ४.१ प्रतिशत र सन् २०२३ मा ३.२ प्रतिशत रहने अनुमान विश्व बैंकले जनाएको छ ।

सन् २०२१ देखि सन् २०२३ सम्म गरिएको यो प्रक्षेपण विश्व बैंकले यसअघि गरेको प्रक्षेपणभन्दा ०.२ प्रतिशतले कम हो । जनवरी २५ मा विश्व मुद्रा कोषले पनि विश्व आर्थिक वृद्धिदरमा गिरावट आएको बताएको थियो ।

‘आर्थिक वृद्धिदरमा उल्लेखनीयरुपमा सुस्तता हुने देखिएको छ’ विश्व बैंकका निर्देशक आयन कोसेले भने, ‘आर्थिक सहायताका नीतिहरु लागू भएको छैन जसले गर्दा बहुआायमिक चुनौति थपिएका छन् ।’

निकै संक्रामक मानिएको कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन अझै फैलिए प्रक्षेपण गरेभन्दा विश्वको आर्थिक वृद्धिदरमा ०.७ प्रतिशतको गिरावट आउन सक्ने अनुमान निर्देश कोसेले गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *