खोप अभियानलाई तीव्रता दिन र अस्पतालमा अक्सिजनको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन (भिडिओ)

काठमाडौं । शुक्रबार २४ जनामा ओमिक्रोन र झन्डै एकहजार जनामा कोरोना संक्रमण पुष्टि भएपछि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र समन्वय समिति (सीसीएमसी)को बैठक बसेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा ओमिक्रोन फैलिएपछि कोरोनाको जोखिमको अवस्थाबारे ब्रिफिङ गरिएको थियो । कोरोनाको तेस्रो लहर रोकथामबारेको तयारी र मापदण्डबारे समेत प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो ।

बैठकपछि नेपाल प्रेससँग कुरा गर्दै सीसीएमसी प्रवक्ता सुनिता नेपालले ओमिक्रोन फैलिएको र संक्रमण उकालो लागेको बारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको बताइन् ।

बैठकमा प्रधानमन्त्री देउवाले कोरोनाबारे जनचेतना जगाउने कामलाई अघि बढाउन, खोप अभियानलाई तीव्रता दिन, अत्यावश्यक व्यक्तिको लागि चाँडै बुस्टर डोजको व्यवस्था गर्न, अस्पतालमा अक्सिजन लगायतको व्यवस्था गर्न र सीमा क्षेत्रमा होल्डिङ सेन्टर निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएका थिए ।

बैठकमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले नयाँ भेरिएन्टको फैलने क्रम, आगामी रणनीति र तयारीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । ‘आजको बैठकमा पछिल्लो स्थितीबारे छलफल भयो तर, निर्णय भएको छैन’ प्रवक्ता नेपालले भनिन्, ‘आगामी आइतबार वा सोमबार पुनः सीसीएमसी बैठक बसेर मन्त्रिपरिषद्लाई सिफारिस गर्नेछौं ।’

बैठकमा स्थानीय तहमा जोखिमको अवस्था हेरेर स्मार्ट लकडाउनको कार्यविधिअनुसार अघि बढ्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई निर्देशन गर्ने निर्णय भएको छ । केन्द्रको निर्णयअनुसार अब स्थानीय डीसीसीएमसीले आफ्नो ठाउँमा जोखिमको मूल्यांकन गरेर आवश्यक निर्णय लिन सक्नेछन् । ‘सुरुमा कर्मचारी कम राखेर काम गराउने, विद्यालय र भीडभाड हुने ठाउँलाई रोक्नेजस्ता उपायहरु हुनसक्छन् । त्यसपछि पनि संक्रमण वृद्धि भए निषेधाज्ञामै जानुपर्ने हुनसक्छ’ प्रवक्ता नेपालले नेपाल प्रेसलाई भनिन् ।

अध्यागमनले जारी गरेको भारतसहितका मुलुकबाट आउने यात्रुले अनिवार्य १० दिन क्वारेन्टिन बस्नुपर्ने नियमलाई नागरिक दायित्व सम्झिएर पालना गर्न समेत उनले आग्रह गरिन् ।

सीसीएमसी प्रमुख रामप्रसाद थपलियाले पुनः बस्ने बैठकले निर्णयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने बताए । ‘आज छलफल मात्र भयो तर, पुनः बस्ने बैठकले मन्त्रिपरिषद्मा सिफारिस गर्छ’ उनले भने ।

शुक्रबार २४ वटा ओमिक्रोन केस पुष्टि भएपछि सीसीएमसी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *