साउथ इन्डियन फिल्म ‘हिटम्यान’मा आँचल, प्रशंसा गर्दै निर्देशकले भने : बोर्डमा स्वागत छ

काठमाडौं । पछिल्लो समय नेपालमा दक्षिण भारतीय फिल्महरुको दबदबा बढ्न थालेको छ । फिल्म रिलिजदेखि छायांकनका गतिविधिसम्म वृद्धि हुन थालेका छन् । पछिल्लो साता रिलिज भएको तेलुगु फिल्म ‘पुष्पा’को क्रेज त्यसकै एउटै उदाहरण हो ।

केही नेपाली अभिनेत्रीले पनि दक्षिण भारतीय फिल्ममा अभिनय गर्न थालेका छन् । स्वस्तिमा खड्काले साउथ इन्डियन फिल्म ‘थिरिमाली’मा अभिनय गरेकी थिइन । यो सूचीमा थपिएकी छिन् नायिका आँचल शर्मा ।

हालै नेपालमा छायांकन गरिएको तेलुगु फिल्म हिटम्यानमा आँचलले छोटो भूमिकामा अभिनय गरेकी छिन् । ११ दिनसम्म नेपालका विभिन्न थलोमा सुटिङ गरिएको फिल्ममा आफूले अभिनय गरेको जानकारी आँचलले दिएकी छिन् । नेपालसहित भारतमा समेत यो फिल्मको सुट गरिएको छ । नेपालतर्फको भागमा आँचललाई देख्न सकिने भएको छ । पोखरा र काठमाडौंका रमणीय स्थानमा हिटम्यान छायांकन भैसकेको छ ।

यसबारे उनले भनिन्, ‘निर्माण टिमले अन्य नायिकासँग पनि कुरा गरिरहेको रहेछ । तर, मेरो अनुहार उताका कलाकारसँग मिल्ने भएपछि काम गरेकी हुँ ।’

विष्णु अधिकारीले निर्देशन गरेको फिल्ममा आँचल स्वयमले संवाद भरेकी छिन् । ‘भारतबाट नेपाल आउने टिमसँग मेरो भेट भएपछि कथा अगाडि बढ्छ । भारतमा प्रदर्शन गर्दा मेरो संवादमा सब टाइटल समावेश हुन्छ’ उनले भनिन् । फिल्मले नेपालको पर्यटनमा मद्दत मिल्ने आशा उनले व्यक्त गरिन् । दीपक अधिकारी फिल्मका निर्माता हुन् । आँचलले निर्देशक विष्णु अधिकारीसँग सँगै अभिनय गरेकी छिन् ।

फिल्मको प्रिमियर हैदराबादमा हुने र सहभागी हुन आफू त्यसतर्फ आफू जाने उनले बताइन् । आफ्नो कामको प्रशंसा फिल्म युनिटले गर्ने बताउँदै उनले भनिन्, ‘नेपाली कलाकार पनि यति गम्भीर भएर काम गर्ने रहेछन् भनेर सिंगो टिमले नै प्रशंसा गर्नुभयो ।’ एउटा गीतमा पनि आँचल पनि देखिएकी छिन् । यो गीतलाई नेपाली र तेलुगु भाषामा हेर्न पाइने भएको छ ।

निर्देशक तथा अभिनेता अधिकारीले फेसबुकमार्फत हिटम्यान स्पाइ जनराको फिल्म भएको बताएका छन् । उनले नायिका आँचलको प्रशंसा गर्दै तलिउड फिल्मको बोर्डमा स्वागत गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *