स्थानीय तह चुनावका लागि दुई वटा मिति प्रस्ताव, प्रधानमन्त्री भेट्दै आयोगका पदाधिकारी

काठमाडौं । स्थानीय तहको चुनावको तयारी थालेको निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ । आजको भेटमा प्रधानमन्त्रीसमक्ष आयोगका पदाधिकारीले स्थानीय चुनावको मिति प्रस्ताव गर्ने तयारी गरेका हुन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले वैशाख तेस्रो सातासम्म चुनाव सक्ने गरी दुईवटा मिति प्रस्ताव गर्न लागिएको जानकारी दिए । ‘निर्वाचन आयोगको टोलीले आज प्रधानमन्त्रीसमक्ष चुनावको तयारीलगायत मिति पनि प्रस्ताव गर्दैछ,’ उनले भने, ‘यसमा क्याविनेटले डिसिजन गर्छ ।’

आयोगले एक चरणमै निर्वाचन गर्न सरकारलाई सुझाव दिँदै २० गते वा २२ गते मतदान गर्ने मिति तोक्न प्रस्ताव गरेको छ । यसबारेमा आज प्रधानमन्त्रीसँग छलफलपछि टुंगो लाग्नेछ ।

त्यसैगरी दुई चरणमा गर्ने हो भने पहिलो मतदान वैशाखको १२ वा १४ गते तोक्न सुझाइएको छ । दोस्रो चरणको भने २०/२२ गते नै गर्न सकिने भनिएको छ । कम्तीमा एक साता ग्याप राखेर दुई चरणमा गर्ने आयोगको प्रस्ताव छ ।

‘वैशाखको १२ र २२ गतेको बीचमा सक्ने गरी अगाडि बढेका छौं,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने ।

-न्यूज कारखाना

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *