३३ किलो सुन तस्करी : ५६ जनाले पाए सफाइ, सनम हत्या आरोपमा गोरेसहित ६ जनालाई जन्मकैद

काठमाडौं । चर्चित ३३ किलो सुन तस्करी प्रकरणमा ५६ जनाले सफाइ पाएका छन्। मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजसलासले प्रमाणको अभावमा भन्दै उनीहरुलाई सफाइ दिएको हो ।

सुन तस्कारी प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाइएको थियो । जसमध्ये २१ जना भने फरार छन्। उनीहरुको मुद्दालाई भने मुलतवीमा राखिएको छ।

त्यस्तै ३३ किलो सुन प्रकरणमा भरिया रहेका सनम शाक्यको हत्यामा ८ जनालाई दोषी ठहर गर्दै अदालतले ६ जनालाई जन्म कैदको सजाय सुनाएको छ । तस्करी गरिएको भनिएको परिणामअनुसारको सुन फेला नपरेको साथै मागदावी नपुगेको भन्दै सुन प्रकरणमा भने सफाइ दिइएको हो ।

जन्म कैद सजाय पाउनेहरुमा गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । त्यस्तै राजन कुमारलाई ३ वर्ष र मदन घिमिरेलाई ६ महिना कैदको सजाय तोकिएको छ।

२०७४ साल माघमा दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको साढे ३३ किलो तस्करीको सुन हराएको थियो । त्यसपछि तस्करहरुको खोजी भइरहेका बेला सुन तस्करीमा भरिया तथा तस्करीको आरोप लागेका गोरे भनिने चुडामणि उप्रेतीका अकाउण्टेन्ट मोरङ उर्लाबारीका सनम शाक्यको हत्या भएपछि बाहिरिएको भिडियोले सुनको ठूलो जालो सार्वजनिक भएको थियो ।

घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले सहसचिव इश्वर पौडेलको नेतृत्वको छानबिन समिति बनाएर यसको अध्ययन गरेको थियो । जसका आधारमा सुन तस्करीको अभियोगमा ७७ जना बिरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

मुद्दामा नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलमाथि पनि अभियोग लगाइएको थियो ।

Comments

One response to “३३ किलो सुन तस्करी : ५६ जनाले पाए सफाइ, सनम हत्या आरोपमा गोरेसहित ६ जनालाई जन्मकैद”

  1. Bhim koirala Avatar

    प्रहरीहरू ,जसले ज्यानकाे बाजि लाएर अपराधि ग्याङमा छिरेर ठुलाे सुन तस्कर समुहलाई समाउन सफल भएका थिए,उनीहरूलाई नै अपराधी बनाई मुद्दा चलाएकाे सुनेर दुख लागेकाे थियाे । ती बहादुर निर्दाेष प्रहरीले अदालतबाट सफाई पाए भन्ने समाचार पढ्दन खुसी लाग्याे । निर्मला काण्डमा फसेका प्रहरीले पनि न्यायालयबाट सफाई पाएका थिए ।ठूलाे जाेखिम माेलेर अपराधी समाउने प्रहरी प्रति सलाम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *