पत्रकार महासंघले भन्यो- संविधानप्रदत्त अधिकार कुण्ठित गर्ने विज्ञप्ति तत्काल सच्याऊ

काठमाडौं । नेपाल पत्रकार महासंघले गृहमन्त्रालयले हालै जारी गरेका दुई विज्ञप्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई समेत नियन्त्रण गर्ने उद्देश्य प्रेरित भएको भन्दै त्यसलाई तत्काल सच्याउन माग गरेको छ।

‘गृह मन्त्रालयद्वारा २०७८ भाद्र १८ र २० गते जारी प्रेस विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ महासचिव रोशन पुरीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको नेपालको संविधानको मूल मर्म र भावनाविपरीत आएका यी दुई विज्ञप्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई समेत नियन्त्रण गर्ने उद्देश्य प्रेरित भएको महासंघको ठहर छ ।’

मित्र राष्ट्रसँगको सम्बन्धको वहानामा संविधानप्रदत्त अधिकारलाई कुण्ठित पार्न खोजेको महासंघको ठहर छ। ‘मित्र राष्ट्रसँगको सम्बन्धको बहानामा सरकारले संविधानले दिएको शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार र अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको कुरामा महासंघ प्रष्ट छ,’ विज्ञप्तिमा भनिएको छ,‘ मित्र राष्ट्रसँगको सम्बन्धको विषयमा के लेख्ने र के नलेख्ने भन्ने कुरामा नेपाली प्रेस गम्भीर छ ।’

नागरिकको स्वतन्त्रतापूर्वक भेला वा प्रदर्शन गर्न पाउने भएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘गृहमन्त्रालयद्वारा जारी विज्ञप्ति प्रेसको संविधानप्रदत्त अधिकारलाई कुण्ठित बनाउने तथा नागरिकको स्वतन्त्रतापूर्वक भेला वा प्रदर्शन गर्न पाउने अधिकारलाई नियन्त्रण गर्ने नियत रहेकोले तत्काल सच्याउन महासंघ माग गर्दछ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *