वाईसीएल नेतृत्वमा सहमति भएन, प्रचण्डले पदाधिकारी टुंग्याए

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलको दुई दिने सम्मेलनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास असफल भएको छ ।

शनिबारदेखि जारी सम्मेलन हिजै सकिनु पर्नेमा नेतृत्वमा दावेदार रहेकाहरू सहमतिमा नआउँदा सम्मेलन लम्बिएको हो ।

सहमतिमा टुंग्याउन अधिकतम कोसिस गर्ने भन्दै हिजोको सम्मेलन स्थगित गरिएको थियो । तर, सहमतिको प्रयास असफल भएको प्रचार विभाग प्रमुख पुष्प ओलीले जानकारी दिए। सहमति नजुटेपछि पदाधिकारीको टुंगो पार्टी अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ ले लगाएका छन् । तर, कसलाई अघि सारे भन्ने खुलेको छैन ।

‘सहमतिमै टुंग्याउने प्रयास सफल हुन सकेन,’ ओलीले नेपाल प्रेससँग भने, ‘अध्यक्ष प्रचण्डले त्यसलाई टुंग्याउनु हुन्छ । लगभग उहाँले टुंग्याउनु भएको छ।’ सबै जिल्लाबाट केन्द्रीय सदस्यको प्रतिनिधित्व हुने गरी प्रदेशहरूले सूची पठाएपछि आजै पदाधिकारीसहितको कमिटी घोषणा गरेर राष्ट्रिय सम्मेलन टुंगिने ओलीले बताए।

हालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले नेतृत्व छाड्ने भएपछि अध्यक्षका लागि तीनजना दाबेदार छन् । वाईसीएल अध्यक्षका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानले दावी गरेका छन् ।

२०७४ साल भदौमै भएको राष्ट्रिय भेलाबाट दीपशिखा अध्यक्ष चयन हुँदा देवकोटा उपाध्यक्ष थिए भने सेर्पाली महासचिव थिए ।

त्यस्तै महासचिवमा चारजना आकांक्षी देखिएका छन् । कसम गुरुङ, गणेश शाही, मिङ्मातन्डु शेर्पा र नवराज ढुंगाना ‘विश्वास’ ले महासचिवमा चाहना राखेका छन् । यसमध्ये शाही र ढुंगाना सचिव थिए भने शेर्पा कोषाध्यक्ष थिए ।

Comments

One response to “वाईसीएल नेतृत्वमा सहमति भएन, प्रचण्डले पदाधिकारी टुंग्याए”

  1. Dipendra Adhikari Avatar
    Dipendra Adhikari

    महिला लाई नेत्तित्वको आशा हो किनकी,! महिला लाई हरक्षेत्रमा पछाडी छन अब यहि देखि अगाडि आउने आशय हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *