गीतकार उपाध्यायद्वारा थप सात विश्व रेकर्ड कायम, १४ एजेन्सीद्वारा एकैसाथ प्रमाणपत्र हस्तान्तरण

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डाक्टर डीआर उपाध्यायले फेरि सात विश्व कीर्तिमान कायम गरेका छन् । बिहिबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा पूर्वश्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवले उपाध्यायलाई विभिन्न सात विश्व रेकर्डहरु हस्तान्तरण गरेका छन् । योसँगै उपाध्यायले ५९ वटा विश्व रेकर्ड राखेका छन् ।

कार्यक्रममा गीतकार संघका पूर्वअध्यक्ष चुडामणी देवकोटा, अन्तरराष्ट्रिय साहित्य समाजका पूर्व अध्यक्ष राधेश्याम लेकाली लगायतकोे उपस्थिती थियो ।

उपाध्यायका सात नयाँ विश्व रेकर्डमा ४१ वटा हेट र क्यापको शब्द प्रयोग गरिएको गीति कविता, ५३ फरक चरा र कुकुरको नाम समावेश गरिएको गीति कविता, १७० फरक ब्रान्डका मोबाइलको नाम प्रयोग गरिएको गीति कविता, एक सय म्युजिक व्याण्डको नाम प्रयोग गरिएको गीति कविता, ६० वटा गाडीको नाम प्रयोग गरिएको गीति कविता लगायत छन् ।

यी सात रेकर्ड उनलाई एभरेष्ट वल्र्ड रेकर्ड, एसियन वल्र्ड रेकर्ड, अमेरिकी बुक अफ रेकर्ड, युरोपियन रेकर्डस बुक लगायत १४ वटा विश्व रेकर्ड प्रदान गर्ने संस्थाले दिएका हुन् ।

कार्यक्रममा बोल्दै गीतकार उपाध्यायले भने–‘मैले विभिन्न रेकर्ड राखेर कलाको माध्यमबाट देशको नाम विश्वमा चिनाएको छु । तर, हामीलाई राज्यले कुनै पनि खालको सम्मान दिएको छैन । राज्यले मन्त्री र नेताका नजिक भएका मानिसलाई राष्ट्रपतिको हातबाट प्रदान गर्ने सम्मान दिएको छ । तर, हामी जस्ता श्रष्टालाई वेवास्ता गरेको छ ।’

उनले, अबको आफ्नो धोको भनेको भारतको प्रतिष्ठित अवार्ड ‘पद्यम श्री’ पाउने रहेको बताए । यसका लागि आफूले तयारी समेत गरेको र विभिन्न चरण पास भैसकेको उनले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथी मन्त्री यादवले उपाध्यायले कलाको माध्यमबाट राज्यलाई ठूलो गुन लगाएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *