साविक विजेता डोमिनिक थिमले युएस ओपन गुमाउने

काठमाडौं । वर्षको अन्तिम ग्रान्डस्लाम- युएस ओपनका साविक विजेता डोमिनिक थिमले चोटका कारण प्रतियोगिताको आगामी संस्करण र पूरा सिजन गुमाउने भएका छन् ।

गत जुनमा मायोर्का ओपनमा घाइते भएका २७ वर्षीय अस्ट्रियन टेनिस स्टार थिमले विम्बल्डनबाट आफ्नो नाम फिर्ता लिएका थिए ।

उनले आफ्ना लागि ‘कठिन निर्णय’ भएको र न्यू योर्कमा यो सिजन आफ्नो उपाधि बचाउन असमर्थ हुनु ‘निराशाजनक’ भएको बताएका छन् । युएस ओपन ३० अगस्ट सोमबारदेखि सुरु हुँदैछ ।

विश्व बरियताको छैठौं स्थानका थिमले ट्वीटमार्फत भनेका छन्- ‘म निरन्तर रूपमा मेडिकल एड्भाइज लिइरहेको थिएँ । राम्रो सुधार भइरहेको थियो । तर, गत साता मैले बल प्रहार गर्दा फेरि उस्तै पीडा महसुस भयो ।’

‘केही परीक्षणहरूपछि उनीहरू (चिकित्सक)ले मेरो नाडी पूर्ण रूपमा ठीक हुन समय लाग्ने बताए,’ थिमले भने, ‘र, हामीले त्यसका लागि समय दिने निर्णय गर्‍यौं ।’

सन् २०२० को युएस ओपनको उपाधि थिमको पहिलो ग्रान्डस्लाम सफलता हो । फाइनलमा उनले दुई सेट पछाडिबाट पुनरागमन गर्दै अलेक्सान्डर जेभ्रेवलाई पराजित गरेका थिए । उनी सोही वर्ष अस्ट्रेलियन ओपनको पनि फाइनलमा पुगेका थिए । तर, विश्व नम्बर एक नोभाक जोकोभिचसँग पराजित भएका थिए ।

रोजर फेडेररले पनि यो वर्षको अन्तिम ग्रान्डस्लाम- युएस ओपन चोटका कारण गुमाउने छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *