निर्माणाधिन परियोजना शीघ्र कार्यान्वयन गर्न नेपाल-भारत सहमत

काठमाडौं । नेपाल र भारत द्धिपक्षीय आर्थिक तथा विकास सहायता अन्तर्गत नेपालमा बनिरहेका परियोजनाहरुलाई द्रुतरुपमा कार्यान्वयन गर्न सहमत भएका छन् ।

काठमाडौंमा सोमबार सम्पन्न नेपाल-भारत ओभरसाइट संयन्त्रको नवौं बैठकले निर्माणाधीन परियोजनालाई छिटो निर्माण गर्ने सहमति जुटाएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकको अध्यक्षता परराष्ट्रसचिव भरतराज पौड्याल र भारतीय राजदूत विनयमोहन क्वात्राले गरेका थिए ।

बैठकमा तराई सडक, सीमापार रेलसेवा, अरुण तेस्रो जलविद्युत आयोजना, पेट्रोलियम पाइपलाइन्, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, भूकम्पपछिको पुननिर्माण, सिँचाई, विद्युत तथा प्रसारण लाइन, नेपाल प्रहरीको एकेडेमी निर्माण, संयुक्त चेकपोस्ट, रामायण सर्किट, मोटरेबल पुल, महाकाली नदी, कृषि र सांस्कृतिक सम्पदा लगायतका परियोजनाको कार्यान्वयन छिटो गर्ने सहमति भएको थियो ।

परियोजन अघि बढाउँदा हनुनसक्ने ढिलाइ र चुनौतिबारे पनि मिलेर समाधान गर्ने सहमति पनि बनेको छ । बैठकमा परियोजना अन्तर्गतका नेपाली अधिकारीहरु तथा भारतीय पक्षबाट दूतावासका प्रतिनिधिहरु सहभागि थिए ।

सन् २०१६ सेप्टेम्बरमा परियोजना कार्यान्वयन तथा अनुगमन गर्नेबारे संयन्त्र गठन भएको थियो । दुबै पक्षको उपयुक्त समयमा संयन्त्रको दशौं बैठक बस्ने सहमति भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *