ओलीका मान्छे हटाउन माधव नेपालको समर्थन तर तत्काल नयाँ नियुक्ति नगर्न सुझाव

काठमाडौं। नेकपा एमालेको माधव नेपाल पक्षले राजनीतिक नियुक्तिहरु तत्काल नगर्न सत्ता गठबन्धनलाई आग्रह गरेको छ । केपी ओली सरकारका पालामा भएका नियुक्ति खारेज गर्न सहमति दिए पनि नयाँ नियुक्तिमा केही दिन पर्खिन आग्रह गरेको एक मन्त्रीले बताए ।

यसबीचमा माधव नेपाल निकट केही नेता र सांसदहरुले कानूनमन्त्री ज्ञानेन्द्रवहादुर कार्की र कांग्रेस महामन्त्री पूर्णवहादुर खड्कालाई भेटेर आफूहरु एमाले एकताको अन्तिम प्रयासमा रहे पनि त्यो सफल हुने सम्भावना नरहेको भन्दै नियुक्तिमा हतार नगर्न भनेका हुन् ।

शनिबार शंखमुलस्थित ए वान पार्टी प्यालेसमा भएको कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले ‘यत्रो दु:ख गरेर ल्याएको सरकारले राजनीतिक नियुक्तिहरु गर्दा आफूहरुले पनि आफ्ना कार्यकर्तालाई न्याय गर्नुपर्ने’ बताएका थिए । तर नेपालले सरकारलाई काम गर्नबाट नरोकेको समेत प्रष्ट पारेका थिए ।

नेपालले भने, ‘यत्रो मेहनत गरेर हामीले यो सरकार ल्याउने,अनि सरकारको जम्मै ठाउँमा नियुत्ति केपी ओलीले त विरोध गर्ने भइहाल्नुभयो अनि यो सरकारलाई गर्न दिने ? देशभरका जम्मै नियुक्तिहरुका कुरामा गर्ने के ? तर हामीले रोकेका छैनौं है,सरकारको बारेमा । हामीले भनेका छौं कि तपाईहरु सरकार बनाउँदै गर्नुस्,मन्त्री बनाउँदै गर्नुस् । किनभने हाम्रै टुंगो छैन,के हुने भन्ने ।’

यसबीचमा भूमि आयोग खारेज गरेर नयाँ गठनादेशमार्फत नयाँ नियुक्ति गर्न खोजिए पनि सर्वोच्च अदालतको अन्पकालीन अन्तरिम आदेशका कारण रोकिएको छ । अन्य राजनीतिक नियुक्तिका व्यक्तिहरुलाई पनि राजिनामा दिन भनिएको छ । राजिनामा नदिनेहरुलाई प्रक्रिया पूरा गरेर हटाउने तयारी सरकारको छ ।

त्यस्तै केपी ओली सरकारका पालामा नियुक्त भएका कम्तिमा १० जना राजदूत पनि फिर्ता बोलाउने तयारी सरकारको छ । ओलीको पालामा नियुक्ति सिफारिस भएर पनि नियुक्त हुन बाँकी रहेका १२ जना राजदूतमा समेत अब गठबन्धनले भागबण्डा गर्ने भएका छन् ।

नेपाल पक्ष कानूनी रुपमा पार्टी एउटै हुँदा सरकारमा सहभागी हुन नमिलेका कारण सरकार विस्तार तथा राजनीतिक नियुक्तिका कुराहरु केही पर धकेलिएका छन् । तर यो अवस्था धेरै दिन नरहने नेताहरु बताउछन् ।

Comments

One response to “ओलीका मान्छे हटाउन माधव नेपालको समर्थन तर तत्काल नयाँ नियुक्ति नगर्न सुझाव”

  1. पुष्कर कडेल Avatar
    पुष्कर कडेल

    माझण्डहरूको कम्न्युनिष्ट आदर्श हात्तीको देखाउने दाँत जस्तै हो अन्यथा उनीहरूले नेका सभापति देउवालाई प्रम बनाउन भूमिका खेल्ने र विश्वासको मत दिने काम गर्ने थिएनन्। अब कसैलाई भ्रम नहोस्, माझण्डहरू रूपमा कम्न्युनिष्ट देखिन्छन् भने सारमा दक्षिणपन्थीको सेवामा राजनीति गरिरहेका हुन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *