मन्त्री बनेका शाहीमाथि एमालेले थाल्यो कारवाही, सांसदबाट पदमुक्त गराउने

रूपन्देही । नेकपा एमालेले ४ दलीय गठबन्धनलाई सघाउँदै मन्त्री बनेका सांसद अजय शाहीलाई कारवाहीका लागि प्रक्रिया अगाडि बढाएको छ।
एमालेले आफ्नो चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका सांसद अजय शाही र तत्कालीन नेकपाको सूर्य चिन्हबाट जितेकी विमला वलीले नयाँ सरकार बनाउन दाबी गरेको निवेदनमा हस्ताक्षर गरेपछि कारवाही प्रक्रिया अघि बढाएको एमाले सचेतक भूमिश्वर ढकालले बताए।

ढकालले शाहीलाई लिखित स्पष्टीकरण सोधेका छन् भने वलीलाई पार्टी अध्यक्ष केपी ओलीले पठाएको स्पष्टीकरण यसअघि नै बुझाएको बताए।
एमालेले बहिस्कार गर्ने भनेको प्रदेश सभाको विशेष अधिवेशनमा उपस्थित शाही ४ दलीय गठबन्धनको सरकारमा विनाविभागीय मन्त्री बनेका छन्।

नवलपरासी पश्चिम–१ ख बाट सूर्य चिन्हबाट चुनाव जितेका उनले वैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर अर्को दिन फिर्ता लिएको जनाएका थिए।

उनीसँगै विपक्षी गठबन्धनमा लागेका कपिलवस्तुका धर्मबहादुर लाल श्रीवास्तव एमाले फर्केर मन्त्री बनेपछि शाही असन्तुष्ट रहेका थिए।
हृदयेश त्रिपाठीनिकट शाहीले आफु सूर्य चिन्हबाट चुनाव लडेपनि स्वतन्त्र सांसद रहेकाले गठबन्धनमा सहभागी भएको बताए।
‘सूर्य चिन्हबाट चुनाव जितेपनि म स्वतन्त्र सांसद हो, त्यसैले मैले गठबन्धनलाई समर्थन गरेको हुँ मलाई एमालेले कारबाही गर्ने भन्ने कुरा हुँदैन, यदि कारबाही गर्ने नै कुरा आएमा म अदालत जान्छु।’ उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *