म सबैथोक हुँ भन्ने अहंकारले एमालेमा समस्या भयो तर पार्टीलाई नयाँ जीवन दिन तयार छौं : माधव नेपाल (भिडिओ)

काठमाडौं। नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले ‘म सबैथोक जान्ने सर्वज्ञानी हुँ’ भन्ने अहंकारले पार्टी भित्र समस्या पैदा गरेको उल्लेख गर्दै ती समस्या समाधान गरेर अघि बढन आफूले चाहिरहेको बताएका छन् ।

शनिबार आफू पक्षीय जनवर्गीय संगठनहरुले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी भित्र देखिएको समस्या समाधान गर्नका लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि स्पष्ट पारे ।

‘हामी कहाँ पनि अहंकारका प्रवृत्तिहरु देखा परे, सामूहिकताका भावनाहरु हराउन थाले,’ अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै उनले भने, ‘अरुका ज्ञान अनुभवहरुलाई बेवास्ता गर्न थालियो । मै सबथोक सर्बज्ञानी हुँ भन्ने अहंकार, घमण्ड बढेर गयो । र हाम्रो पार्टी नेकपा (एमाले)मा समस्या देखा पर्‍यो ।’

नेता नेपालले थपे, ‘त्यो समस्या हामी हल गर्न चाहिरहेका छौं । तर के हल गर्नका लागि पार्टी भित्रका रोगको सही पहिचान गर्नका लागि हामी तयार छौं ? हामी, हो त्यहीँ उद्देश्यका साथ पार्टीलाई नयाँ जीवन दिन चाहिरहेका छौं ।’

पार्टीलाई नयाँ जीवन दिन भन्दै उनले अरुले जस्तो ‘बाँदरे नाच नाच्ने काम नगर्न पनि आफू पक्षीय जनवर्गीय संगठनका नेता, कार्यकर्तालाई आह्वान गरे । इमान्दार बन्नुपर्ने, असल संस्कार बोक्नुपर्ने, अरुको मानमर्यादामा आँच पुर्‍याउने काम कसैले पनि गर्न नहुने उहाँको भनाई थियो । उनले भने, ‘त्रुटि नभएको मान्छे कोही पनि हुँदैन । मान्छे हो त्रुटि हुन सक्दछ । सबै सुध्रिउन । देश, जनता र राष्ट्रका लागि समर्पित होऔं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *