कन्सूलरहरुका नवनियुक्त डिनद्वारा पदभार ग्रहण

काठमाडौं । नेपालस्थित कन्सूलरहरुको छाता संगठन अनररी कन्सूलर कर्प्स-नेपालका नवनियुक्त डीन तथा पोल्याण्डका अनररी कन्सुलर लोकमान्य गोल्छाले पदभार ग्रहण गरेका छन् । सोमबार आयोजित समारोहमा निवर्तमान डिन तथा मोरक्कोका अवैैतनिक महावाणिज्य दूत बसन्त चौधरीले नवनियुक्त डिन लोकमान्य गोल्छालाई पदभार हस्तान्तरण गरे ।

एचसीसीएन नेपालमा विभिन्न देशका अवैतनिक महावाणिज्यदूत तथा वाणिज्य दूतहरुको संख्या ५३ रहेको छ । कोभिड–१९ महामारीको पहिलो र दोस्रो लहरको भयावह अवस्थामा आ-आफूले प्रतिनिधित्व गर्ने देशहरुमार्फत कन्सूलरहरुले स्वास्थ्य सामाग्रीहरु नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए ।

नेपालस्थित मोरक्को अधिराज्यका लागि महावाणिज्यदूत बसन्त चौधरीको एक वर्षे कार्यकालको समाप्तिसँगै आगामी एक वर्षका लागि एचसीसी-एनको डिनमा लोकमान्य गोल्छा चयन भएका हुन् । उनी गोल्छा अर्गनाइजेसनका अध्यक्ष समेत हुन् ।

सन् २००७ मा कन्सूलरहरुबीच मित्रवत व्यवहार स्थापना, आपसी समझदारी तथा हित र सदस्यहरुबीच सूचना आदानप्रदान लगायतका उद्देश्य राखी एचसीसी–एन गठन भएको थियो ।एचसीसी-एनको पहिलो डिनको रुपमा स्वीडेनका लागि कन्सूल जनरल गजेन्द्रबहादुर श्रेष्ठ चयन भएका थिए । नियुक्तिको हिसाबले वरिष्ठताका आधारमा कन्सूलरहरुले एचसीसी–एनमा डिनको रुपमा काम गर्ने अवसर पाउने गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *