खगेन्द्र संग्रौलालाई महेशको जवाफ- अग्रजको सम्मान गर्ने पार्टीको अनुयायी हुँ, धम्काउने मेरो शैली होइन

काठमाडौं । नेकपा (एमाले) का युवा नेता महेश बस्नेतले आफू अग्रजहरूको सम्मान गर्ने पार्टीको अनुयायी भएको भन्दै धम्काउने र थर्काउने आफ्नो शैली नभएको स्पष्ट पारेका छन् ।

लेखक खगेन्द्र संग्रौलाले बस्नेतको नामै लिएर आफूलाई साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिएको ट्वीट गरेपछि उनी सर्मथकले बस्नेतका आलोचना गरिरहेका छन्।

‘म भक्तपुरको असल संस्कारयुक्त परिवारमा हुर्केको मान्छे हुँ,’ संग्रौलालाई जवाफ दिँदै बस्नेतले लेखेका छन्, ‘राजनीतिक रूपमा पनि ज्येष्ठ नागरिक र अग्रजहरुको सम्मान गर्ने एमाले उक्त पार्टीका नेताहरू मनमोहन अधिकारी र केपी ओलीको अनुयायी हुँ । सेवा र आदरभावका साथ प्रस्तुत हुनु मेरो स्वभाव हो । धम्काउने थर्काउने मेरो शैली होइन ।’

युथ फोर्सको भ्याली कमाण्ड घोषणा गर्ने ९ साउनको कार्यक्रममा बस्नेतले एमालेविरुद्ध लाग्ने बुद्धिजिवीलाई साइबर सेनाको सहयोग लिएर तह लगाउने चेतावनी दिएका थिए । त्यहाँ उनले कसैको पनि नाम किटेका थिएनन् ।

तर, संग्रौलाले आफूलाई प्रत्यक्ष धम्की आएको दावीसहित लेखेका छन्,‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ । अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए। तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो ? यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला । धन्य ओली सर।’

उक्त कार्यक्रममा आफूले त्यस्तै केही नबोलेको बस्नेतको प्रष्टीकरण छ । उनले भनेका छन्, ‘जहाँ सम्म अस्ति ९ गते उपत्यका युथ फोर्स कमान्ड घोषणा सभामा मैले बोलेको विषय छ। न खगेन्द्र बाजेलाई धम्की दिएको छ। न माधव नेपाल कमरेडलाई थर्काएको छ । न तेसो गर्न आवश्यक नै छ ।’

Comments

One response to “खगेन्द्र संग्रौलालाई महेशको जवाफ- अग्रजको सम्मान गर्ने पार्टीको अनुयायी हुँ, धम्काउने मेरो शैली होइन”

  1. dal bahadur shah Avatar
    dal bahadur shah

    तर्सियका मिर्गहरु बिजुलि चम्किदा भाग्छन् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *