कोभिड नियन्त्रणमा अमेरिका गलत दिशातर्फ हिँडिरहेको छ : डा. एन्थोनी फाउची

वासिङ्टन । प्रमुख स्वास्थ्य विज्ञ डा. एन्थोनी फाउचीले कोरोनाभाइरस नियन्त्रणको मामिलामा अमेरिका गलत दिशामा हिँडिरहेको बताएका छन्। पछिल्ला दिनमा अमेरिकामा संक्रमण बढिरहेको बेला प्रमुख अमेरिकी स्वास्थ्य सल्लाहकारको यस्तो प्रतिक्रिया आएको हो ।

खोप लगाउन अझै हिच्किचाहट रहेको र डेल्टा भेरिएन्ट फैलने गति तीव्र भएकाले संक्रमण पुनः बढ्ने चेतावनी फाउचीले दिएका छन् । स्वास्थ्य अधिकारीहरूले स्थितिलाई नियन्त्रणमा लिनका निम्ति खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्ने कुराबारे विचार गरिरहेको बताएका छन्। उनले कमजोर व्यक्तिहरूलाई प्रतिरक्षा बढाउनेखाले खोप दिने कुरा पनि समीक्षाका क्रममा रहेको बताएका छन्।

खोप नलगाएकाहरूका बीचमा अमेरिकामा कोरोनाभाइरस एउटा महामारी बनेको उनको भनाइ छ । ‘हामी गलत दिशातर्फ अघि बढिरहेका छौं’ उनले भने, ‘पचास प्रतिशत अमेरिकी नागरिकले अहिलेसम्म खोप लगाएका छैनन् । यो नै प्रमुख समस्या हो ।’

आइतवार सीएनएनसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार फाउचीले भने, ‘हामीले आफूलाई खतरामा राखेका छौं ।’ अमेरिकामा अहिलेसम्म ४९ प्रतिशत जनसंख्याले पूर्णरुपमा खोप लगाइसकेका छन् । गत एप्रिलदेखि अमेरिकामा खोप लगाउने दरमा कमी देखिएको छ। त्यसबेलासम्म कोरोनाभाइरसविरुद्ध खोप लगाउनेमा अमेरिका सबैभन्दा अगाडि थियो। विशेषगरी अमेरिकाका दक्षिणी राज्यहरूमा खोप लगाउने दर कम देखिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *