नेम्वाङलाई देउवाको प्रश्न- तपाईं सभामुख हुनुन्थ्यो, धारा ७६ (५) किन लेख्नुभो ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभाका अध्यक्ष समेत रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधानको गलत व्याख्या गरेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिँदै नेता नेम्वाङले सर्वोच्चको परमादेशबाट राज्यका अंगबीच सन्तुलन खलबलिएको बताएपछि जवाफमा देउवाले संविधानको धारा ७६ (५) बारे अरुलाई भन्दा बढी नेम्वाङलाई थाहा भए पनि गलत व्याख्या गरेको आरोप लगाए ।

उनले भने, ‘पूर्वसभामुख नेम्वाङ पनि आफूले बोलेको जवाफ नसुनि हिँडनुभयो । त्यो संविधानमा ७६ (५) किन लेख्नु भयो ? भनी प्रश्न सोध्नेवाला थिए । उहाँ सभामुख हुनुहुन्थ्यो । संविधान जारी गर्ने बेला अब कहिल्यै पनि पार्लियामेन्ट भंग हुने छैन । म उहाँले बोल्नु भएको कुरा आज स्मरण गराउन चाहन्छु । यी सबै कुरा सभामुख नेम्वाङले स्पष्ट पार्नुपर्नेमा उल्टो व्याख्या गरेर जानुभयो ।’

प्रधानमन्त्री देउवाले आफूले विश्वासको मत लिने बेला पार्टीका सांसदहरूलाई ह्वीप नलगाएको दावी गरे । ‘पार्टीको पक्षमा मतदान गर्न मैले एमालेलगायतका सबै दललाई अनुरोध गरेको हुँ’, उनले भने’ ‘तर नेम्वाङले अनुरोध गरेको कुरालाई ह्वीप भनेर उल्टो कुरा गर्नु भयो ।”

सदनमा बधाईप्रति धन्यवाद ज्ञापन गर्दै प्रधानमन्त्री देउवाले ऋण लिएर जतिसुकै महंगो परे पनि सबै नेपालीलाई कोरोना खोप पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *