नेपालको समृद्धि हाम्रा प्राकृतिक स्रोतहरूको उपयोग गरेर सबैलाई देशभित्रै रोजगारी उपलब्ध गराउन सके मात्र सम्भव छ । त्यसका लागि कृषि क्षेत्रको विकास यस्तो क्षेत्र हो, जसले व्यापक रोजगारी र औद्योगिक कच्चा पदार्थ उपलब्ध गराउँछ, देशलाई आत्मनिर्भर बनाउँछ, औद्योगीकरण गर्न दबाब सिर्जना गर्छ । यसका लागि सिंचाई र ऊर्जाको सर्वसुलभ सुविधा प्रमुख शर्त हो ।
कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना नेपालले कृषि विकासमा छलाङ मार्न सक्ने र ऊर्जासमेत प्राप्त हुने आयोजना हो । कालीगण्डकीको पानी बिनाउपयोग हजाराै वर्षदेखि बगिरहेको छ ।
राम्दीदेखि देवघाटसम्म नदीको उपयोग शव जलाएको ठाउँ पखाल्न, नुहाउँन, विशेष पर्वहरुमा मेला भर्नसँगै लिफ्टबाट खानेपानी र सिँचाइमा मात्रै छ । सबै पानी त्रिशुलीमा मिसिएर त्रिवेणीमा भारतले बनाएको बाँधबाट पूर्वी नहर बिहारतर्फ र पश्चिमी नहर उत्तर प्रदेशतर्फ जान्छ ।
भारतको त्यो क्षेत्र सुख्खाग्रस्त भएकोले त्यहाँ भोकमरी, अभाव र भयानक गरिबी थियो । तिनीहरुको भन्दा नेपाली जनताको जीवनस्तर धेरै माथि थियो । त्यहाँ सिंचाई सुविधा पुगेपछि क्रमशः उत्पादन बढ्दै गयो, अहिले धेरै विकास भइसकेको छ ।
नेपालले नदीहरूको पानी उपयोग गरेर संमृद्ध हुने काम नगरोस्, आफ्ना नहरहरूमा पानी कमी हुने अवस्था नआओस् भनेर भारत विभिन्न हथकण्डा प्रयोग गर्दै आएको छ । पर्यावरण र वातावरणको नाममा आफ्ना दलालमार्फत् नेपाली जनतालाई दिग्भ्रमित पार्दै आइरहेको छ ।
नेपालमा कुनै पनि नदीमा जलस्रोतको विकास गर्ने परियोजना सुरु गर्न थाल्यो भने विभिन्न तर्क–कुतर्क गरेर रोक्ने, हुन नदिने, अवरोध गर्ने गरिन्छ । एकातिर पानी बगेर खेर गइरहेको छ, अर्कोतर्फ जमिन सुख्खा छ, खाद्यान्न, तरकारी, फलफूल आदि सबै आयात गरेर जीवन धानिएको छ ।
कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना नेपालले कृषि विकासमा छलाङ मार्न सक्ने र ऊर्जासमेत प्राप्त हुने आयोजना हो । कालीगण्डकीको पानी बिनाउपयोग हजाराै वर्षदेखि बगिरहेको छ ।
प्रकृतिले दिएर मात्र के गर्ने ? हामी नेपालका जंगलमा लाखौँ क्युबिक काठ कुहिएर, जलेर नष्ट भइरहेको छ, जबकि हाम्रो काठको आवश्यकता भारत, म्यान्मार र मलेसियाबाट आयात गरेर आपूर्ती गरिरहेका छौं ।
ती देशले काठको निर्यात जंगलबाट काटेर नै गरेका हुन् । त्यहाँ पर्यावरणको कुरा उठ्दैन, यहाँ हावाहुरीले ढलेका, सुकेका र बुढा भएर कुहिन थालेका रुखसमेत छुनु हुँदैन भनिन्छ । गत वर्ष सम्पन्न जनकपुर रेलवेको लिक बिच्छ्याउन चाहिने ढुंगा, गिट्टी भारतबाट आयात गरिएको थियो । नेपालका शहरहरुमा सरकारी र निजी सबै भवनहरु भारतबाट आयात गरिएका ढुंगा (मार्बल) र टायलबाट निर्माण भइरहेका छन् ।
भारतका पहाड उत्खनन् गरेर मार्बल प्राप्त भएको हो, त्यहाँ वातावरणको कुरा उठ्दैन । तर यहाँका पहाडबाट मार्बल, ढुङ्गा, गिट्टी, बालुवा, माटो आदि कुनै पनि झिक्नु हुँदैन, निकासी त गर्न हुँदैन भनिन्छ । यस विषयमा पछि छुट्टै चर्चा गरौंला ।
कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको कार्यालयको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले २०७८ असार १२ गते बुटवलमा उद्घाटन गर्नुभयो । यो आयोजनाको बाँध राम्दी पुलदेखि २.३ किलोमिटर तल रम्भा गाउँपालिका–३ पाल्पामा रहने र त्यहाँदेखि नदीको ८० प्रतिशत पानी २७ किलोमिटर लामो सुरुङबाट तिनाउ गाउँपालिका– ३ दोभान, पाल्पामा विद्युत् गृहमा खसालेर ५४ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
त्यस्तै, रुपन्देहीका तिनाउबाट चलिरहेका परम्परागत सिंचाई प्रणाली १६–३६ र ४ तपाहाका लागि सुख्खा समयमा केही पानी तिनाउ खोलामा छोडेर दोभानादेखि ७ किलोमिटर लामो सुरुङबाट बुटवल–१३ बेलबास रुपन्देहीमा विद्युत् गृहमा खसालेर ७२ मेघावाट विद्युत् उपादान गर्ने र रुपन्देही तथा कपिलवस्तु मा सिंचाई गर्ने यसको लक्ष्य छ ।
प्रकृतिले दिएर मात्र के गर्ने ? हामी नेपालका जंगलमा लाखौँ क्युबिक काठ कुहिएर, जलेर नष्ट भइरहेको छ, जबकि हाम्रो काठको आवश्यकता भारत, म्यान्मार र मलेसियाबाट आयात गरेर आपूर्ती गरिरहेका छौं ।
बाँधदेखि दुवै सुरुङ र विद्युत्गृहको डिपिआर तयार भएर टेण्डर प्रक्रियाको तयारीमा रहेको, सिंचाई संरचना र सिंचित क्षेत्र विकासको डिपिआर तयार गर्ने काम अब सुरु हुने समेत जानकारी गराइयो । १०–१२ वर्षमा यो आयोजना पूरै सम्पन्न हुने भनिएको छ । यो जानकारीले सम्पूर्ण देशभक्त नेपालीहरुलाई धेरै खुशी तुल्यायो । विकासको नयाँ आशाको सञ्चार गर्यो ।
यो आयोजना कार्यान्वयन नै हुने भयो भन्ने थाहा पाएपछि केही व्यक्तिहरु आत्तिएर जनतामा भ्रम सिर्जना गर्ने कोसिस गर्दै छन् । जनतालाई आतंकित गरेर यो आयोजनाको विरोधमा उतार्ने कोसिस गर्दै छन् । आयोजनाको काम रोक्न सर्वोच्च अदालतमा रिटसमेत हालेको सुनिएको छ ।
संचार माध्यम र सामाजिक संजालमा ज्यादै भ्रामक कुराहरू आएका छन् । राम्दीदेखि देवघाटसम्म कालीगण्डकी नदीमा त्यस क्षेत्रका जनताले उपयोग गर्ने भनेको लिफ्ट गरेर खानेपानी र ससाना सिंचाई हो । त्यसका लागि नदीको २० प्रतिशत बहाव रहने हुँदा भविश्यसम्म पनि उपभोग र कुनै पर्यावरणीय समस्या हुँदैन ।
नदी किनारमा शव जलाएको ठाउँ सफा गर्न, नुहाउन, मेला भर्न, पूजा पाठ गर्न अहिले उपभोग गरिरहेको सुविधामा भविष्यमा पनि कमी आउँदैन । कालीगण्डकी नदी सभ्यता र ऐतिहासिक महत्वमा कुनै कमी हँुदैन । पुस, माघ र फागुनमा मात्रै पानी कम देखिन्छ, अरुबेला खासै केही फरक पर्दैन ।
सन् १९९६ मा सुरु भएर सन् २००२ मा सम्पन्न भएको कालीगण्डकी ए जलविद्युत् आयोजनाले मिर्मी बाँधबाट १० प्रतिशत मात्र पानि छोड्नेछ । ९० प्रतिशत पानी सुरुङबाट राम्दीभन्दा केही माथि बेल्टारी विद्युत् गृहमा खसालेर १४४ मेघावाट बिजुली उत्पादन हुन्छ ।
यहाँ भारतको मिर्जापुरबाट खरिद गरेको बिजुली धेरै अवरोध हुने, भोल्टेज कम आउने कारणले उद्योगहरु बढ्न सकेका थिएनन् । ‘कालीगण्डकी ए’को उत्पादन सुरु भएपछि उद्योगहरु वृद्धि भए, रोजगारी थपियो, पश्चिमाञ्चलको मुहार फेरियो ।
यो सुरु गर्दा पनि मिर्मीदेखि राम्दीसम्मका जनतालाई प्रतिकूल असर पर्ने, ऐतिहासिक र धार्मिक महत्वको रुरु र ऋषिकेशमाथि हस्तक्षेप हुने जस्ता कुरा उठाएर विरोध गरिएको थियो ।
आयोजना सम्पन्न भयो, राष्ट्रलाई ठूलो फाइदा भयो, रुरु, ऋषिकेश, रिडी स्मसान घाट र रिडीमेलामा कुनै प्रतिकूल असर परेन । रुरु क्षेत्रको विकासले फड्को मार्दै छ । तटीय क्षेत्रका जनतालाई पानी उपभोग गर्नका निम्ति कमी महसुस भएको छैन ।
कालीगण्डकी तिनाउ डाइभर्सन आयोजना भारतको स्वार्थमा उत्तर प्रदेशमा सिंचाई गर्न र उसको नदी जोड योजना सफल बनाउन, भारतको दबाबमा ल्याइएको भन्ने पनि कसैको भनाइ छ । १२६ मेघावाट बिजुली उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिन्छ, पानी नहर प्रणाली निर्माण गरेर रुपन्देहीमा ५३ हजार हेक्टर, कपिलवस्तुमा ५४ हजार हेक्टर गरी जम्मा १०७ हजार हेक्टर नेपालको सुख्खा जमिन सिंचाई गरिन्छ । हाम्रो आफ्नो जमिन सिंचाई गर्दा उत्तर प्रदेशको सिंचाई र नदी जोडको सेवा कसरी भयो ?
अर्को कुरा स्याङ्जा र तनहुँ सुख्खा बनाएर बुटवल बजार बगाएर बगरमा परिणत गर्ने भन्नु कति हाँस्यास्पद कुरा हो । तटीय क्षेत्रका जनताको उपभोगमा हिउँदको सुख्खा समयमा तिनाउमा पानी सुकेर १६–३६,४ तपाहा आदि पुराना सिंचाई प्रणालीमा आवश्यक पानी पुगोस् भनेर दोभानको विद्युत् गृहबाट निस्केको पानी केही मात्रा तिनाउमा छोडेर अरु सबै बेल्बास जाने सुरुङबाट जान्छ ।
वर्षायाममा कालीगण्डकीबाटै आवश्यक मात्रामा पानी ल्याइन्छ । बुटवललाई खतरा कालीगण्डकीको पानीको होइन, तिनाउको जलाधार क्षेत्रको भू–स्खलनबाट उत्पन्न प्रकोप बाढी पहिरोबाट खतरा विद्यमान छ । तिनाउको जलाधार र बहाव क्षेत्रको संरक्षणमा ध्यान दिन जरुरी छ ।
अझै हाँसो लाग्ने तर्क छ– चितवन राष्ट्रिय निकुञ्जभित्र जीवजन्तुहरूलाई पानीको कमी हुन्छ । यस्तो पनि तर्क गरेर विरोध गर्नेलाई के भन्नु ? नारायणी नदीको पानीमा कालीगण्डकी तिनाउ डाइभर्सन निर्माण हुँदानहुँदै बुढीगण्डकी जलाशय आयोजना निर्माण भएर थप पानी प्रबाह हुँदैछ । भारतका उत्तर प्रदेश र बिहार नहरहरुमा पनि पानी घट्दैन ।
कालीगण्डकी–तिनाउ डाइभर्सन नेपालको विकासमा फड्को मार्ने आयोजना हो । नेपाली जनता र राष्ट्रको समृद्धितर्फको यात्राको सुरुवात हो । यो आयोजनाले कसैको अहित गर्दैन, सबैको हित र सबैलाई फाइदै–फाइदा छ । सबैले सहयोग गरौँ, आयोजना छिटो सम्पन्न गरौँ ।

Leave a Reply