जातलाई होइन, गरिबलाई आरक्षण

केही दिनअघि मात्रै दलित समुदायका एकजना सेवानिवृत्त सचिवको लेख कतै पढेको थिएँ । उहाँले आफू दलित भएकै कारण सोचेजति माथि पुग्न नसकेको गुनासो गर्नुभएको रहेछ ।

उहाँका कतिपय भोगाइहरू सत्य हुन सक्छन् । अझै पनि समाजमा जातीय विभेदका अवशेषहरू बाँकी नै छन् । तर, दलित भएकै कारण अघि बढ्न सकिनँ भन्ने गुनासो चाहिँ उहाँको सन्दर्भमा पत्यारिलो लागेन । यदि त्यस्तो हुन्थ्यो भने उहाँ निजामति सेवाको सबैभन्दा उच्च ओहदासम्म कसरी पुग्नुभयो त ? ‘तँ दलित सचिव बन्न सक्दैनस’ भनेर राज्यले रोक्थ्यो होला नि ?

यति मात्रै होइन, उहाँ आफ्नो जागिरे जीवनकै बीचमा धेरै वर्ष विदेश बस्नुभएको रहेछ । सामान्यतया सरकारी छात्रवृत्तिमा पढ्न जाने कर्मचारीहरूले बढीमा तीन वर्षसम्मको अध्ययन बिदा पाउँछन् । तर, उहाँ सरकारी कोटामा नभएर आफ्नै हिसाबले जानुभएर पनि नेपालमा जागीर सुरक्षित नै रह्यो ।

राज्यबाट यसप्रकारको सहुलियत पाएको र निजामति सेवाको सर्वोच्च पदमा पुगेको व्यक्तिले नै म दलित भएका कारण माथि उठ्न सकिनँ भन्नु लघुताभासमात्रै हो जस्तो लाग्छ । कम्तीमा राज्यको तर्फबाट चाहिँ उहाँ अन्यायमा पर्नुभएको देखिँदैन । नेपालको विद्यमान नियम-कानूनहरू पनि दलितलाई रोक्नेभन्दा टेको लगाएर माथि उठाउने खालकै छन् । यद्यपि, सामाजिक हिसाबबाट दलितले अझै केही समस्याहरू झेल्नु परेको यथार्थलाई नकार्न सकिँदैन ।

रुपा प्रकरणको धरातल

अहिले दलितलाई घर भाडामा नदिइएको विषय निकै चर्चामा छ । मैले पनि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका टिप्पणीहरू हेरिरहेकै छु । घटनालाई अलि अतिरञ्जित गरियो कि जस्तो लाग्छ मलाई । यो यति ठूलो ‘स्क्यान्डल’ नबन्नुपर्थ्यो ।

कोठा र कोठा तुलनायोग्य कुरा होइनन् । दलितले कोठा नपाउने कुरा एउटा सामाजिक समस्या हो, जुन जनचेतनाको स्तरसँग जोडिएको हुन्छ । यो मान्छेको दृष्टिकोण र परम्पराबाट बाहिर निस्किन नसकेको कुरा हो । बाहुनले कोटा नपाउने कुरा चाहिँ राज्यको नीति सम्बन्धित छ ।

अहिले यसमा दुईवटा कोणबाट बहस भइरहेका छन् । पहिलो, कुनै पनि घरबेटीले आफ्नो घरको कोठा कसलाई भाडामा दिने वा नदिने भन्ने उसको निजी विषय हो । र दोस्रो, एक दलित युवतीलाई कोठा नदिएर घरबेटीले जातीय विभेदको अपराध गरिन् ।

कुनै पनि व्यक्तिको घर भनेको उसको निजी सम्पत्ति हो भन्नेमा दुईमत छैन । आफ्नो सम्पत्तिको भोगचलन के-कसरी गर्ने भन्ने अधिकार उसमा निहीत हुन्छ । यसर्थ घरबेटीले आफ्नो घर आफ्नै इच्छाअनुसार भाडामा लगाउँछन् । तर, कसैलाई पनि ‘तँ तल्लो जातको होस, त्यसैले मेरो कोठा भाडामा दिन्न’चाहिँ भन्न पाउँदैन । त्यसो भन्नु जातीय विभेद हुन्छ ।

अहिलेको घटनामा दुईजनाबीचको फोन सम्वाद सुन्दा घरबेटीले ‘आफूलाई समस्या नभएको तर घरमा बुढी आमा भएकाले अप्ठेरो हुन्छ’ भनेर विनित भावमा आग्रह गरेकी छन् । युवतीले चाहिँ घरबेटीलाई जेलमा पुर्‍याउने प्रमाण सिर्जना गर्नकै लागि उनीसँग फोन संवाद गरेको र त्यसलाई मोबाइलमा रेकर्ड गरेको आशंका गर्ने ठाउँ छ । सुरूमा कोठाको कुरा मिलिसकेपछि युवती आफैंले जातको कुरा निकाल्नुले पनि यस्तो आशंकालाई बल पुग्छ ।

प्रौढ उमेर र कमजोर चेतनास्तरकी एक महिलालाई हिरासतमा पुर्‍याएर आफू ‘हिरो’बन्न खोज्ने चेष्टा राखिएको हो भने त्यो गलत मानसिकता हो । बरु उनले अलिकति सम्झाउने, बुझाउने प्रयास गरेको भए पो हुन्थ्यो कि ? सबै समस्याको समाधान कानून होइन ।

साथै, यो घटनाले जातीय छुवाछुतको सन्दर्भमा पुरानो पुस्ता र नयाँ पुस्ताबीचको अन्तराललाई पनि उजागर गरेको छ । सरस्वतीले आमाको कारणले दलितलाई कोठामा राख्न नसक्ने आशय व्यक्त गरेकी छन् । बुढाबुढी भएका घरहरूमा त्यस्तो खालको समस्या हुन्छ नै । तर, अहिलेको नयाँ पुस्ताले जातपात मान्न छोडिसक्यो । यो दलित समुदायले पनि महसुस गरेकै हुनुपर्छ । पहिले र अहिलेमा आकाश-जमिन फरक छ । कतिपय बुढाबुढीहरू पनि प्रगतिशील विचारका छन् । त्यसैले यो एउटा एउटा घटनाले अहिलेको सिंगो समाजको चरित्रलाई प्रतिनिधित्व गर्दैन ।

कोठा र कोटाको बहस

रुपा प्रकरणपछि सामाजिक सञ्जालमा ‘कोटा’अर्थात जातीय आरक्षणको बहस पनि सुरु भएको छ । यो बहसलाई निस्कर्षमा पुर्‍याउनु अहिलेको आवश्यकता हो ।

‘तिमीले कोठा पाएनौं, हामीले कोटा पाएनौं’ भन्ने खालका एकथरि टिप्पणी आइरहेका छन् । तर कोठा र कोठा तुलनायोग्य कुरा होइनन् । दलितले कोठा नपाउने कुरा एउटा सामाजिक समस्या हो, जुन जनचेतनाको स्तरसँग जोडिएको हुन्छ । यो मान्छेको दृष्टिकोण र परम्पराबाट बाहिर निस्किन नसकेको कुरा हो ।

बाहुनले कोटा नपाउने कुरा चाहिँ राज्यको नीति सम्बन्धित छ । राज्यले जातका आधारमा नागरिकहरूलाई विभेद गर्नु ठीक छ कि छैन भन्ने हो । त्यसैले कोटाको विषयमा भिन्दै बहस आवश्यक छ ।

जातका आधारमा सरकारी जागीरमा आरक्षण दिने व्यवस्था नेपालको कानूनले गरेको छ, जुन आफैंमा गलत अभ्यास हो । वास्तवमा भन्ने हो भने यस्तो व्यवस्थाले दलितमाथि नै अन्याय भइरहेको छ । उनीहरूलाई माथि उठ्न रोकिरहेको छ । ‘हामी कमजोर जाति हौं,’ भन्ने खालको लघुताभासलाई यसले बढावा दिन्छ । उनीहरूको आत्मविश्वासलाई गिराउँछ र ‘दलित’ कै मानसिकतामा राखिराख्छ ।

अनिश्चितकालसम्म कुनै जातिविशेषलाई राज्यले आरक्षण दिने प्रथा सम्भवतः संसारका कुनै पनि मुलुकमा छैन । नेपालमा जातीय आरक्षण दिन थालिएको १५ वर्ष भइसक्यो । यो अवधिमा दलित र उत्पीडितहरूको जीवनस्तर कति माथि उठ्यो त ? केही टाठाबाठाहरू उच्च पदमा पुग्नेबाहेक अरु सुधार भएजस्तो लाग्दैन ।

कोटा प्रणाली अनन्तकालसम्म कायम राख्नु हुँदैन । अझ जातीय आधारमा त हुँदै हुँदैन । कमजोर आर्थिक अवस्था भएकाहरूलाई शिक्षा-स्वास्थ्य जस्ता क्षेत्रहरूमा आरक्षण तथा सहुलियत दिन सकिन्छ । बाहुनहरू जति सबै हुनेखाने र मधेसी-जनजाति-दलित सबै विपन्न छैनन् । विनोद चौधरीले कोटा पाउने र कर्णालीको एउटा गरिब बाहुनले खुल्ला प्रतिस्पर्धा गर्नुपर्ने नीतिलाई तपाईं कसरी ठीक मान्न सक्नुहुन्छ ?

अनि, सबै सहुलियतबाट वञ्चित गरिएका बाहुनहरूले नै आज जसको पनि गाली सहनुपर्ने किन ? आर्थिक हिसाबले हेर्ने हो भने बाहुनभन्दा नेवार-मारवाडीहरू बढी सम्पन्न छन् । व्यापार-व्यवसायमा उनीहरूको प्रभूत्व छ । बाहुनहरू बढीजसो जागीरमा सीमित छन् । कर्मचारी, शिक्षक, कर्मचारी, डाक्टर आदि बाहुनहरू धेरै होलान् । त्यो उनीहरूले कसैको कृपादानबाट नभएर आफ्नो योग्यताका आधारमा पाएको काम हो ।

योग्यताभन्दा जात अगाडि आएपछि ९० प्रतिशत अंक ल्याउनेलाई पन्छाएर ५० प्रतिशत ल्याउनेले पद हत्याउन सक्ने भयो । एउटा सरकारी कार्यालयलाई कम्युटर अपरेटर चाहिएको छ भने सीप हेरेर भर्ना गर्ने कि जात हेरेर ? नेवानीलाई ५ जना पाइलट चाहिएको छ भने मधेसी यति, दलित यति, जनजाति यति भनेर भागबण्डा गर्दा कस्तो नतिजा आउँला ?

तपाईंको पिता-पुर्खा कुन क्षेत्रमा हुनुहुन्छ भन्नेले पनि त्यो निर्धारित हुन्छ । मेरो बुबा सरकारी जागिरे हुनुहुन्छ भने मेरो पनि झुकाव त्यतैतिर जाने हो । व्यापारी हुनुहुन्छ भने सानैदेखि व्यापारमै दख्खल हुने हो । अब, व्यापार-व्यवसायमा आफ्नो उपस्थिति कमजोर भयो भनेर बाहुनहरूले आरिस गरेर हुन्छ ?

पहिलेजस्तो विभेद अहिले छैन

जातीय छुवाछुतको कुरा गर्ने हो भने पहिले र अहिले आकाश-जमिन फरक छ । आजभन्दा ४०-५० वर्षअगाडिको अवस्था अर्कै थियो । त्यसबेला चाहिँ साँच्चिकै दलितलाई मानिसको व्यवहार हुन्थेन । बाहुन-क्षेत्रीबीच नै विभेद थियो ।

म चाहिँ अलि प्रगतिशील सोच राख्ने परिवारमा हुर्किएँ । मेरो बुवा पुरेत हुनुहुन्थ्यो र पनि जातीय छुवाछुतको कट्टरता उहाँमा थिएन । म गाउँमा हेडमास्टर भएर काम गर्दा जनचेतना जागृत गर्नकै लागि हरेक शुक्रबार दलितको घरमा गएर खान्थेँ र त्यहीँ बास बस्थेँ ।

त्यसबेला दलित मात्र होइन, ठूला भनिने जातहरूमै पनि विभेद थियो । म एकपटक कुमाइको घरमा खाना खान जाँदा मलाई चौकामा उक्लिन दिएनन् । उपाध्यायले आफूलाई सबैभन्दा ठूलो ठान्थे भने कुमाइले आफूलाई उपाध्यायभन्दा पनि ठूलो ठान्थे । उनीहरूबीच विहेबारी चल्दैनथ्यो ।

आजको समय अर्कै छ । आजका युवाहरू जातपातमा विश्वास राख्दैनन् । उनीहरू जातको कुरा गरेकै मन पराउँदैनन् । अन्तरजातीय विवाहहरू बढिरहेका छन् । दलित र बाहुनबीच पनि बिहेबारी भएका छन् । परिवारले स्वीकार्न थालेका छन् । त्यसैले अबको केही वर्षहरूमा नेपालमा जातीय छुवाछुत आफैं उन्मुलन भएर जानेछ भन्ने विश्वास छ ।

जातीय विभेदको न्यूनीकरणमा कानूनी कारवाहीले अलिकति सहयोग पुग्ला तर, मुख्य समाधान भनेको चेतना अभिवृद्धि नै हो । साथसाथै, दलित समुदायको आर्थिक एवं सामाजिक हैसियतलाई माथि उकास्नु पनि महत्वपूर्ण हुन्छ । तपाईं यदि आर्थिकरूपमा सबल हुनुहुन्छ भने कसैले हेप्न सक्दैन । कुनै दलितले एउटा शानदार घर बनायो भने बाहुनले त्यो घरमा कोठा लिन्न भन्छ र ? एउटा दलित उत्कृष्ट चिकित्सक भएर निस्कियो भने कुनै बिरामीले त्यो डाक्टरलाई जचाउँदिन भन्छ र ? कुनै दलित शिक्षकले राम्रो पढाउँछ भने बाहुन विद्यार्थीले उसित पढ्दिन भन्छ ?

आरक्षण दिने होइन, दलितलाई पनि अरु जातिसरह प्रतिस्पर्धा र क्षमतावान बनाउनुपर्‍यो । आरक्षणबाट पाएको अवसरमा गर्व हुँदैन, जति प्रतिस्पर्धामा भिडेर पाउँदा हुन्छ । आरक्षणबाट आएकाहरूलाई खुल्ला प्रतिस्पर्धाबाट आएकाहरूले हेप्छन् । यसकारण दलितलाई खुल्ला प्रतिस्पर्धाका निम्ति लायक बनाउनुपर्छ । कोटा प्रणालीले प्रतिस्पर्धामा सक्षम दलितहरूलाई अन्याय हुन्छ ।

जातीय आरक्षणले राज्यका निकायहरूलाई पनि कमजोर बनाउँछ । योग्यताभन्दा जात अगाडि आएपछि ९० प्रतिशत अंक ल्याउनेलाई पन्छाएर ५० प्रतिशत ल्याउनेले पद हत्याउन सक्ने भयो । एउटा सरकारी कार्यालयलाई कम्युटर अपरेटर चाहिएको छ भने सीप हेरेर भर्ना गर्ने कि जात हेरेर ? नेवानीलाई ५ जना पाइलट चाहिएको छ भने मधेसी यति, दलित यति, जनजाति यति भनेर भागबण्डा गर्दा कस्तो नतिजा आउँला ?

नेपालमा त आफूलाई कम्युनिष्ट भन्नेहरूले नै जातीयतालाई मलजल गरिरहेका छन् । प्रचण्ड-बाबुरामले नेतृत्व गरेको जनयुद्धले नेपालमा जातीयताको बिउ रोप्यो । आज पनि उनीहरू एउटा जातमाथि अर्को जातलाई भिडाउने कर्ममा तल्लिन छन् । जातीयतालाई राजनीतिको भर्‍याङ बनाउने कुरा अत्यन्तै गलत हो ।

(अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुखआयूक्त उपाध्यायसँग नेपाल प्रेसले गरेको कुराकानीमा आधारित)

Comments

One response to “जातलाई होइन, गरिबलाई आरक्षण”

  1. चक्रपाणि दाहाल Avatar
    चक्रपाणि दाहाल

    योग्यता पुगेका हरुलाई दिने होला आरक्षण पनि । जसरी हामी गोठमा बाधेंर राखेका गाईको बाछो र गाईलाई‌ सँगै घाँस हाल्दा गाईलाई बेग्लै र बाच्छालाई बेग्लै हालिदिन्छौं, अर्थात बाच्छालाई घाँसको आरक्षण (इक्युटी) जानेर नजानेर हामी प्राकृतिक रुपमै गरिदिन्छौं । अर्थात् कमजोरलाई आरक्षण । तर त्यही बाच्छो बढेर गोरु वा गाई भएपछि एकैठाउँमा घाँस हालिदिन्छौं, अर्थात आरक्षण गर्दैनौं । त्यही कुरा मानवमा पनि लागु हुन्छ तर अलिकति फरक रुपमा । न्युनतम योग्यता पुगेकालाई दिने हो आरक्षण । डाक्टर नै नभएकोलाई डाक्टरमा आरक्षण हुँदैन र छैन पनि । यस्तै अन्य क्षेत्रमा पनि हो ‌ । कमजोरलाई सक्षम बनाउन आरक्षण नभई हुन्न, तर एक पटक आरक्षण लिइसकेको ब्यक्तिको परिवारले पुन: आरक्षण पाउनु हुन्न, किनकि आफ्ना परिवारलाई सक्षम बनाउनु उस्को दायित्व हुन्छ; राज्यले उसलाई आरक्षण दिएर आफ्नो कर्तव्य पूरा गरिसकेपछि बाँकीको जिम्मेवारी उस्ले लिनु पर्दछ र यस्तो आरक्षणको सुबिधा अर्को परिवारले पाउनु पर्दछ । यदि यसरी कुनैपनि परिवारमा आरक्षण नदोहोरिने हो भने न्याँय पनि हुन्छ र कालान्तरमा आरक्षणको आवस्यकता नै पर्दैन । यदि यसो नगर्ने हो भने (अहिलेको व्यवस्था) केहि सक्षम भइसकेका तर आरक्षणको क्याटागोरीमा पर्नेहरुकै हालीमुहाली हुन गई सामाजिक बिभेद अनन्तकालसम्म चलिरहने पक्का छ । अत: न्यायोचित र बैज्ञानिक ढंगको आरक्षण नेपाली समाजलाई आवस्यक छ । सही कुरा यहि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *