मोटरसाइकलको ठक्करबाट २ बालिकाको मृत्यु, दुई घाइते

राजविराज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका-२ स्थित ट्यांकरले दुई किलोमिटरकै दुरीमा दुई वटा मोटरसाइकललाई ठक्कर दिएको छ । ठक्करबाट दुवै मोटरसाइकलमा पछाडी सवार एक-एक जना बालिकाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् ।

शनिवार दिउँसो पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ७ ख ५४९५ नम्बरको ट्यांकरले स ११ प २५८५ र स २ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको हो । सितापुरमा भएको दुर्घटनामा २५८५ नम्बरमा सवार रुपनी गाउँपालिका-३ कटैयाका विष्णुदेव परमाणीकी ८ वर्षीया छोरी यसोधा कुमारी परमाणीको मृत्यु भएको छ ।

सोही मोटरसाइकलमा सवार यसोधाकी ३२ वर्षीया आमा सुमनदेवी परमाणी र मामा कुसुमलाल मण्डल घाइते भएका छन् ।

यसैगरी सितापुरभन्दा करिब २ किलोमिटरको दुरीमा रहेको चाँदनी चौकमा पनि सोही ट्याक्टरले ५२४५ नम्बरको मोटरसाइकल ठक्कर दिएको छ । मोटरसाइकलमा पछाडी सवार कंचनरुप नगरपालिका-६ घोघनपुरका मो.अरणजैबकी ७ वर्षीया छोरी सुमैया प्रविणको मृत्यु भएको छ । यसैगरी सोही मोटरसाइकलमा सवार नविया प्रविण घाइते भएका छन् ।

घाइतेहरुको उपचारको लागि ठेलियास्थित अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र प्रसाद धमलाले बताए ।

उता, दुर्घटना लगत्तै आक्रोशित बनेका स्थानीयहरुले सडकमै शव राखेर राजमार्ग अवरुद्ध गरेका छन् । मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र मनोमानी ढंगले ट्यांकर चलाउने चालकलाई कारवाही हुनुपर्ने माग गर्दै उनीहरु सडक अवरुद्ध गरेका हुन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *