चामेमा मर्स्याङ्दी नदी थुनियो, तल्लो तटीय क्षेत्रमा झन् जोखिम

मनाङ । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदीमा पहिरो खस्दा पूर्णरुपमा थुनिएको छ । वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

उनले भने, ‘अहिले यहाँ निरन्तर वर्षा भइरहेको छ, चामेबजार जाने ठूलो पुल नजीक पहिरो खस्दा मस्र्याङ्दी नदी थुनिएको छ, नदी थुनिँदा पानीको सतह झन्झन् बढ्दै गएको छ, जोखिम झनै बढेको छ,’ चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको हो ।

माथिबाट झरेको पहिरो ढुङ्गामाटो र काठदाउराले मर्स्याङ्दी नदी थुनिँदा पानी जमेर ठूलो ड्याम बनेको छ । थुनिएको भागबाट मर्स्याङ्दी बगे पनि पानी निरन्तर परिरहेकाले बहाव बढेको छ । यसबाट चामेको पारिपट्टिको भाग डुबानमा छ ।

सिङ्गो चामेबजार जोखिममा परेको छ । बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एकमात्र बेलीब्रिजसमेत कटान गरेको छ । नदीमा बाढी बढ्दै गएकाले चामेबजार उच्च जोखिममा परेको छ ।

प्रजिअ लामिछानेका अनुसार नदीको बहाव बढ्दै गएको र यसले चामेबजार थप जोखिममा परेको छ । उनले नेपाली सेनामार्फत बम विस्फोट गराई मर्स्याङ्दी खुलाउने भनिएकामा पानी निरन्तर परिरहेकाले समस्या भएको बताए ।

सुरक्षाका सबै निकायसँग समन्वय गरी अहिले खुलाउने प्रयास भइरहेको उनले बताए । लगातारको वर्षात्‌ले पानीको बहाव बढेकाले जोखिम उच्च रहेको प्रजिअ लामिछानेले बताए । त्यही कारण चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन भनिएको उनले जानकारी दिए ।

हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी

मनाङका स्थानीय हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जान थालेका छन् । यही असार १ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिराले गाउँमा सुरक्षित नभएपछि सुरक्षित स्थानमा हिँडेका हुन् ।

हालसम्म पनि वर्षा र जोखिम कायम रहेपछि मनाङेहरु लमजुङ, काठमाडौँ, पोखरातर्फ आउन थालेका हुन् । नासो गाउँपालिका-८ ताचे ओडारका ३५ वर्षीय विष्णु घले, ३२ वर्षीय चन्द्रकाशी गुरुङ, ३१ वर्षीय सञ्जय गुरुङ, १४ वर्षीय सविना गुरुङ र सोही हेलिकप्टरमा गोरखा सिरनचोकका २२ वर्षीय पुकार गुरुङ आज मनाङबाट हेलिकप्टर रिजर्भ गरेर लमजुङ आइपुगेका छन् ।

पुकार गुरुङ भने गत जेठ २६ गते मनाङ ताचे घुम्न गएको र पहिराका कारण रोकिएर बसेका थिए । विष्णु घलेले भने, ‘मनाङ ताचेबाट हेलिकप्टरमा हामीले प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले तिरेर बेँसीशहर आएका हौँ । यसरी आउनु हाम्रो रहर होइन बाध्यता भएको उनको भनाइ छ । घलेले भने, ‘गाउँभन्दा तल नै सुरक्षित छ, मनाङका गाउँहरुमा वारिपारि पहिरो अझै पनि गइरहेको छ । गाउँमा बिजुली लाइन छैन, वाइफाई छैन, बाटो छैन, मोबाइलमा चार्ज गर्न पाएको छैन यतिबेला त्यहाँ धेरै समस्या रहेको उनीहरुको भनाइ छ ।’

हामीमध्ये लमजुङमा कोही शिक्षक कोही विद्यार्थी रहेको र सोका लागि पनि आएको चन्द्रकाशी गुरुङले बताए । उनले भने- हिँडेर आउनलाई बाटो छैन, जोखिम बढी छ, नआऔँ भने यता काम पनि गर्न पाइँदैन । यसरी आउने हामी मात्र होइन गाउँका अन्य स्थानीयपवासी पनि हेलिकप्टरबाट लमजुङ काठमाडौँ जान थालेको उनीहरुको भनाइ छ ।

मनाङ घर भए पनि रोजगारीलगायत विभिन्न कामले जिल्लाबाहिर बस्नेहरु यतिबेला काठमाडौँ, लमजुङ हेलिकप्टरबाट जाने क्रम जारी रहेको विष्णु घलेले बताए । उनले भने, ‘यसरी जाँदा त्यहाँभन्दा तल नै सुरक्षित हुन्छ, आफ्नो काम पनि गर्न पाउँछन् । गाउँमा हुँदा अब मर्छौं होला, हाम्रो गाउँ वरिपरि पहिरो गएको छ, पानी रोकिएको छैन, गाउँबाट कतै जानलाई पनि बाटोसमेत सबै भत्किसकेकाले डरमा थियौँ तर अब भने बाँचिन्छ खुशी लाग्यो ।’

मनाङमा जोखिम अझै पनि कायम रहेकाले आफू खुशी र पैसा भएकाहरुले निजी हेलिकप्टरमार्फत पनि जिल्ला बाहिरका विभिन्न ठाउँमा गइरहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । आज पनि वर्षा भएकाले मर्स्याङ्दी नदीमा पानीको बहाव बढेर चामेबाट माथिल्लो मनाङ जाने पुलसमेत उच्च जोखिम बनाएको उनको भनाइ छ ।

हेलिकप्टर लमजुङ हुँदै मनाङ आवतजावत गरिरहेको छ । यसरी आवजावत गर्दा यहाँका स्थानीयवासीको समेत सोतर्फ ध्यान केन्द्रित हुने गरेको छ ।

-रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *