सल्यान अस्पतालमा मनपरी- २ लाखकाे काममा ४० लाख विल पेश गर्ने कम्पनीलाई थप १८ लाखको ठेक्का

सुर्खेत । सल्यान जिल्ला अस्पतालमा जेठ एक गते अक्सिजन प्लान्टको नाममा ४० लाख रुपैयाँमा खरिद गरिएको अक्सिजन कन्सन्ट्रेटरबारेको विवाद अख्तियारमा पुगे पनि सोही कम्पनीलाई १८ लाख रुपैयाँमा अक्सिजन पाइपलाइन विस्तारको जिम्मा दिइएको छ ।

ड्रागन सप्लायर्सले करिव २ लाख पर्ने अक्सिजन कन्सन्ट्रेटरलाई ४० लाखको विल बनाएर रकम असुल्न खोजेपछि अख्तियारमा मुद्धा परेको छ । अहिले सोही कम्पनीलाई विना प्रतिस्पर्धा १५ शय्याको अस्पतालमा ९३ मिटर तामाको पाइपबाट अक्सिजन आपूर्तिको व्यवस्था गर्ने ठेक्का दिइएको छ ।

‘मुस्किलले सात लाखमा पाइपलाइन बन्ने देखिन्छ तर यहाँ आएको सबै १८ लाख नै त्यही शीर्षकमा खर्च गरेको देखाउने गरी काम भइरहेको छ,’ अस्पतालका एक कर्मचारी भन्छन्, ‘सार्वजनिक खरिद ऐन अनुसार कम्तिमा प्रक्रिया पुरा गर्नुपर्ने थियो, तीन दिने सूचना जारी गर्नुपथ्र्यो केहि गरिएन । बरु अक्सिजन प्लान्ट भन्दै अस्पताललाई कन्सन्ट्रेटर भिडाउने ठग कम्पनीलाई नै पोस्ने काम भएको छ ।’

अस्पतालका निमित्त व्यवस्थापक दशरथकुमार श्रेष्ठले डीसीसीएमसीको निर्णयका आधारमा सो कम्पनीलाई ठेक्का दिइएको स्वीकार गरे ।

‘पाइपलाइन जडानको कामका लागि कुनै पनि प्रक्रिया अपनाएका छैनौं । डिसीएमसीको निर्णयका आधारमा हामीले पाईप जडान गर्ने व्यक्ति खोजेका थियौं । अरु नपाउँदा सोही कम्पनीलाई जिम्मा दिएका हौं ।’

उनले बजेट १८ लाख भए पनि लागत खर्चका आधारमा प्राविधिक जाँचपछि मात्रै भुक्तानी गरिने प्रतिबद्धता जनाए । ‘अक्सिजन कन्सन्ट्रेटरको पनि भुक्तानी दिइसकेका छैनौं । पाइपलाइनको त काम भइरहेको छ,’ श्रेष्ठ भन्छन्, ‘अहिले १५ वेडमा पाइपलाइनबाट अक्सिजन दिइरहेका छौं । प्राविधिक स्टिमेटअनुसार भुक्तानी गर्नेछौं ।’

अस्पतालको एम्बुलेन्स दुई वर्षदेखि ग्यारेजमै

यसैबीच जिल्ला अस्पतालको एम्बुलेन्स दुई वर्षदेखि अस्पतालकै ग्यारेजमा थन्किएको पाइएको छ । कोरोना महामारीमा सुर्खेत पछि सबैभन्दा बढी संक्रमित सल्यानमा भए पनि सल्यान जिल्ला अस्पतालमा भने एउटा पनि एम्बुलेन्स सन्चालनमा छैन । दुई वर्षदेखि बिग्रेर थन्किएको एम्बुलेन्स बनाउनतर्फ भने कसैको ध्यान गएको छैन ।

‘एम्बुलेन्स नहुँदा अस्पतालमा धेरै समस्या भएको छ । कोरोना महामारीमा जिल्ला भरिका विरामीलाई सेवा दिनुपर्ने कार्यालयले नै एम्बुलेन्स भन्दा कमिसनतिर ध्यान दिएका कारण एम्बुलेन्स थन्किएको हो,’ शारदा नगरपालिका वडा नं. ५ का रुपेश राना भन्छन्, ‘कम्तिमा अस्पतालमा एम्बुलेन्स भएको भए नागरिकले सहजै सेवा त पाउँथे नि।’

उनले अक्स्जिन कन्सन्ट्रेटर देखि पाइपलानसम्मका कुरा आए पनि अन्य कुरामा कार्यालय भित्र के भइरहेको छ भन्ने कुराको कसैलाई जानकारी नभएको बताए ।

कर्णाली प्रदेश सरकारले सल्यान जिल्ला अस्पतालका लागि यो वर्ष मात्रै एक करोड रुपैयाँ दिएको छ । यसका अलावा अक्सिजन प्लान्टका लागि भन्दै चालीस लाख, पाइपलाइन जडानका लागि भन्दै १८ लाख बजेट पठाइसकेको छ तर कार्यालयले विग्रेको एम्बुलेन्स बनाउन लाग्ने दुई लाख दुई वर्षदेखि छुट्याएको छैन ।

अस्पताल विकास समितिका अध्यक्ष सीपी वलीले अस्पतालमा बजेट नभएका कारण एम्बुलेन्स बनाउन नसकिएको बताए । ‘म अध्यक्ष भएको दश महिना भएको छ । यो दश महिनामा मैले बजेट व्यवस्थापनका लागि स्वास्थ्य कार्यालय, प्रदेश सरकार तथा अन्य निकायमा सहयोग माग गरिरहेको छु,’ वली भन्छन्, ‘त्यसका अलावा अस्पतालसँग बजेट नभएका कारण हामीले एम्बुलेन्स बनाउन नसकेको साँचो हो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *