विपक्षी गठबन्धन आज सर्वोच्च जाँदै, सबै सांसदलाई अदालतमै बोलाइयो

काठमाडौं । प्रतिनिधिसभा विघटनको विपक्ष र शेरबहादुर देउवाको नेतृत्वमा वैकल्पिक सरकार गठनको पक्षमा रहेका विपक्षी दलहरु आज सर्वोच्च अदालत जाँदैछन् ।

प्रतिनिधिसभा विघटन बदर र देउवालाई बहुमतको समर्थन भएकोले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै विपक्षी दलका सबै सांसदहरुले रीट दायर गर्न लागेका हुन् ।

आइतबार रीट निवेदन लेख्ने, सांसदहरुको नागरिकता, परिचयपत्र र हस्ताक्षर जुटाउने लगायतका कामले गर्दा नभ्याइएको रीट आज अदालत खुल्नासाथ पेश हुने जनाइएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीलाई विपक्षी बनाएर रीट दायर गर्न लागेका हुन् ।

सो रीटमा संविधानको धारा ७६ को ५ अनुसार प्रतिनिधिसभाका बहुमत सदस्यहरु देउवालाई प्रधानमन्त्री बनाउन तयार रहेकोले वैकल्पिक सरकार गठनको सम्भावना जीवितै रहेको दावी गरिएको छ ।

‘वैकल्पिक सरकार गठन गर्न बहुमत प्रतिनिधिसभा सदस्य तया रहेको अवस्थामा संसदले वैकल्पिक सरकार दिन सकेन भन्नु असंवैधानिक हो । त्यस्तै बहुमत सांसदहको हस्ताक्षरसहित प्रधानमन्त्रीमा गरिएको दावी अस्वीकार गर्नुपनि असंवैधानिक हो । त्यसैले रीटमा संसद पुनःस्थापनासंगै सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नसमेत माग गरेका छौं’, कांग्रेस नेता रमेश लेखकले भने ।

आज रीट निवेदन दर्ता गर्न जाने क्रममा सबै सांसदहरुलाई आफै उपस्थित हुन दलहरुले सर्कुलर समेत गरेका छन् ।

Comments

One response to “विपक्षी गठबन्धन आज सर्वोच्च जाँदै, सबै सांसदलाई अदालतमै बोलाइयो”

  1. Pushker Kadel Avatar
    Pushker Kadel

    हिजो माझण्ड (माधव+झलनाथ+प्रचण्ड) हरूले नेकाका उम्मेदवारहरूसँग प्रतिस्पर्धा गर्न आफ्नो निर्वाचन क्षेत्र एकपटक भएपनि केपी ओलीको भाषण खोजे र चुनाव जिते। अहिले निष्ठा विधि र पद्धतिको वकालत गरेर पार्टीमा विग्रह ल्याउन भूमिका खेल्दै वामपन्थी आन्दोलनलाई रसातल पुर्याउन नेका सभापति शेरबहादुर देउवालाई प्रम बनाउनका लागि रातदिन नभनी खटिएका छन्। माझण्डवा मोर्चा बनाएका छन्। प्रेरणाको श्रोत के होला? अनि नेता तथा कार्यकर्ताहरूले आफ्नो धारणा बनाउन सजिलो हुन्थ्यो कि!

Leave a Reply

Your email address will not be published. Required fields are marked *