सांसदको हस्ताक्षरबारे एमाले कार्यदल बैठकमा माधव पक्षकै दुईथरी मत

काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन गठित वार्ता टोलीको बैठक शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको बारे माधव नेपाल पक्षका सदस्यहरुकै दुईथरी मत आएपछि मुख्य एजेण्डामा छलफल नै नभई टुंगिएको छ ।

करीव डेढ घण्टाको छलफल पार्टीको अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन आफ्नै सांसदले हस्ताक्षर गरेको कुरा उठेपछि त्यसमै केन्द्रित रहेको वार्ता टोली संयोजक सुवास नेम्वाङले बताए ।

नेम्वाङका अनुसार वार्ता टोलीमा रहेका सुरेन्द्र पाण्डे,घनश्याम भुसाल र गोकर्ण विष्टले देउवालाई प्रधानमन्त्री बनाउन आफूहरुले हस्ताक्षर नगरेको बैठकमै जानकारी गराएका थिए । माधव नेपाल पक्षका वार्ता टोली संयोजक भीम रावलले भने संसदको विघटन रोक्नका लागि हस्ताक्षर गरिएको जवाफ दिएका थिए ।

रावलको भनाइ उदृत गर्दै एक वार्ताकारले भने–शेरबहादुरलाई प्रधानमन्त्री नबनाई संसद विघटन रोक्न नसकिने भइयो,त्यसैले हस्ताक्षर गरेका हौं । प्रधानमन्त्रीको नियत संसद विघटन गर्ने देखियो र उहाँको नियत पार्टी एकताको पक्षमा पनि देखिएन ।

मुख्य एजेण्डामा खासै छलफल हुन नसकेपछि अर्को बैठक आपसी समझदारीमा तय गर्ने गरि आफूहरु उठेको नेम्वाङले बताए । यसबीचमा आफ्ना आन्तरिक छलफल र गृहकार्य हुने उनले जानकारी दिए ।

माधव नेपाल विपक्षी गठबन्धनमा लागिसकेको र नेपाल पक्षका कतिपय सांसदले हस्ताक्षर दुरुपयोग भयो भनिरहेको सन्दर्भमा अब वार्ता टोलीको अर्को बैठक नबसी भंग हुन सक्ने सम्भावना पनि रहेको नेताहरुले बताएका छन् ।

Comments

One response to “सांसदको हस्ताक्षरबारे एमाले कार्यदल बैठकमा माधव पक्षकै दुईथरी मत”

  1. Pushker Kadel Avatar
    Pushker Kadel

    भिमबहादुर रावललाई माधव नेपालसँगै तुरून्तै पार्टीबाट विधिवत निस्कासन गर्नुपर्छ। यदि तर गरेर अलमल गरे पार्टी सङ्कटमा पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *