प्रहरी अस्पतालमा कोभिड बिरामीलाई निःशुल्क उपचार र खाना : एआईजी डा. आशा सिंह (भिडियो)

कोभिड-१९ को दोस्रो लहरले नेपालमा दिनानुदिन संक्रमित संख्या उच्च भइरहेका छन् । निजी तथा सरकारी अस्पतालले बिरामीको चाप थामिननसक्नुको छ । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा पनि संक्रमितहरूको चाप अत्याधिक छ । अन्त भन्दा फरक के छ भने , सर्वसाधारण र प्रहरी लगायत सबैलाई प्राथमिकतामा राखेर कोभिडको उपचार गरिरहेको प्रहरी अस्पतालले बिरलै मात्र बिरामी फर्काउनुपर्ने अवस्था आएको अस्पतालको निर्देशक एआईजी डा. आशा सिंह बताउँछिन् ।

उनका अनुसार प्रहरी अस्पतालले कोभिडको बिरामीलाई निःशुल्क उपचार गरिरहेको छ र औषधि र खाना पनि निःशुल्क गरेको छ । उनै डा. सिंहसँग कोभिड-१९ को महामारीमा अस्पतालले गरिरहेको उपचार र सेवासुविधाबारे नेपाल प्रेसले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

कोभिड-१९को दोस्रो लहर आएसँगै धेरैजसो सरकारी र निजी अस्पतालको व्यवस्थापन कमजोर भएको गुनासा आइरहेका छन् । नेपाल प्रहरी अस्पतालको हकमा व्यवस्थापकीय पाटो कस्तो छ ?

हामीले कोरोनाका बिरामी राख्ने व्यवस्था गरेका छौं । कोभिड इमर्जेन्सी व्यवस्थापन गरेका छौं । बेड पनि निकै बढाएका छौं । बेड नपुगेर टेन्टमा बिरामी राखेर र बन्दै गरेको नयाँ भवनमा बेड थपेर सेवा सुरु गरेका छौं ।

अक्सिजन दिने व्यवस्था गरेका छौं । त्यसबाहेक २ सय ६४ बेड कोभिडका लागि डेडिकेट गरेका छौं । २० वटा आईसीयू छ, ५० वटा एचडीओ छ । बाँकी १ सय ३५ बेड छ । त्यसबाहेक नर्मल अक्सिजन पनि नभएको बेड । त्यसमा पनि अक्सिजन राखेर उपचार दिने व्यवस्था मिलाएका छौं ।

हाम्रो फिभर क्लिनिक चलिरहेको छ । पीसीआर नियमित गरिरहेका छौं । ननकोभिड इमर्जेन्सी चालू छ । नन कोभिड आईसीयूमा बिरामी हुनुहुन्छ । इमर्जेन्सी अप्रेसन गरिरहेका छौं । नर्मल ओपीडी सेवााचाहिँ बन्द छ । जनशक्तिको व्यवस्थापनमा सम्पूर्ण चिकित्सकलाई टिममा विभाजन गरेका छौं । डीआईजीहरूलाई पनि ड्युटीमा खटाएका छौं । अहोरात्र खटिरहनुभएको छ सबै जना ।

सर्वसाधारणलाई नेपाल प्रहरी अस्पताल भन्नेबित्तिकै ‘यहाँ प्रहरीको मात्र उपचार हुन्छ’ भन्ने बुझाइ छ । प्रहरीलाई मात्र हो कि सर्वसाधराणलाई प्राथमिकताका साथ उपचार गरिरहनुभएको छ ?

आजको दिनमा हामीले सर्वसाधारणलाई उपचार सेवा दिइरहेका छौं । २०७४ सालसम्म प्रहरी अस्पताल प्ररहीको लागि मात्र थियो । बहालवाला प्रहरी, भूपू प्रहरी र उनीहरूको परिवार ।

०७४ पछि भने सर्वसाधारणहरूको पनि इच्छा देख्यौं । सबै सुविधा हेर्दा प्रहरीको सेवा नभई सिभिललाई पनि दिन सक्छौं भनेर धारणा बनायौं । त्यही अन्तर्गत पहिलो कोभिडको लहर आउँदा प्रहरी अत्यधिक मात्रामा संक्रमित भएका थिए । प्रहरी धेरै संक्रमित भएर उनीहरूलाई उपचार गर्नेमा प्रहरी अस्पताल पर्दछ । त्यतिखेर पनि सिभिललाई उपचार गरेका थियौं, संख्या कम थियो ।

कोभिडका बिरामी आउँदा बेड छैन भन्नुपर्दा निकै मन दुख्छ । सकेसम्म गरेको छ । सामाजिक सञ्जालमा जथाभावी लेखिदिएको हुन्छ । चुनौती सबैको लागि छ । त्यही भएर यो महामारी हो । विकसिकत मुलुकले त बेड नपुगेर सडकमा टेन्ट हालेर उपचार गरे । हामी यो बेला एकजुट हौं । अवश्य हामी महामारीबाट बाहिर निस्कन्छौं ।

दोस्रो लहर आउँदा त सिभिल र प्रहरी दुवैलाई उतिकै प्राथमिकतामा राखेर गरिरहेका छौं । व्यवस्थापकीय कठिनाइ अथवा अक्सिजन अभावका कारण समस्या भइरहेको छ । आशा गरौं, अक्सिजनको सप्लाइ नर्मल हुन्छ । अहिले पनि आईसीयूमा २० जना हुनुहुन्छ, त्यसमा १७ जना त सिभिल नै हुनुहुन्छ । इमर्जेन्सीमा पूरैै बेड थपेर अक्सिजन दिइरहेका छौं । कोटाचाहिँ अहिलेसम्म प्रहरी र सिभिललाई भनेर छुट्याएका छैनौं ।

अहिले नेपालका धेरै अस्पतालमा अक्सिजन र आईसीयू नै नपाएर बिरामीहरूले मृत्युवरण गर्नुपरेको अवस्था छ । यहाँ त्यस्तो अवस्था भोग्नुपरेको छ कि छैन बिरामीले ?

अहिले अत्यन्तै चुनौतिपूर्ण अवस्था छ । जस्तो बेड छ भनेर सोध्नुहुन्छ । हामी बेड त छ, अक्सिजन छैन भन्छौं । त्यही पनि भर्ना हुनुहुन्छ । उहाँको हालत अलिकति बिग्रन्छ । अक्सिजन बेडमा जानुहुन्छ । झन् बिग्रन्छ अनि आईसीयूमा लानुपर्ने हुन्छ । ती सबै भरिएका छन् । वार्डकै बिरामी त्यहाँ छन् । २२ दिनसम्म पनि आइसियु खाली हुने अवस्था हुन्न । लामो प्रक्रिया जान्छ । त्यो अवस्थामा आईसीयूमा एकदमै गम्भीर बिरामी आए भने हामीले उपचार त दिन्छौं । तर आईसीयू अपुग छ । त्यसकारण ज्यान त गुमेको छ ।

अहिलेसम्म कतिजना जतिने गुमाउनुपरेको छ त्यसरी ?

दुई जना । उहाँहरूलाई हामीले तपाईंहरू आईसीयू खोज्नुस् भनेका थियौं । उहाँहरूलाई इमर्जेन्सीमा तीन दिन राख्यौं । खाली भएपछि आईसीयू सिफ्ट त गर्‍यौं । तर ढिलो भइसकेको थियो ।

प्रहरी अस्पतालले भेन्टिलेटर र आईसीयूमा उपचार गरेर कति बिरामीलाई निको पारेको छ ?

अस्पतालमा भर्ना भएका कोभिडका बिरामीमध्ये ७५ प्रतिशतलाई निको पारेका छौं । गुमेका बिरामीहरू पनि उहाँहरू ढिलो आउनुभयो । घरमै अक्सिजा लिएर बस्नुभयो । अस्पताल आउँदा निमोनिया फैलिसकेको अवस्थामा आउनुभयो । त्यसरी आउँदा आईसीयूमै राखेर उपचार गर्दा पनि रिजल्ट त्यति राम्रो नआउने रहेछ ।

 बेड भए पनि अक्सिजन अभावको कुरा भन्नु नै भयो । यसर्थ उपचार गर्न ल्याइएका बिरामी फर्काउनुपर्ने अवस्था आयो आएन ?

आईसीयूका लागि आउनुहुन्छ कतिपय । हामीले छैन भनेका छौं । प्रायः समन्वय गरेर आउनुभएको छ । आइपुग्नु भएकोलाई चाहिँ सकेसम्म फर्काएका छैनौं फर्काउन भन्दा पनि आईसीयू फूल छ बेड छैन भन्छौं । अक्सिजनको एकदमै अभाव भएको बेलामा हामीलाई नर्मल अक्सिजन सिलिण्डर आईसीयू चलाउन चाहियो । नपुगेको अवस्थामा त अक्सिजन छैन भन्ने बाध्य अवस्थामा छौं हामी ।

बेड नभएपछि बाहिर टेन्टमा राखेर उपचार गर्‍यौं भनेर भन्नुभएको थियो । त्यसलाई कसरी व्यवस्थापन गर्नुभयो ?

टेन्टमा हामीले ६ वटा बेड राखेका छौं । बन्दै गरेको नयाँ भवनलाई पनि बेड नपाउन्जेलसम्म ४० वटा बेड राखेका छौं ।

यहाँ उपचार गर्न ल्याइएका बिरामीले तिर्नुपर्ने शुल्कबारे पनि बताइदिनुस् न ?

सबै निःशुल्क छ । नेपाल सरकारले हामीलाई सहयोग गरिरहेको छ । खाना पनि दिन्छौं, औषधि पनि दिन्छौं । कहिलेकाहीँ रेमडिसिभिर थिएन । बाहिरबाट ल्याउनु भन्थ्यौं । त्यो पनि अहिले हामीसँग छ । यहीँबाट उपलब्ध गराउँछौं । नन कोभिडको हकमाचाहिँ सर्वसाधारणलाई साधारण शुल्क तिर्नुपर्छ ।

अहिले अस्पतालको नेतृत्व गरिरहनुभएको छ । कोभिडको पहिलो चरणदेखि नै तपाईंले कस्ता चुनौति सामना गर्नुपर्‍यो ?

२०७६ सालको चैत्रमा नै कोभिडको पहिलो वेभको लागि लकडाउन भयो । त्यतिबेला सरकारले कोभिड अस्पताल बलम्बुमा सुरु गर्‍यो । त्यहाँ हाम्रो डाक्टर नर्सले गएर पनि ड्युटी गर्नुभयो ।

त्यस अवधिमा कालीमाटी वृत्तमा एकैपटक प्रहरीको १७ जना संक्रमित भए । पोजेटिभ भएपछि आइसोलेट गरेर राखियो । एक हप्तासम्म पीसीआर रिपोर्ट आइपुगेन । त्यसपछि लाग्यो, प्रहरी त जहाँ पनि ड्युटी गरिरहेको छ ।

एउटा प्रहरी संक्रमित हुने बित्तिकै अर्को प्रहरी संक्रमित हुन्छ । हप्तादिनसम्म रिपोर्ट कुर्नुपर्‍यो भने प्रहरीको लागि निकै चुनौती हुन्छ । त्यसकारण मैले हेर्डक्वार्टरसँग समन्वय गरेर पीसीआर ल्याबको स्थापना गराएँ । त्यतिबेला पनि हाम्रो अस्पताल कोभिड अस्पताल थिएन । मेरो मान्यताचाहिँ कोभिडका लागि हामी रेडी हुनुपर्छ भन्ने थियो ।

हाम्रो एउटा भवन ब्लक बी लाई पूरै खाली गराएर कोभिडका लागि डेडिकेट बनायौं । अचानक साउनको २० गतेतिर हुनुहुपर्छ, १ जना प्रहरी संक्रमित भए । ५ दिनको अवधिमा ५ सय हाराहारीमा प्रहरी संक्रमित थिए । सरकारले पनि एकाएक कोभिड अस्पताल घोषणा गरिदियो । त्यो भन्दा पहिला त हामीलाई लागेकै थिएन, प्रिपिरेसन गर्नुपर्छ । तर १ सय १४ बेड जतिचाहिँ कोभिडका लागि छुट्याएका थियौं । त्यसले नपुगेर दुई नम्बर गनमा पूरै लगभग ४ सय ५० बेड स्थापना गर्‍यौं । सबै प्रहरीलाई भर्ना गर्‍यौं । त्यो बेलामा पनि आईसीयू चलायौं । यो दोस्रो लहरजस्तो थिएन । डेथ पनि कम थियो । लगभग २२ जनाको मृत्यु भएको थियो । त्यो मेरो लागि ठूलो चुनौति थियो । पार पाइयो ।

दोस्रो लहर वैशाखको दोस्रो हप्तामा बढ्न थाल्यो । यो धेरैमा चुनौती छ । यसको प्रकृति एकदमै फरक छ । युवा उमेरका बिरामी कोभिड भए पनि सुरुमा खासै लक्षण देखिएको हुन्न । ५ दिन जति आइसोलेसनमा बस्नुहुन्छ । आउँदा पूरै निमोनिया भइसकेको हुन्छ । यो समयमा २० वटा आईसीयू, ५० वटा एचडीओ, अक्सिजन प्लान्ट बनायौं । यो सबै काम गर्न चुनौती थियो । सबैको सहयोगले गरिएको छ ।

प्रहरीहरू अघिल्लो चरणको तुलनामा अहिले कति संक्रमित छन् ?

अहिले कम छ निकै । केही दिनसम्म ७० जना पुग्नुभएको थियो । निको हुनेको क्रम बढी छ । अहिलेसम्म एक जना बहालवाला प्रहरीको निधन भएको छ । बहालवाला दुई जना आईसीयूमा हुनुहुन्छ ।

अन्त्यमा,अस्पताल प्रमुखको हैसियतमा अहिलेको यो महामारीमा के भन्न चाहानुहुन्छ ?

कोभिडका बिरामी आउँदा बेड छैन भन्नुपर्दा निकै मन दुख्छ । थाहा छ त्यो बिरामीले आईसीयू पाएन भने मर्छ । एउटा स्वास्थ्यकर्मीको लागि त्यो जतिको दुःखदायी क्षण अरु हुन्न । आफू पनि संक्रमित हुने खतरा छ । आम नागरिकले उनीहरूलाई सम्मान गर्नुपर्‍याे । कतै कतै तोडफोड भएको सुनियो । सामाजिक सञ्जालमा जथाभावी लेखिदिएको हुन्छ । चुनौती सबैको लागि छ । त्यही भएर यो महामारी हो । विकसिकत मुलुकले त बेड नपुगेर सडकमा टेन्ट हालेर उपचार गरे । हामी यो बेला एकजुट हौं । अवश्य हामी महामारीबाट बाहिर निस्कन्छौं ।

Comments

2 responses to “प्रहरी अस्पतालमा कोभिड बिरामीलाई निःशुल्क उपचार र खाना : एआईजी डा. आशा सिंह (भिडियो)”

  1. चूडामणि दाहाल, चितवन Avatar
    चूडामणि दाहाल, चितवन

    डा.साहव तपाईं र तपाईंको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरुले राम्रो काम गरिरहनु भएको छ, अझै राम्रो गर्ने प्रयास गर्नुहोस् पूर्ण सफलताको शुभकामना गर्दछु।

  2. Ramesh Gautam Avatar
    Ramesh Gautam

    अस्पतालको सेवा सुबिधाहरुको बारेमा AIGP साहबले होइन अस्पतालमा भर्ना भएका बिरामी र बिरामीका आफन्तले भने पछि मात्र सहि मुल्यांकन हुनेछ जस्तो लाग्छ मलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *