काकाको ब्रेन ट्युमरको अपरेसन गर्नु पर्ने भएर पोहोर कात्तिक दोस्रो सातादेखि झण्डै तीन हप्ता वीर अस्पतालको बसाइमा थिएँ । अस्पताल बसाइकै कारण घरमा थुप्रिएका पुस्तकहरुसँग पनि केही समय म टाढै रहन पुगेँ ।
आदत बसेपछि पुस्तकहरुसँग टाढा रहनु पनि एकप्रकारको छटपटी । तर, अस्पतालको बसाइ न हो, विस्तरामा सुतेका विरामीको क्रन्दन, उनीहरुले आफ्नै सुरमा बर्बराएको सुन्दा कितावमा त्यस्ता कुरा कसरी पाइन्थ्यो र जस्तो पनि लाग्ने ।
बेडमा सुतेका हरेकसँग एउटा कथा, सुतेकालाई कुरेर बस्नेहरुको एउटा अलग्गै संसार । त्यहाँ भेटिने हरेकसँग एउटा संसार । हरेक एउटा मान्छे, एउटा संसार ।
विरामी कुरुवा बस्ने ठाउँ, लिफ्ट, बाहिर चिया पिउने ठाउँ, सबैतिर भेटिने मान्छे प्रायः उही । धेरैजसो अनुहारमा बेचैनी भाव भरिएका, हतारमा रहेका नै भेटिन्थे । तिनीहरु मध्ये कसोकसो एकजना बहिनीमा भने मेरो दृष्टि परिरहन्थ्यो ।
अलिदिनको बसाइपछि आँखा नदेख्ने ती बहिनीसँग बाक्लै हेलमेल भयो । हरेक प्रश्नमा उनको उत्तर दार्शनिकको झैं लाग्ने भएकाले उनीतिर ध्यान खिचिएको थियो । उनको कुरा गराई सानोठूलो प्रवचन जस्तै लाग्थ्यो ।
उनी कहिले लेखनाथ पौड्यालको कालमहिमा कविता ‘भाका भुल दया क्षमा र ममता शन्तोष जान्दैन त्यो’ कण्ठै सुनाउँथिन्, कहिले जीवन विज्ञानका कुरा गरेर हामीलाई विरामी कुर्न बसेको बिर्साइदिन्थिन् । त्यहीँ थाहा भयो उनी पनि श्रीमानकाे ब्रेन ट्यूमर भएर शल्यक्रिया गराउन लिएर आएकी रहिछन् ।
यो पटकसँगै तीन पटक भएछ श्रीमानको ब्रेनट्युमरको शल्यक्रिया गरेको । तर अब चाहिँ बाँच्ने आशा छैन भनेर उनी डाक्टरकै शैलीमा सुनाउँथिन् त्यहाँ ।
उनी यस्तो आकर्षण भइन् कि विरामी कुरुवाहरु उनलाई सुन्न भेला हुन्थे । उनका कुरा सुनेर नसोधी थाहा भयो, उनको काखमा एउटा दूधे बच्चा रहेछ । खुट्टा खोच्याउने रहेछन् उनका श्रीमान् । तर उनी आँखा देख्ने हुनाले श्रीमतिलाई डोहाेर्याउँथे अस्तिसम्म । उनी मधुर स्वरमा गीत गाउँथिन् । यसैगरी चलेको रहेछ जीवन । तर आज सात महिनाको अन्तरमा श्रीमान मर्दैछन् भन्ने कुराको जानकारी थियो उनलाई ।
०००
एकदिन मैले उनलाई लिफ्टमा भेटेँ । हातमा ठूलो झोला पनि थियो । मैले ‘जान लाग्नु भयो’ भनेर सोधेँ । उनले बोलीबाटै चिनिन् र भनिन्- ‘हो त, तपाईंको काकालाई त राख्छ होला अझै, हाम्रो त बाँच्ने सम्भावना सुन्य छ रे त्यसैले विदा दियो ।’ यति कुरा उनले हल्कासँग भनिन् ।
लिफ्टमा भएकाहरु पनि उनको कुरा चकित भएर सुनिरहेका थिए । जीवन प्रतिको उनको बुझाइ कस्तो थियो भने उनी यस्तो अवस्थामा पनि जीवनमा जे आइपर्छ त्यो सहजै स्वीकार गर्नुपर्छ भन्ने उपदेश अरुलाई दिँदैछिन् । उनलाई सम्झाउन इच्छा गर्नेहरु सबै उनको पीडामा उनीसँग पो पीडा सामना गर्ने कुरा सिकिरहेका ।
उनले यस्तो कुरा पनि सजिलोसँग भनिन्, ‘अहिले उसलाई मर्छ भनेर अस्पतालले पठायो । हामी हरेक पनि त मर्ने दिन कुरिरहेका छौं नि । जीवन लिएर आएपछि, बस् मर्नको लागि तयारी अवस्थामा रहने न हो ।’ उनका यस्ता कुराले मलाई निधार समाउने बनाउँथ्यो ।
बाहिरी संसार हेर्ने आँखा बन्द भए पनि भित्री दृष्टि कति फराकिलो उनको ? उनका कुरा सुन्दा साँच्चै शरीरका रौं ठाडा हुन्थे ।
भुइँ तल्लामा झरेपछि पनि म उनीहरु निस्कने बाटोसम्म पछिपछि गएँ । उनको यो धैर्य, आत्मबल र साहस देखेर हौसिँदै उनलाई ढाडमा थप्थपाउँदै मैले भनेँ, ‘यतिका दिनसम्म त म तपाईंको फ्यान नै भएँ । तपाईं यदि अन्धी नहुनु भएको भए बाहिरको संसारमा दौडिएका मान्छेहरुमा सबै भन्दा अघि हुनुहुन्थ्यो होला है ?’
मैले अनायासै भनेको अन्धी शब्दले उनलाई ठूलो चोट परेछ । अघि सन्तजस्ती देखिएकी उनी सनक्क भइन् र भनिन् – ‘अन्धी भन्ने ? अरु नै भने हुदैंन ?’ उनको भनाईले उनी मुर्मुरिएको प्रष्टै देखिन्थ्यो ।
उनको अनुहारको क्रुद्ध रेखाले मलाई सतर्क बनायो । मैले सानो स्वरमा भने– ‘के भन्नुपर्थ्याे , भन्नु त ?’
उनले भनिन्- दृष्टिविहीन भन्नुस् । अन्धी भन्न पाइँदैन ।
मैले तत्काल सोधेँ- ‘दृष्टिविहीनको अर्थ थाहा छ तपाईंलाई ?’
उनी बोलिनन् ।
अव प्रवचन दिने पालो मेरो थियो । मैले उनलाई भनेँ, – ‘अन्धो भनेको आँखा मात्रै नदेख्ने, बाहिरको संसार देख्ने आँखा खुला नभएको, भौतिक संसार मात्र देख्न नसक्ने । दृष्टि भनेको आँखाले हेर्ने मात्र कुरा होइन । दृष्टि भएपछि आँखा नहुनेले पनि भित्रको भावहरु देख्न सक्छ । तपाईं आफ्नो भोगाईबाट यति धेरै कुरा बुझ्ने भइसक्नु भएको छ, तपाईंको त्यो दृष्टि हो । अनि तपाईं कसरी दृष्टिहीन ?’
मेरो कुरा सुनेर उनी छक्क परिन् । एकछिन् यताउता मुन्टो हल्लाइन्, अनि मुसुक्क हाँसेर भनिन्- ‘मलाई त दृष्टिहीनको अर्थ नै थाहा थिएन । दृष्टिविहीन भन्नुपर्छ भन्नु राम्रै होला भनेर त्यही ठीक लाग्थ्यो ।’ अघि भर्खरसम्म झर्केकी उनी हास्न थालिन् र भनिन्– ‘अन्धो भन्नु नै सहि रहेछ, ल अब अन्धो नै भन्न पर्यो ।’
हामीबीच छलफल हुँदैथियो । उनी यस विषयमा थप केही भन्न खोज्दै थिइन् । त्यहीबेला उनका आफन्तले सामान गाडीमा कसेर घर जान बोलाए । उनी गएँ है भन्दै हात हल्लाउँदै हिडिन् ।
०००
उनीसँग त्यति कुरा गरेपछि मेरो मन पनि अन्धो र दृष्टिहीन, यी दुई शब्दको भिन्नतामै घुमिरह्यो । घर फर्केर मलाई अन्धो र दृष्टिहीनको अर्थ खोज्न मन लाग्यो ।
मैले शब्दकोश पल्टाएँ र ती शब्दका भावहरुतिर ध्यान लगाएँ । अन्धो संस्कृत शब्द अन्धबाट आएको रहेछ । अन्धमा ओ प्रत्यय लागेर अन्धो भएको हो । अन्धको अर्थ हुन्छ– आँखा भएर पनि नदेख्नु, अंध्यारो देख्नु, बाहिरी संसार देख्न नसक्नु, बाहिरी संसार देखिने प्वाल टालिनु । अर्थात् आँखाका माध्यमबाट नदेख्नु ।
( पेज ४९, नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा प्रतिष्ठान,२०६९)
अब दृष्टिविहिनको अर्थ हेरौं । दृष्टिविहीन पनि संस्कृत शब्द हो । दृष्टिविहीन दुई शब्द समास भएर बनेको छ, दृष्टि र विहीन । दृष्टि भनेको देख्न सक्ने क्षमता त छंदैछ, त्यसमाथि भाव, वृत्ति, शक्ति उद्देश्य, योजना, केही सोच्ने क्षमता समेत भएको हो । विहीन भनेको नभएको । समग्रमा भन्दा भित्री, बाहिरी कतै पनि देख्न, सोच्न, उद्देश्य लिन, योजना बनाउन नसक्ने, कुनै क्षमता नभएको भावशून्य मान्छे भन्ने हुन्छ । जसको अर्थ आँखा हुनु वा नहुनुसँग मात्रै सीमित छैन ।
(पेज १२३, नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा प्रतिष्ठान,२०६९)
यति अर्थ हेरेपछि अब यसरी सहि अर्थ लाग्ने शब्दलाई गलत बनाएर झनै अर्को अर्थ लाग्ने शब्दको प्रयोगप्रति टिठ लागेर आयो । सही अर्थ दिने शब्दलाई विस्थापन गर्नुमा नै सम्मान महसुस गर्ने गलत शिक्षा विस्तार भइरहेको छ हाम्रो समाजमा । यस्तो अभियान नै चलेको छ । अन्धो भने अपमान हुन्छ, दृष्टिविहीन भने सम्मान हुन्छ भन्ने अभियानमा को छन् त ? नेता, वकिल, पत्रकार, एनजीओकर्मी, अभियन्ता सबै । समाजका अगुवा भनिने छानिएकै मान्छेहरुले शब्दका अर्थ जानेरै वकालत गरेका हुन् या अधिकारको पैरवी गर्ने अन्तर्राष्ट्रिय संस्थाहरुको थिममा बहकिएका हुन् ?
मनमनै प्रश्न उठ्यो । नत्र, मानिसको दृष्टि उसको चेतनाको भित्री तहमा हुन्छ, बाहिर त्यसैको प्रतिबिम्ब देखिने हो, आँखाले । आँखा बन्द भएपछि देखिने सपना उसको त्यही दृष्टिबाट निर्देशित हुन्छ ।
अरु शब्द छोडौं, यही दृष्टिविहीन शब्दको अर्थ मात्र पनि कतिले जान्दछन् भनेर जान्न टाढा जान पर्दैन । आजभोलि सामाजिक सञ्जालमा प्राप्त हुने तीब्र प्रतिक्रियाले नेता हुन् वा विज्ञ, उनीहरुको ज्ञानको सीमाना कोरिदिन्छन् ।
०००
पत्रकारिता गरिरहेकी एक बहिनीले ‘म अन्धी त थिइनँ, तर मान्छे कस्ता हुन्छन् भनेर चिन्न सकिनँ’ भन्ने लेखेर पोष्ट गरिन् । त्यसको प्रतिक्रियास्वरुप धेरै प्रतिष्ठित विज्ञ, नेता, पत्रकारहरुले नै झुम्मिएर लेखे– अन्धो नलेख्नुस्, त्यो राम्रो शब्द होइन, त्यसको ठाउँमा दृष्टिविहीन लेख्नुस् । अव ती आँखा भएकी बहिनीले आँखा हुँदाहुँदै आफू अन्धो भएको अर्थ यो समाजलाई कसरी बुझाउनु ?
यसलाई एउटा ‘अन्धो’ शब्दले निकालेको बहस मात्र मान्नु भयो भने गलत हुनेछ । किनभने आधुनिकताका नाममा भाषाले बहन गर्ने भावलाई तिरस्कार गर्ने र अर्थलाई अपमान सोच्ने प्रवृत्तिलाई उजागर गर्नु यस लेखको आशय हो ।
आँखा शब्दले व्यक्तिमा रहेको बाहिरी दृश्य हेर्नुसँग मात्र अर्थ दिन्छ । । अन्धो भन्दा अपमान भयो भन्ने लाग्छ भने नेत्रहीन शब्द हामीसँग छ । तर, नेत्रहीनलाई दृष्टिहीन भन्नु चाहिँ सरासर मान्छेको भावदृष्टिलाई पनि अन्त्य गरिदिनु हो । बीचबीचमै आउने यस्ता दवाव समूहहरुको दवावले हाम्रो देशमा रहेको अन्धा कल्याण संघ दृष्टिविहीन संघ भएको छ ।
नेपालका अन्धा, अपाङ्गहरुको लागि वकालत गर्दै उनीहरुको हितमा जारी सन्धिमा नेपाल सरकारले हस्ताक्षर गरिसकेको छ । यी शब्द पनि हटाउने पहल कसले गर्यो ? नेत्रहीन सघंका अध्यक्ष रमेश पोखरेल यी शब्द हटाउने काम तिनै अभियन्ताहरुले गरेको वताउँछन् । उनी पनि भन्दैथिए– ‘हामी आँखा नभएका त होइनौं । आँखा त छ, देख्न नसक्ने मात्र हौं । त्यसैले नेत्रहिन पनि नमिल्ने रहेछ । दृष्टिविहीनको अर्को अर्थ पनि लाग्छ भन्ने कुरा पनि आयो । अहिले त अन्धा नै ठीक रहेछ भन्ने लाग्छ ।’
हिजो मात्र संजालमा दृष्टिविहिन र अन्धो भन्ने बारे बहस भैरहेको देखेको थिएँ । बहसमा शब्दहरुका वास्तविक अर्थ पहिल्याउने भन्दा आँखा चिम्लेर ती शब्दहरुलाई विस्थापित गर्ने प्रवृत्ति देखिएको छ । शब्दलाई नियतको भार बोकाउने र शब्दप्रति घृणा जगाउने काम अनुचित छ ।
पछिल्लो कालमा लङ्गडो, खोरण्डो, बहिरो, लाटो जस्ता अनगिन्ति शब्द छन् जो अर्थ भन्दा बाहिर गएर नियतको भार बोक्न वाध्य छन् र प्रयोगबाट हराउँदै छन् । यस्ता शब्दको ठाउँमा ‘फरक क्षमता भएको’ भनेर लेख्न सुझाइन्छ । अन्धो खोरण्डो, लङ्गडो जस्ता शब्दको ठाउँमा ‘फरक क्षमता भएको’ भन्ने शब्दले छुट्टा छुट्टै अर्थ दिनै सक्दैन ।
वीर अस्पतालमा भेटिएकी जीवन र जगतप्रति त्यति शक्तिशाली दृष्टि भएकी ती बहिनीलाई आज हामी दृष्टिबिहीन भन्न वाध्य छौं । जीवनप्रतिको उनको त्यो शक्तिशाली दृष्टिलाई हामी दृष्टिहीन शब्दले अपमान गर्दैछौं भने यो हाम्रो भाषिक अज्ञानता मात्र हुनेछ । उनलाई नेत्रहीन वा अन्धी भन्नु बरु न्याय संगत हुन्छ । शब्द लेख्दा वा बोल्दा नियत सफा राख्नु पर्छ, त्यसको वास्ताविक अर्थबाट डराउनु हुँदैन । अस्पतालमा भेटिएकी ती बहिनीको दृष्टिलाई एकपटक बोध गरौं त ।

Leave a Reply