‘बाल उदय’ अब एपमा पढ्न पाइने

काठमाडौं । मासिक बालपत्रिका बाल उदय डिजिटल माध्यमबाट पनि प्रकाशन हुने भएको छ । बाल उदय नामक एक अन्तरक्रियात्मक मोबाइल एप्लिकेसनमार्फत बाल उदय पढ्न पाइने भएको हो ।

आगामी शुक्रबार एक भर्चुअल कार्यक्रमका बीच ‘नायिका सुरक्षा पन्तसँग बालबालिकाका कुरा’ शीर्षकमा छलफल कार्यक्रम गर्दै उक्त एप्लिकेसन सार्वजनिक गर्न लागिएको सम्पादक एवम् प्रकाशक नरेन्द्रकुमार नगरकोटीले जानकारी दिए ।

सिकाइ अभियान अन्तरगत स्कूलहरुमा विभिन्न कार्यशाला महामारीसँगै रोकिएको थियो । बाल उदयको यो डिजिटल यात्रा कोभिड-१९ कै कारण आवश्यक लागेर थालनी गरिएको तर डिजिटल रूपमा बालबालिकाको क्षेत्रमा केही गर्ने सपना पहिलेदेखिकै भएको सेलएपका सीईओ मनोज भट्टराईले बताए ।

यस एप्लिकेसनमा बालबालिकालाई विशेष स्थान दिँदै रोचक, रमाइला, रुचिकर लेखहरू साथै पढ्ने, रमाउने र उपयोगी खेलहरु समावेश गरिएका छन् । हरेक अंकमा समावेश गर्दै आएका बालप्रतिभाको कथा, प्रेरणादायी कथाहरू, बालबालिकाका मनपर्ने र मननपर्ने कुरा, बालविचार, बालबालिकासँग कुराकानी, स्थानीय चाडपर्व, स्थानीय प्रविधि, नेपाली जनजीवन, हाम्रै संस्कृति बारे बालबालिकाका अनुभव, बालबालिका साथीहरुले पढ्नुपर्ने किताब, हेर्नुपर्ने फिल्म, गर्नुपर्ने प्रयोग, आफैंले गर्नुपर्ने काम बारे सामाग्री, कथा, कविता, निबन्ध, नाटक, चित्र, फोटो आदिका साथै थप रोचक, ज्ञानवर्द्धक र उपयोगी फिचरहरु रहेको बताइएको छ ।

बालबालिकाका लागि सिकाइ यात्राको समयसापेक्ष पूरक सामाग्रीका रुपमा आएको डिजिटल बाल उदय बालबालिकाका अनुभव सुन्ने र सुनाउने एउटा मञ्च हुनेछ । एप्लिकेसनबाटै सदस्य बन्न मिल्ने र डिजिटल रुपमै सदस्यता शुल्क तिर्न मिल्ने व्यवस्था पनि गरिएको छ । साथै, किताबहरु अर्डर गर्न मिल्ने र पाठ्यक्रमको उद्देश्य पूरा गर्ने सवालमा पनि एप्लिकेसनमार्फत केही प्रयत्न गरिएको जानकारी दिइएको छ ।

सिकाइ संस्कृति विकासका लागि बाल पत्रिका भन्ने मूल मर्मका साथ ‘बाल उदय’ मासिक बालपत्रिका प्रकाशनमा आएको थियो ।

बाल उदय अब विश्वको जुनसुकै कुनाबाट जतिसुकै बेला पढ्न सकिनेछ । त्यसका लागि बाल उदयको मोबाइल एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । एप्लिकेसन गुगल प्लेस्टोर र एपस्टोर दुवैबाट डाउनलोड गर्न सकिनेछ ।

Comments

One response to “‘बाल उदय’ अब एपमा पढ्न पाइने”

  1. Kharga Rai Avatar

    Awesome !!
    It’s useful to kids.
    I really like it.

Leave a Reply

Your email address will not be published. Required fields are marked *