बजेटको मुखैमा यसकारण फेरिए कर्णालीका दुई मन्त्री

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वैशाख ३ मा सदनबाट विश्वासको मत पाएसँगै दोस्रो पटक मन्त्रिपरिषद् हेरफेर गरेका छन् ।

वैशाख ५ मा फ्लोर क्रस गरेर सरकार जोगाइदिएका तीन एमाले सांसदलाई मन्त्री बनाएका मुख्यमन्त्री शाहीले आज माओवादी केन्द्रका थप ३ मन्त्री नियुक्ति गरेका छन् । नवनियुक्त मन्त्रीमा गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालय र सांसद विन्दमान विष्टलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मा दिइएको छ । पूर्वाधार विकास मन्त्रालय फुटाएर जलस्रोत मन्त्रालयको जिम्मा सीता नेपालीलाई दिइएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले भने आज बिहानको मन्त्रिपरिषद् बैठकमा राजीनामा दिइसकेका छन् । उनीहरूको राजीनामा स्वीकृत भइसकेको मुख्यमन्त्रीनिकट स्रोतले बताएको छ ।

पार्टी निर्णय अनुसार नै राजीनामा

आर्थिक मामिला तथा योजना मन्त्री एवम् प्रवक्ता समेत रहेकी विमला केसीले पार्टीको निर्णय अनुसार नै राजीनामा दिएको बताइन् ।

‘दलले आवश्यक निर्देशन दिएको हो । त्यही अनुसार हामीले पद त्यागेका छौं । नयाँ मन्त्री बनाउने बाटो खुल्ला गरिदिएका हौं । तीन वर्ष तीन महिना मन्त्री भइसकेका छौं ’ उनले भनिन्, ‘अन्य साथीहरूलाई पनि पालो दिनु पर्छ नि ।’

बजेटको मुखैमा किन यस्तो निणर्य भन्ने प्रश्नमा उनी भन्छिन्, ‘बजेट ल्याएको व्यक्तिलाई बजेट कार्यान्वयन गर्न सहज हुन्छ भनेर नै बजेट अघि हामीले छाडिदिएका हौं ।’ उनले आफ्नो कार्याकालमा ऐतिहासिक भएको समेत दावी गर्दै सहयोग गर्नेप्रति आभारी जनाइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *