सरकारले तीन सय ‘लोकतान्त्रिक योद्धा’ लाई सम्मान गर्दै, बाल सेनामाथिको ‘अयोग्य बिल्ला’ हटाइने

काठमाडौं । सरकारले तीन सय ‘लोकतन्त्रका योद्धा’ लाई सम्मान गर्ने भएको छ । पहिलो चरणमा वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सहिद परिवार, घाइते, अपांग बेपत्ता परिवार, पूर्वजनमुक्ति सेनालगायत ३ सयलाई सम्मान गर्न लागेका हुन्।

‘लोकतन्त्रका योद्धा’को सम्मान एवं परिचयपत्रको व्यवस्था गर्न गठित कार्यदलका संयोजक एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बहिर्गमित जनमुक्ति सेनाका पदाधिकारीबीच आइतबार बिहान यो विषयमा छलफल हो।

बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष रमेश बसेलका अनुसार पूर्वबाल सैनिकमाथि लगाइएको ‘अयोग्यको बिल्ला’ खारेजीको घोषणा र लोकतान्त्रिक योद्धाको सम्मान एकैपटक हुने जानकारी मन्त्री ज्ञवालीले छलफलमा दिएका थिए।

‘बहिर्गमित जनमुक्ति सेनाले ११ वर्षदेखि उठाउँदै आएको मागहमध्ये १ नम्बर बुँदा पूरा हुने भएको छ,’ उनले भने, ‘यति हुनुलाई पनि हामीले सकरात्मक रुपमा लिएका छौं।’

तत्कालीन माओवादीको सेना समायोजन गर्दा उमेर नपुगेको भन्दै ४ हजार ८ जनालाई ‘अयोग्य’ घोषित गरिएको थियो। सरकारले दिन लागेको सम्मानपत्रको ढाँचा तयार भइरहेको छ।

११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो।

शान्तिपूर्ण र सशस्त्र आन्दोलन, जनसंघर्ष, विद्रोह र विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान गर्ने सहिद परिवार, घाइते, बेपत्ता, अंगभंग भएकाको सम्मान एवं परिचयपत्रको व्यवस्थाबारे अध्ययन गरी सिफारिस गर्ने क्षेत्राधिकार समितिको रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *