कमलपोखरीमा साढे दुई करोड लिटर पानी हाल्दै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कमलपोखरीको पहिलो चरणको पुननिर्माण चैत मसान्तासम्ममा सम्पन्न गर्ने गरी तिव्र गतिमा कार्य भैरहेको जनाएको छ। पोखरीमा केही दिनमै पानी भर्ने काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले जानकारी दिएका हुन् ।

‘पोखरी पुननिर्माणको काम ७० प्रतिशत भन्दा बढी सम्पन्न भएको छ । केही दिनमै हामी कमलपोखरीमा साढे दुई करोड लिटर पानी भर्ने तयारीमा छौँ,’ प्रमुख शाक्यले भने ‘हामीले पुननिर्माणकै क्रममा आकाशे पानी पोखरीमा जम्मा हुने व्यवस्था गरेका छौँ । अब केही दिनमै पहिलो चरणमा पोखरीमा टनाटन पानी भर्छौ ।’

काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले अब बन्ने कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थल रहने जानकारी दिए । काठमाडौँ महानगरपालिका वडा नम्बर–१ मा पुर्ननिर्माण भैरहेको कमलपोखरी करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको भन्दै काठमाडौँ महानगरपालिकाका इञ्जिनियर प्रेम श्रेष्ठले उक्त पोखरी निर्धारित समय भित्रै सम्पन्न गर्ने गरी कामलाई द्रुतरुमा अघि बढाएको बताए ।

करीब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरीको स्वरुप अब फेरिने महानगरपालिकाको दाबी छ । कमलपोखरी नौ वटा चैत्य रहने छन् भने पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइने छ । पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिने छ । पोखरी आसपासमा नेपालीपन झल्काउन झिँगटीका छाना रहने छन् । त्यसैगरी विभिन्न ठाउँमा चैत्य राख्ने र पाँचओटा मकरधार निर्माण गर्ने पनि महानगरपालिकाको तयारी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *