माधव नेपाल पक्षलाई ओलीको चेतावनी– बैठकमा नआए विधान बमोजिम हुँदै जानेछ (भिडियो)

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेरिसडाँडाबाट रुवावासी गर्दै विदावारी भएर हिंडेकाहरुलाई पार्टीमा आउन प्रशस्त समय मिलोस् भनेर आफूले चैत ७ गते केन्द्रीय कमिटी बैठक बोलाएको बताएका छन् ।

भृकुटीमण्डपमा शनिबार आयोजित अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले ७ गतेको बैठकको जानकारी पाइएन भन्न कसैले नपाउने भन्दै सार्वजनिक रुपमा बैठकको मिति र स्थान घोषणा गरे ।

ओलीले भने– उहाँहरु पेरिसडाँडाबाट भर्खर अर्याल होटलमा आइपुग्नुभएको छ रे । एक दुई रात त्यहाँ बास बसेर आउनुहोस् भनेर चैत ७ गते बालुवाटारमा बैठक बोलाएको छु । कसैले थाहा पाइनँ नभन्नुहोला, अनुपस्थित रहँदै जानुभयो भने विधान व्यवस्थाअनुसार हुँदै जानेछ ।

माधव नेपाल पक्षले बालुवाटरमा बस्ने बैठकमा नजाने निर्णय गरिसकेको छ । एमालेको विधानमा लगातार तीनपटक बैठकमा अनुपस्थित भएमा कारबाही हुने व्यवस्था छ । ओलीले त्यसतर्फ संकेत गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आफूलाई माधव नेपालहरुले तीनपटक साधारण सदस्यबाट र अध्यक्षबाट निकालेको स्मरण गर्दै ‘सक्ने भए के के गर्ने रहेछन्’ भन्ने पुष्टि भइसकेको बताए ।

ओलीले भने– बाटा बाटामा अध्यक्षको पगरी गुथेर हिंडेका छन् । यिनीहरुले मलाई तीन तीनपटक अध्यक्षबाट मात्र होइन, साधारण सदस्यबाट समेत निकालेका हुन् । देख्नुभयो नि, यिनीहरुले सक्ने भए के के गर्ने रहेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *