प्रचण्ड भन्छन्– म त्यसै छोड्नेवाला छैन, एकचोटि फेरि क्रान्ति गर्छु

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि क्रान्तिको बाटो रोज्ने चेतावनी दिएका छन् । उनले अझै उमेर बाँकी रहेको तर्क पेश गर्दै फेरि क्रान्तिमा होमिने चेतावनी दिएका हुन् ।

बिहीबार तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा सहभागी स्वास्थ्यकर्मीको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले भने– कतिपयले उमेर पुगेकाले छोड्नुपर्छ भन्ने गरेका छन् । जनयुद्ध शुरु गर्दा म ४२/ ४३ वर्षको थिएँ । अहिले ६७ वर्षको भएँ । क्रान्ति गर्ने उमेर बाँकी नै छ । म त्यसै छाड्नेवाला छैन ।

चीनमा माओले ७२ वर्षको उमेरमा सांस्कृतिक क्रान्तिको नेतृत्व गरेको भन्दै प्रचण्डले भने– माओले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेका थिए । म एकचोटि फेरि क्रान्तिमा जानेछु । तपाईंहरु यो कुरामा विश्वस्त हुनुहोला, म त्यसै छाड्नेवाला चाहिं छैन । म लड्नेवाला नै छु । मैले अहिले पनि एउटा ब्याटल त लडेँ । त्यो ब्याटल त हामीले जित्यौं पनि । र, अरु दुई चारवटा ब्याटल जित्न बाँकी छ । र, हामीले जित्नै पर्छ ।

नयाँ खोज्दै जाँदा आफ्नै पुराना साथीहरुलाई भुल्दा कमजोर भइएको भन्दै प्रचण्डले फेरि आफ्नै धर्तीमा जोडिने बताए। ‘हामीले योसँग मिलेर होला कि, त्योसँग मिलेर होला कि भनेर धेरै गरियो। तर, आफ्नै साथीहरु छुट्दा, आफ्नै धरातल कमजोर हुँदा हामी अलि कमजोर भएको जस्तो देखिएको पक्कै हो । अब फेरि हामी आफ्नै धर्तीसँग जोडिने, आफ्नै खुट्टामा उभिने, आफ्नै पुराना साथीहरुमै भर पर्ने हो’, उनले भने ।

प्रचण्डले अब फेरि देशव्यापी अभियान चलाएर केही समय काठमाडौं भन्दा बाहिरै बस्ने सोचेको समेत बताए। उनले भने– अब फेरि देशव्यापी अभियान चलाउनेतिर मैले सोचिरहेको छु । म काठमाडौं भन्दा अभियानमा बढी बस्ने विचार छ। फेरि दुई चार वर्ष जनताको बीचमा गएर देशभित्र र बाहिरका प्रतिक्रियावादीविरुद्ध आन्दोलन गर्नुपर्छ ।

उनले केपी ओलीविरुद्ध जानीजानी १९ पेज आरोप लेखेको भन्दै ‘ब्याटल’ जिते पनि ‘वार’ हारेको बताए। ‘हामीले संसद विघटनविरुद्ध, संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने षड्यन्त्रका विरुद्ध देशव्यापी अभियान चलायौं’ प्रचण्डले भने, ‘हामीले त्यो ब्याटल त जित्यौं तर वार जितेका छैनौं । अझै पनि ठूला–ठूला षड्यन्त्र भइरहेका छन्। हामीले ल्याएका राजनीतिक परिवर्तनमाथि हमला भइरहेको छ ।’

Comments

One response to “प्रचण्ड भन्छन्– म त्यसै छोड्नेवाला छैन, एकचोटि फेरि क्रान्ति गर्छु”

  1. kashinath Mainali Avatar
    kashinath Mainali

    डका

Leave a Reply

Your email address will not be published. Required fields are marked *