गाँजाको बहस नेपालदेखि बेलायतसम्म : यस्ता छन् ‘गाँजाप्रेमी’का तर्क

काठमाडौं । गीतको माध्यमबाट गाँजा सेवनलाई प्रोत्साहन गरेको आरोप लगाउँदै अघिल्लो वर्ष कात्तिकमा प्रहरीले गायक भिटेन र दुर्गेश थापालाई पक्राउ गर्‍यो । ‘हामी त यस्तै हो नि ब्रो’ गीतबाट हिट बनेका र्‍यापर भिटेनले फेसबुकमा प्रहरीको बर्दी लगाएर चुरोट तानिरहेको र हातले गाँजा केलाइरहेको तस्विर अपलोड गरेका थिए ।

पछि उक्त तस्विर हटाउने शर्तमा प्रहरीले भिटेनलाई कागज गराएर रिहा गर्‍यो । भिटेन पक्राउ गर्नुअघि गीतमा गाँजा र बियर लगायतलाई प्रोत्साहन गरेको आरोप लगाउँदै प्रहरीले गायक थापालाई पनि पक्राउ गरेको थियो ।

प्रस्तुत उदाहरणले गाँजाको विषयलाई लिएर राज्यको कठोरता प्रष्ट हुन्छ । कानूनले पनि गाँजाको सेवनलाई पूर्ण निषेध गरेको छ । यसका बाबजूद पनि लुकिछिपी गाँजाको प्रयोग र सेवन रोकिएको छैन । अरुबेला लुकीछिपी सेवन गरिने गाँजा शिवरात्रि र फागुपर्वमा त खुल्लमखुल्ला जस्तै हुन्छ । भगवान शिव स्वयम् भाङ–धतुरो खाएर लठ्ठीने गरेको पौराणिक शास्त्रहरुले बताउँछन् । त्यसैले पनि शिवरात्रिमा गाँजा सेवन सांस्कृतिक रुपमा स्वीकार्य बन्दै आएको छ ।

त्यसो त कानूनले नै गाँजालाई वैधानिकता दिनुपर्छ भन्ने माग पछिल्लो समय एकथरीबाट उठिरहेको छ । गाँजामाथि प्रतिबन्ध हटाउनुपर्ने माग मकवानपुरका सांसद विरोध खतिवडाले संसदभित्रै उठाएका थिए । त्यही मकवानपुर हो जहाँ गाँजाको खेती र कारोबारमा सबैभन्दा बढी नागरिक पक्राउ परेको तथ्यांक सरकारसँग छ ।

२०७५ सालको फागुनमा बसेको प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले गाँजालाई वैधानिकता दिनुपर्ने माग राखे । उनले यसो भनिरहँदा गाँजालाई नेपाली पुर्खाले तरकारी र औषधिको रुपमा प्रयोग गर्ने उदाहरण पेश गरेका थिए । साथै, उनले अमेरिकाका १२ राज्य, क्यानडा र थाइल्यान्डमा गाँजालाई वैधानिकता दिइएको र राज्यले त्यसबाट कर उठाउने गरेको सन्दर्भ उठान गरेका थिए । २०७७ सालसम्म आइपुग्दा पनि गाँजालाई कानूनी मान्यता दिनुपर्छ भन्ने उनको अडान कायमै छ ।

‘शिवभक्त भएको कारण मैले यो आवाज उठाउन खोजेको होइन’ खतिवडा भन्छन्, ‘अमेरिका, थाइल्यान्ड र क्यानडाले औषधि उत्पादनका लागि आयआर्जन गरिरहेका छन् । त्यसको उल्टो नेपालमा भने अवैधरुपमा गाँजा उत्पादन भैरहेको छ ।’ गाँजालाई वैद्यखानाले चर्को मूल्य तिरेर ल्याउने अनि औषधि बनाउने गरेको खतिवडा बताउँछन् ।

‘बाहिरबाट पैसा खर्च गरेर ल्याउनुभन्दा यहीँ उत्पादन गरेर औषधि बनाउँदा राम्रो हुन्छ’ खतिवडाको सुझाव छ, ‘विकसित मुलुकले जसरी गाँजाबाट औषधिको विकास गरेका छन्, त्यसैगरी नेपालले पनि त्यो विधि अपनाउनुपर्छ ।’ खतिवडासहित संसदमा एमाले नेता शेरबहादुर तामाङले पनि पटक–पटक गाँजाको वैधानिकताबारे आवाज उठाउने गरेका छन् ।

अभिनेता दीपकराज गिरी पनि गाँजाको वैधानिकताका पक्षधर हुन् । गाँजालाई वैधानिकता दिन सके अर्थतन्त्रलाई राम्रो हुन सक्ने उनी बताउँछन् । ‘गाँजा बहुगुणी औषधि पनि हो र यसलाई कानूनी मान्यता दिनसके स्वयम् सरकारलाई फाइदा पुग्छ’ दीपकको सुझाव छ ।

त्यसो त नेपाली चलचित्रमा यस्ता धेरै कलाकार छन् जो छायांकन सेटदेखि व्यक्तिगत जीवनसम्म गाँजा सेवन गर्छन् र गाँजालाई वैधानिकता दिनुपर्छ भन्ने मत पनि राख्छन् । कतिपय कलाकारले शिवरात्रि छेकोमा गाँजा तानिरहेको पोजमा तस्विर पनि सेयर गर्ने गरेका छन् ।

सिंहदरबार वैद्यखानाका कार्यकारी निर्देशक वंशदीप शर्मा खरेल गाँजालाई वैधानिक मान्यता दिनुपर्ने बहस चलाउनुपर्ने बताउँछन् । पूर्वीय र पश्चिमा दर्शनबीचको विवादका कारण गाँजालाई प्रतिबन्ध लगाइएको बताउँदै खरेलले नेपालले पनि अन्य देशले जस्तै गाँजाको आयुर्वेदिक महत्व बुझ्नुपर्नेमा जोड दिए ।

राजनीतिज्ञ आहुति गाँजा प्रतिबन्धलाई आर्थिक षड्यन्त्रको रुपमा व्याख्या गर्छन् । उनी भन्छन्– गाँजा र कागती घरेलु औषधि थिए । प्रत्येक घरमा कागती र गाँजाको बोट अनिवार्य हुन्थ्यो । गाँजालाई अचारको रुपमा पनि प्रयोग गर्न मिल्थ्यो । औषधिको रुपमा पनि प्रयोग गर्न मिल्थ्यो र खाएर मात्नै मन लाग्ने चीज पनि हो त्यो ।’

गाँजालाई उनी उत्तेजित नबनाउने शालीन प्रकारको नशाको रुपमा व्याख्या गर्छन् । चुरोट बिकाउने ब्रिटिस इन्डियाको षड्यन्त्रमा गाँजालाई तत्कालीन शासकले प्रतिबन्ध लगाइएको आहुतिको आरोप छ ।

अन्तर्राष्ट्रिय बजारमा गाँजालाई म्याराजुना र क्यानाबिज भनिन्छ । संयुक्त राष्ट्रसंघका अनुसार संसारभर झन्डै १५ करोड ८८ लाख मान्छेले गाँजा प्रयोग गर्छन् । यो संख्या विश्वका मानिसको ३.८ प्रतिशत हो । गाँजालाई अधिकतम १५ देखि ६४ वर्षका मानिसले प्रयोग गर्ने गरेको राष्ट्रसंघीय तथ्यांक छ ।

सन् १९७३ मा काठमाडौंको एउटा गाँजा पसल ।

डा. रामदेव पण्डित रक्सी र सूर्तीभन्दा गाँजा कम हानिकारक रहेको बताउँछन् ।‘हामीकहाँ रक्सी र सूर्ती खुला छ तर, गाँजा भने प्रतिबन्धित’ उनी भन्छन्, ‘ गाँजा कम हानिकारक र अम्मलकारी हुन्छ । यो एउटा हतियारजस्तै हो । यसको सदुपयोगले रक्षा गर्दछ भने दुरुपयोगले घाइते बनाउँछ ।’

गाँजामा औषधीय गुण हुँदाहुँदै पनि यसलाई नशालु वा लागूपदार्थको रुपमा बुझ्ने कुरा नेपाली परम्परा, सामाजिक मान्यता र आयुर्वेदको विश्वासविरुद्ध भएको पण्डितको भनाइ छ ।

आचार्य प्रियवर्त शर्मा लिखित पुस्तक ‘द्रव्यगुण विज्ञान’मा औषधीय प्रभाव पाउन एक व्यक्तिले भाङ १२५ देखि २५० मिलिग्राम, गाँजा ६० देखि १२५ मिलिग्राम र चरेस ३० मिलिग्राम प्रतिदिन सेवन गर्न सकिने उल्लेख छ । यो आँकडाभन्दा बढी प्रयोग गरिए त्यसलाई दुर्व्यसनी भन्न सकिने तर्क शर्माले उक्त पुस्तकमा गरेका छन् ।

उक्त पुस्तकमा औषधीय वनस्पतिहरुको मदकारी समूहअन्तर्गत भङ्गा शीर्षकमा गाँजाबारे चर्चा गरिएको छ । गाँजाले शुक्रको स्तम्भन गर्दछ र गर्भाशयलाई तीव्ररुपमा संकुचित बनाउँछ भनिएको छ । पुस्तकका अनुसार सहवासका बेला शीघ्र स्खलन रोक्नुलाई शुक्र स्तम्भन भनिन्छ ।

पछिल्लो समय गाँजाको औषधीय गुणबारे बहस हुन थालेको छ । गाँजाले स्वास्थ्यमा पार्ने प्रभावबारे विभिन्न वैज्ञानिक शाेधहरु सार्वजनिक हुन थालेका छन् । ग्लाउकोमा भनिने आँखा रोग, मूर्छा पर्ने, अनिन्द्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता रोगमा गाँजाले फाइदा पुग्ने केही जर्नलमा उल्लेख भएका छन् ।

क्यान्सर फैलाउने कोषिका मार्न र अन्य लागूऔषधको लत छुटाउन पनि गाँजा उपयोगी हुने बताइन्छ । नेपालमा उत्पादित गाँजा विश्वमै उत्कृष्ट मानिने र यौन जीवनको सुधारका लागि पनि गाँजालाई बिस्कुट, क्यान्डी, अचार, चिया, जुस आदिमा मिसाएर प्रयोगमा ल्याउन सकिने डा. पण्डितको सल्लाह छ ।

सन् २०२१ को मार्चमा शिवरात्रिको अवसरमा पशुपतिमा गाँजा तान्दै एक साधु ।

यौन सम्पर्कभन्दा अगाडि मारिजुआना अर्थात् गाँजा सेवन गर्ने महिलाले गाँजाको प्रयोग नगर्ने महिलाको तुलनामा दुई गुणा अर्गाजम (चरम यौनसन्तुष्टि) प्राप्त गरेको तथ्य बेलायतको रिसर्चगेट नामक सेक्सुअल मेडिसिन जर्नलले ‘गाँजा र महिलामा यौन इच्छा’ शीर्षकको शाेधमा प्रकाशित गरेको थियो । अमेरिकाको सेन्ट लुइसस्थित एकेडेमिक सेन्टरको एब्स्टेट्रिक्स र गाइनोकोलोजी विभागका ३७३ महिलामा यो सर्वेक्षण गारिएको थियो । सर्वेक्षणमा १२७ जना अर्थात् ३४ प्रतिशत महिलाले यौन सम्पर्क सुरु गर्नुभन्दा अगाडि गाँजा सेवन गर्ने गरेका थिए ।

दोस्रो विश्वयुद्धदेखि नेपाली गाँजा ब्रान्डका रुपमा भारत र अन्य मुलुकमा विस्तार भएको मानिन्छ । काठमाडौंमा गाँजा खान आउने हिप्पीहरुको घुइँचो लाग्ने गर्थ्याे र त्यतिबेला ३० भन्दा बढी ‘गाँजा अड्डा’ खुलेका थिए ।

नेपाल र भारतमा बहुगुणी गाँजाको धार्मिक महत्व छ । हिन्दू धर्मावलम्वीले गाँजालाई भगवान शिवको प्रसादको रुपमा लिने गर्छन् । धार्मिक मात्र हैन, औषधीय गुण र भान्सामा प्रयोग हुने अचार बनाउन पनि यसको प्रयोग हुन्छ । शिवरात्रि गँजेडीका लागि एउटा बहाना भए पनि गाँजाको वैज्ञानिकता बुझ्नेलाई अवसर पनि हो ।

नेपालमा पहिले गाँजाको व्यापक खेती हुन्थ्यो । तराईको बारा, पर्सा, सिरहा, धनुषा, महोत्तरी तथा मध्यपश्चिमका पहाडी जिल्लामा नगदे बालीका रुपमा गाँजा उत्पादन हुन्थ्यो । दोस्रो विश्वयुद्धदेखि नेपाली गाँजा ब्रान्डका रुपमा भारत र अन्य मुलुकमा विस्तार भएको मानिन्छ । काठमाडौंमा गाँजा खान आउने हिप्पीहरुको घुइँचो लाग्ने गर्थ्याे र त्यतिबेला ३० भन्दा बढी ‘गाँजा अड्डा’ खुलेका थिए । फ्रान्सिस ह्यामिल्टनद्वारा लिखित पुस्तक ‘एन अकाउन्ट अफ दि किङ्डम अफ नेपाल’ मा यी विवरण उल्लेख छ ।

नेपालले सन् १९६० अगाडि गाँजालाई आयुर्वेदिक ओखतीको रुपमा प्रयोग गर्दै आएको थियो तर, अन्तर्राष्ट्रिय दबाबकै कारण २०३३ सालमा लागूऔषध नियन्त्रण ऐन ल्याएर नेपाल सरकारले गाँजामा प्रतिबन्ध लगायो ।

न्यूजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डनले गाँजालाई वैधानिकता दिन संसदमा छलफल थाल्ने घोषणा उनी निर्वाचत भएलगत्तै गरेकी थिइन् । सन् २०२० देखि उमेर हद तोकेर गाँजा खुला गर्ने उनको एजेन्डा नै थियो । विदेशी अनुभव हेर्दा उरुग्वेले पहिलोपटक गाँजालाई कानूनी मान्यता दिएको थियो । नेदरल्यान्ड, स्पेन, दक्षिण अफ्रिका, कोलम्बियाले पनि उरुग्वेको निर्णयलाई पछ्याएका छन् । अष्ट्रेलिया, अष्ट्रिया, जर्मनी, इजरायल लगायतका देशमा गाँजाको औषधि प्रयोग गर्न छुट छ ।

क्यानडाले त गाँजालाई वैधानिकता दिनुपर्छ भन्ने विधेयक संसदमा प्रस्तुत गरिसकेको छ । नेपालले सन् १९६० अगाडि गाँजालाई आयुर्वेदिक ओखतीको रुपमा प्रयोग गर्दै आएको थियो तर, अन्तर्राष्ट्रिय दबाबकै कारण २०३३ सालमा लागूऔषध नियन्त्रण ऐन ल्याएर नेपाल सरकारले गाँजामा प्रतिबन्ध लगायो । राष्ट्रसंघको सदस्य भएको कारण नेपालको नार्कोटिक्स कन्ट्रोल बोर्डले गाँजालाई लागूऔषधकै सूचीमा राखेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *