अविश्वास प्रस्तावको पक्षमा काग्रेस उभिन्छ : रामचन्द्र पौडेल

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावमा कांग्रेसले सघाउने बताएका छन् ।

मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा कसलाई सघाउनेबारे कांग्रेस अहिलेसम्म निर्णयमा पुगेको छैन । यही समयमा पौडेलको यस्तो अभिव्यक्ति आएको हो ।

शुक्रबार विराटनगर विमानस्थलमा संचारकर्मीसँगको कुराकानीमा नेता पौडेलले भने,‘कांग्रेस अविश्वासको प्रस्तावको पक्षमा उभिन्छ । पार्टी केन्द्रबाट पनि भोलिका दिनमा यही निर्णय हुनेछ ।’

उनले विपक्षी, प्रतिपक्षीको धर्म भनेको सत्ता पक्षको विरुद्ध मतदान गर्ने भएकाले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पारित हुने समेत दाबी गरे ।

‘कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि केन्द्रीय कमिटीमा थेग्न सक्ने अवस्था छैन,’वरिष्ठ नेता पौडेलले भने,‘अब केन्द्रीय कमिटीबाट निर्णय भएर प्रदेश सरकारविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा कांग्रेस जान्छ।’

वरिष्ठ नेता पौडेलले अदालतले संसद पुनःस्थापना गरी प्रधानमन्त्रीले गरेको असंवैधानिक निर्णयलाई अदालतले उल्ट्याउने विश्वास जनाए ।

निर्वाचन हुनै नसक्ने दाबी गर्दै पौडेलले भने, ‘प्रधानमन्त्री ओलीजीले निर्वाचनको गफमात्र लाइदिनुभयो । उहाँको चुनाव चिह्नको अझै टुंगो लागेको छैन, कसरी चुनाव हुन्छ ?’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *